धोखेवाज को ? महान्‌ संघर्ष र संघर्षकर्तामाथि न्याय गरिरहेका छौं ?

 

श्रीराम खाइजु  (केन्द्रीय सदस्य, नेकपा माओवादी केन्द्र)

प्रवेशः

हामी नेपाली साह्रै बाठा छौं, आफू विठ्याईं गर्छौं दोष अरुलाई लाउँछौ । श्रम आफू गर्दैनौं, असफलताको भारी विसाउन अर्काको खप्पर खोज्छौं । किनकि हामीले सिक्दै आएको चेतनाको विरासत नै “नाच्न जान्दैन आँगन टेढो !” हो । हामी आफ्नो दोषको भारी निरिह श्रमिकमाथि थोपरेर आफू बिसर्जीत हुन्छौं । के हामीले नेपाली अर्थ राजनीतिको महान संघर्ष र संघर्षकर्तामाथि न्याय गरिरहेका छौं ? के यस्तो “हिड्ने गोरुको पुच्छर निमोठ्ने” प्रवृत्तिले आगामी समविकास वा समाजवादको ढोका खुल्छ ? कि हामीलाई सार्वभौम देशको समृद्ध नागरिक बन्ने बहानामा प्रचण्ड वा माओवादी खुइल्याउँदै विपन्न, पराधिन र लुट खसौटकै सामन्ती सत्ताको रहल पहलको रक्षान नै स्वीकार्य छ ?

बाँचुञ्जेल हेला होचा र अपमान गरेपछि मरेपछि उनको सराद्धको नाममा गाउँलेलाई खिर खुवाउने परम्पराका धनि हौं नेपाली । बाँचुञ्जेल सिद्धारर्थ गौतमलाई हजार दुःख दिए पनि मरेपछि उनकै सैद्धान्तिक अभिब्यक्तिको देहान्त हुनेगरि मूर्तिपूजा गर्ने साँस्कृतिक बिरासतका धनी हौ हामी नेपाली । बाँचुञ्जेल अपमान गर्ने, मरेपछि गोहीको आँसु खसाल्दै सात जुनी पूर्वदेखि नै सम्मान पस्कँदै आएको ढोङ्ग गर्न सिपालु प्रजाति नै नेपाली हो । त्यसैले प्रचण्ड, माओवादी वा त्यस्तै अन्य अधिकारवादीहरूको वर्तमान अपमान र राक्षसीकरण समय सन्दर्भ भन्दा अन्यथा मान्दैनौं । तर सिद्धार्थ गौतम जस्तो गुगान्तर पुर्वको कहानी होइन जनयुद्ध, अन्य इतिसा पात्र जस्तो पौराणीक र पुरातन पनि छैन । वर्तमान युगको सवैभन्दा प्रगतिशिल सामाजिक अग्रगतिको माध्यम हो । त्यसैले म्याद सकिएपछि ओखतिले काम नगर्ने सवैले बुझुन् ।

अपजसको साँस्कृतिक विरासत

नेपालकै प्रशंग झिक्ने हो भने पृथ्वी नारायण पछि देशलाई फराकिलो बनाउने बहादुर शाह लाई पटक पटक अपमानजनक ढंगले बन्दी बनाउने, देश निकाला गर्ने र अन्तमा हत्याको प्रपञ्च समेत गर्ने प्रवृत्तिका शासक हुन् हाम्रा । भिमसेन थापा तुलनात्मकरुपमा देशभक्त मानिन्थ्यो, उनलाई पनि बन्दी अवस्थामै शारिरिक मानसिक तथा अनेर्कौ अफवाह सुनाएर आत्महत्या गर्न बाध्य बनएको कथा सुन्छौं । अन्तमा उनको घिटि घिटि परेको ज्यानलाई विष्नुमतिको बगरमा हप्तौंसम्म राखेर स्याल र गिद्धलाई लुछ्न लगाएर मारेको विवरण इतिहासमा दर्ज भएको छ ।

सहज र सप्ठेरो बेलामा देशभक्त बन्ने र गारो साँघुरो पर्दा सुईकुच्चा ठोक्ने, घटना घट्दा मुखमा चुकुल ठोके पनि घटना घटिसकेपछि नौरंगी सल्लाहा दिन आउने मध्यम तब्काका मानिसहरू त्यो बेला पनि नभएको होइन । तर त्यस्ता पानीमरुवाहरूले न त बहादुर शहा बचाउन रणबहादुर शाहाको अत्याचारको विरुद्ध बोल्न सक्यो, न त भिमसेन थापाको जीवनरक्षाको निम्ति सामान्य पहल नै गर्न सक्यो । यस्तो पेटी बुर्जुवा वर्ग नेपालमा मात्र होइन सवैतिर पाईन्छ र हाल मात्र होइन सँधै पाईन्थ्यो ।

बैगुनीपनको श्रींखला छोटो छैन

अझ भिम मल्लको कहानी त दर्दनाक र राष्ट्रघातको सफेद तस्वीर देखिन्छ । चिन नेपाल बीच भएको दिगर्चा युद्धमा नेपाली सेनाकै कारणले दैनिक समस्या भोग्नु परेको सम्भावित हारको सामना गरिरहेको तर भिम मल्लहरूकै बहादुरी युद्ध कौशलको कारणले गद्दारले धोखा दिँदा दिँदै पनि युद्ध जिते । त्यसको वास्तविक खवर पुर्‍याउन श्रीमतिलाई समेत नभेटी दरवार पुगेका भिम मल्ललाई राष्ट्रघातिहरूको खुराफात सुनेर गेटमा आईपुग्नेवित्तिकै काट्ने आदेश राजाले दिए ।

अर्थात् देशको भलो चहाने कसैले पनि यो देशवाट न्याय नपाएको ऐतिहासिक तथ्य हाम्रो सामू जिवन्त छ । यस्ता दृष्टान्त सयको संख्यामा होइन हाजार र लाखौंको संख्यामा भन्न सकिन्छ । तर यस लेखको उद्देश्य शासक वर्गीय नकारात्मकताको कारणले देशभक्तहरूको प्रताडनाको दृष्टान्तको चाङ्ग लाउने मात्र होइन, त्यसको प्रभाव शाशकहरूवाट सर्वसाधारणले सिको गर्दै संस्कृति निर्माणको तहमा पुगेको छ । यदि देशलाई बैगुनीहरूको देश बन्नवाट जोगाउने भए यस्तो बैगुनी बिरासत जनताको तहवाट कटाउनु अनिवार्य छ, त्यसैको सानो प्रयाश मात्र हो ।
लोकतान्त्रिक इतिहासमा धोखाघडि

तानाशाही पञ्चायती ब्यवस्थाको विरुद्ध लड्दै गर्दा बाम मोर्चा र नेपाली काँग्रेसले बीचैमा आन्दोलन बिसर्जन गर्दै चैत्र २१ गते मध्यरातमा “मरिचमानको सरकार बर्खास्त गरेर संयुक्त सरकार बनेमा बहुदलीय पञ्चायत मान्छौं !” अर्थात् ४–५ जना मन्त्री दिएमा पञ्चायत मान्ने सम्झौता गरेर फर्किएका थिए । जस अनुसार तत्काल मरिचमान सिँह श्रेष्ठलाई बिना जानकारी नै श्री ५ ले बर्खास्त गरे । २०४६ चैत्र २३ गते लोकेन्द्र बहादुर चन्द लाई प्रधानमन्त्री नियुक्ति दिए । जसलाई वर्तमान माओवादी तत्कालीन “संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा” जसको अध्यक्ष डा.बाबुराम भट्टराई थिए भने क. प्रचण्डले नेतृत्व गरेको नेकपा (मशाल) मोर्चाको मूख्य शक्ति थियो, ले मानेनन् र राता रात “बहुदलीय पञ्चायत मान्दैनौं मध्यरातको सम्झौता धोखा हो !” शिर्षक को पर्चा छरेर “चैत्र २४ गते नेपालबन्द” घोषणा गरे ।

जुन ऐतिहासिक नेपालबन्दमा महेन्द्रको शालिक तोड्ने देखि रानीपोखरीको अञ्चलाधिश कार्यलय जलाउने सम्म साहास उक्त दिनको जनसागरले देखाए । दिनभरमा २४ जना मान्छे भटाभट मारे अझै जनसागर उर्लन छोडेन किनकि सयौं जनाको ज्यान जाने गरि गरिएको आन्दोलन एकाध लोभि पापी हरूको सत्तालिप्सा मेटाउन गरिएको साजिस थिएन । त्यसैले प्रजातन्त्र प्रप्त बिना सम्झौता गर्नु खसोखस जनताको बलिदानप्रतिको उपहास थियो, जनताको त्याग तपस्याको मर्म प्रतिको पूर्ण धोखा थियो । तर प्रचण्ड बाबुराम नेतृत्वको “संयुक्त राष्ट्रिय जनआन्दोलन” बाहेक कसैले ‘धोखेवाज’ भनेनन् ।

धोखा कसले दियो ? कसले लियो ?

आन्दोलन भारतीय प्रधानमन्त्री चन्द्रशेखर गणेशमानको घरमा आएर उद्घोष गरेर गएका थिए । भारतीय विस्तारवादीहरूलाई अन्य विषयमा चिन्ता थिएन, मरिचमानले चीनवाट ल्याएको हतियार १९५० को ब्यापार तथा पारवहन सन्धि अनुसार अवैध मानियो । त्यसैको बदलास्वरुप मरिचमान अपदस्त गरेर नयाँ सरकार बनाउनु थियो, २१ गते त्यहि गर्‍यो । काँग्रेस बाम मोर्चासँग न प्रजातन्त्रको खाका थियो, न त राजनीतिक हैसियत नै कायम गरेका थिए ! त्यसैले भारतीय संस्थापनको योजना भन्दा अगाडि बढ्न सक्ने सम्भावना नदेखेर नै सम्झौतामा रमाए । अर्थात भरतीय पूर्वाग्रहको भारी बोकेका काँग्रेस एमालेले देश र जनतालई धोखा दिए नेपालीले सहजै धोखा लिए वा पचाए ।

यद्यपी देशलाई पञ्चायतीञ तानाशाहीवाट मुक्त गरेर नयाँ नेपाल बनाउने अभिष्ट बोकेका बाकुराम प्रचण्डसँग खाका थियो । तर गणेशमान र मनमोहनहरूको तुलनामा क.प्रचण्ड बाबुरामको ब्यक्तित्व र नेतृत्वको विशाश भएको थिएन । नयाँ नेपालको सपना र खाका हुनेसँग अवसर आएन, अवसर हातमा थमाईएकारूसँग नयाँ नेपालको सपना पूरा गराउने योजना र खाका थिएन । परिणाम त पञ्चायतको पूर्ण पतन र बहुदलीय ब्यवस्था आईसकेपछिको सरकारमा बाममोर्चा र काँग्रेसले मात्र स्थान पाए, “संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा” लाई देश विदेशी प्रतिकृयावादी तत्व बुर्जुवा वर्गले सञ्चारमाध्यमहरूको चरम दुरुपयोग गर्दै पाखामा पुर्‍यायो ।

लोकतन्त्र पछिको धोखा

खासगरि लोकतन्त्र आएपछि र अन्तरिम संविधानमा “समाजवाद उन्मुख” लेखिएपछि अधिकाँस पार्टीहरूले आफूलाई समाजवादी भन्न थालेका वा समाजवादप्रति उदार बनेको देखाउँदै आएका छन् । तर “मुखमा राम राम बगलिमा छुरा” गर्न सिपालु पेटी बुर्जुवा वर्गको रक्षाको निम्ति बनेका पार्टीहरू समाजवादी नीतिवाट देशलाई बिमूख गराउन हरबेलामा मौका ढुकि बस्थे । काँग्रेस, एमाले, मसाल, नेमकिपा जस्ता पार्टीहरूले ट्र्‌ेडमार्कको रुपमा आफ्नो घोषणापत्रमा समाजवाद लेखिए पनि समाजवादको मूल अँग सामाजिक समानता वा सामाजिक समताभाव ल्याउने हरेक सवालमा राज्य विमूख गराउने नीति अपनाउँदै आए । यद्यपी आम नेपालीले उनीहरूलाई धोखेवाज देख्दैनन्, किनकि मध्यमवर्गीय निम्न पूँजीवादी समाजमा चामल होइन पिठो विक्छ । श्रम सिपयुक्त काम होइन चिप्ला मिठा कुरा विक्छ, जुन कुरा काचो गिठ्ठा जस्तै टररो डा. बाबुरामसँग थिएन भने भूमिगत रहेका प्रचण्डसँग सम्भव भएन ।

बहुदल आउने वित्तिकै भारतीय विस्तारवादी कुचक्रमा परेका काँग्रेस, एमाले तथा ‘बाम’ नामका ‘कोठे कम्युनिष्ट’हरूको अराजनीतिक गतिविधिले अर्थतन्त्र, राजनीति र सामाजिक सुरक्षामा खलल पुग्यो । क्रान्तिकारी शक्तिको आशाति शक्ति कमजोर हुँदा टनकपुर, पञ्चेश्वर, महाकाली जस्ता राष्ट्रघाति सन्धि सम्झौताहरू हुन थाले । महँगीको मारमा जनता पर्दैजाने, भ्रष्टको चुँगलमा देश डुब्दै जाने नियमित दैनिकी बन्न पुग्यो । जसको प्रतिकारमा संयुक्त जनमोर्चा नेपालले ससद सडकमा आवाज ब्यापक रुपमा उठाउँदै आयो । आफूले मौलिक संघर्षको सुत्रपात गर्न नसके पनि संयुक्त जनमोर्चाले गरेको देखि नसहने एमाले मोहनविक्रम, रोहितहरू पनि संघर्षको मोहरीमा आइपुग्यो ।

नक्कली आन्दोलनको सक्कली दम

देश जनताप्रति जिम्मेवारीबोधले मौलिक योजना कार्यक्रम र भविश्यको खाका सहित आयोजना नगरि संयुक्त जनमोर्चा नेपालको आन्दोलनको नक्कल गरिएको आन्दोलन हुँदा बलिदान, त्याग तपस्या र समर्पणभावको बोझ बोक्न सम्भव थिएन । प्रतिकृयावादी सरकारको चुँगलमा आत्मसमर्पण गर्न दैनिक हतारिएको देखिन्थ्यो । चाहे टनकपुर आन्दोलन होस् वा कर्मचारी आन्दोलन र मदनभण्डारी हत्याकाण्ड विरुद्धको आन्दोलनमा नै किन नहोस् एमालेको प्रबृत्तिगत विशेषता देश र जनताको पक्षामा निकाशको निम्ति आन्दोलन होइन, देश र जनताको माग भजाउँदै सरकारसँग माथापच्चि, लेनदेनको सौदा गर्नको निम्ति मात्र प्रयोग गर्दथ्यो ।

हरेक विषयको आन्दोलनमा जनता सडकमा ओर्लँँदै जाने, सरकार प्रतिकारको नाममा नरहत्यामा उत्रने र एमालेले आफ्नो ब्यक्तिगन वा गुटगत लाभको सम्वाद र सम्झौता गरेर देश र जनतालाई धोखा दिइनै रहन्छ । टनकपुर आन्दोलनमा १४ जना मान्छे मरेपछि सम्झौता गर्‍यो, करिव २ दर्जन मान्छे मरिसकेपछि मदनभण्डारी हत्याकाण्ड विरुद्धको आन्दोलमा गिरिजा सरकारसँग सम्झौता गर्‍यो । कर्मचारी आन्दोलन, महाकालि आन्दोलन, लगायत हरेक आन्दोलनमा एमालेले जनतालाई धोखा दिँदै आयो । शक्ति र सामर्थ्य अनुसार संयुक्त जनमोर्चाले संघर्षलाई निरन्तरता दिँदै आयो । तर कसैले पनि एमालेलाई धोखेवाज भन्ने आँट गरेनन् । देश र जनताको पक्षमा निष्कर्ष निकाल्न सम्झौताहिन संघर्ष गर्ने ‘संयुक्त जनमोर्चा नेपाल’लाई कसैले जस दिएनन् ।

जनयुद्ध र धोखाको सिलसिला

वास्तवमा जनयुद्धको थालनी नै जनताको अधिकार रक्षाको निम्ति जनताले संघर्ष गर्दा एमाले काँग्रेसले जनतामाथि धोखा दिएकै कारणले भएको हो । सर्वप्रथम सामन्त, सुदखोर, जाली फटाहाले सिंगै पञ्चायती प्रशासनको दुरुपयोग गर्दै जनतामाथि हजारौं प्रकृतिको शोषणको तानावाना बुने । त्यसको विरुद्ध नेपाली जनता संघर्षमा उत्रिए चैत्र २१–२०४६ को वाब्जुद प्रचण्ड बाबुरामको नेतृत्वमा सफल चैत्र २४ को आन्दोलन गरेर २६ गते प्रजातन्त्र ल्यायो । तर प्रचण्ड, डा. बाबुरामको ब्यक्तित्व र राजनीतिक उचाई गणेशमान, कृष्णप्रसाद भटराई र मनमोहन सहाना प्रधानको तुलनामा बनीनसकेको परिवेशले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा माहोल उनीहरूकै पक्षमा गयो र प्रजातन्त्रको नेतृत्व गरे ।

प्रजातन्त्र चलाउन प्रजातान्त्रिक योजनाको मार्गनिर्देशन चाहिन्छ, जो उनीहरूसँग थिएन । त्यसैले जुन् कारण देखाएर पञ्चायत फालियो, त्यो कारण नयाँ आएको ब्यवस्थाका बहाकले निवारण गर्नुको बदला सरकारको नेतृत्व गर्ने शासकहरूले जस्ताका तस्तै दोहोर्‍याए । मानौं पञ्चायतको अकर्मन्य योजनाविहिनताको, सामन्ती शोषण अन्याय अत्याचार र त्यसको विरुद्ध अल्पचेतना र तानाशाहिपनाको विकल्प नभई प्रजातन्त्र भनेको केवल मरिचमान को विकल्प कृष्ण प्रशाद, गिरिजा, वा सुर्यवहादुर, लोकेन्द्रबहादुरलाई राखेजस्तो मात्र रह्यो । कसैले पनि आफूले राजनीतिक नेताहरूवाट धोखा पाएको वा सरकारले धोखा दियो भन्न जानेका थिएनन् । ग्रामिण हरुवा चरुवा राख्ने कार्यमा कुनै कमि आएन, हली गोठाला राख्ने कार्यमा रोकाओट आएन, कमलरी तथा बाँधा मजदुर राख्ने कार्य रोकिएन । शहरीया दलाल तथा नोकरशाही पूँजीको शोषण माफिया र तस्करको त भेउ पाउन सक्ने कुरै भएन ।

नागरिकले सत्ताको रुपान्तरण चाहेका कि ब्यक्तिको फेरवदल ?

सरकार फेरिएपछि ति सामन्त जमिन्दार र सुदखोरहरूले काँग्रेस र कम्युनिष्टको जामा लाउँदै चक्रिय ब्याज, घिउखाने लगाउँदै मानिसमाथि शोषण अन्याय अत्याचार गर्न झन् मौका पाउँदै जानथाले । सामन्त सुदखोरहरूले ग्रमिण समूदायमाथि गरिने शोषणका हजारौं ढोकाहरू खुल्लै थिए । राज्यको जिम्म लिन्छु भन्ने काँग्रेस एमाले जनता लुट्ने माफिया तस्कर तथा सुदखोर पोष्ने कानून ल्याउने, राज्यको सम्पत्ति आफ्ना मानिसको हातमा पुर्‍याउन अनेक चोर बाटो खोज्दै हिड्ने, मौका पाए देशघाति सम्झौता गर्ने उपाय खोज्दै हिड्ने गर्न थाले ।
देशको अर्थ केवल एकाध शहरी क्षेत्र र राजधानी मात्र जस्तो देखिन्थ्यो, हुम्ला जुह्ला डोल्पाको कुरा छोडौं सिंहदरवारको २५–३० किलोमिटरको दुरीमा रहेको काभ्रेको डाँडापारीवाट काठमाण्डु आउने दुइ वा तीन दिन लाग्थ्यो । काठमाण्डु जोडिएको धादिङ्गको लापाङ्ग, सेतुङ्ग र तिप्लिङ्ग जस्ता ठाउँवाट काठमाण्डु आउन ३ देखि ५ दिन लाग्थ्यो । रोजिरोटीको कुनै गुञ्जायस थिएन, तर जनतालाई लुट खसौट गर्ने भ्रष्टाचार अनियमितता, माफिया र तस्कर रक्षालाई सरकार जनताको ढोका ढोकामा पुलिस खटाइन्थ्यो । के यो जनतामाथिको ठूलो धोखा होइन ? महान जनआन्दोलन र ७० वर्षको लोकतान्त्रिक आन्दोलनको अपमान होइन ? तर भन्न जान्दैनथे । यि सव “कथनिमा एउटा करनिमा अर्को” गरेर देश र जनतामाथि गरिएको महान् धोखा थियो ।

जनयुद्ध धोखा होइन धोखाको उपचार थियो

यस्तौ धोखाघडि, जालसाजी र बेइमानीको विरुद्ध माओवादीले २०५२ फागुन १ गतेवाट जनयुद्ध सुरु गर्‍यो । जहाँ राणाको विरुद्ध जनता उचालेर संघर्ष गर्ने काँग्रेस, गोर्खादल, प्रजापरिषद, कम्युनिष्ट पार्टी लगायत सवैसँग जनता रिसाएका थिए । यद्यपी विषयगत ब्याख्या र कमजोरी एकिन गरेर प्रहारको निशाना साँध्न जानेका थिएनन् । १० वर्षे बहुदल र ३० वर्षे पञ्चायतले पनि जनताको वास्तविक समस्या समाधानको दिशानिर्देश गर्न सकेका थिएनन् । ०४७ पछि बनेको सरकार केवल ब्यक्तिको विकल्प ब्यक्ति जस्तो मात्र भयो । त्यसैले सामाजिक राजनीतिक र आर्थिक अग्रगति लिन नसक्नु स्वभाविक थियो । त्यसैले देश र जनताको यावत समस्याहरूलाई राष्ट्रियता, जनतन्त्र र जनजिविका गरि तीन वटा मूख्य शिर्षकमा केन्द्रीत गरेर ४० सुत्रिय मागपत्र पेश गरेर अल्टिमेटम दिएर फाल्गुन १ गतेवाट युद्धको संखघोष भयो । ७० वर्षे राजनीतिक पार्टी, सरकार र राजनीतिक नेता कार्यकर्ताहरूको योगदानमाथि महान धोखाघडीको वास्तविक जवाफ थियो जनयुद्ध ।

निष्कर्ष

काठमाण्डु जान, बनेपा तिर फर्केर हिड्दा धोखा हुन्छ ! तर काठमाण्डु जान भनेर ठिमि पुगे भन्दा धोखा हुँदैन, र गठाघर वा कौशुलटार अझ कोटेश्वर पुगें भन्दा कसरी धोखा हुन्छ ? माओवादीले निसन्देह नयाँ जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवादमा पुग्छु भनेकै हो । त्यसको यात्राकै सापेक्षिक दिशावोध वर्तमान ब्यवस्थाले नगरेको भए समाजवाद उन्मुख भन्न कसरी सकियो ? तमाम जाति जनजाति, अल्पसंख्यक समुदाय, महिला तेश्रोलिंगी, भाषिक तथा साँस्कृतिक समानता आदिको सवाल कसरी सवल बन्दैछ ? के आर्थिक राजनीतिक साँस्कृतिक क्षेत्रमा नेपाल हिजोकै अवस्थामा छ भनि कसैले भन्न सक्छ ? के यो समाजवाद तर्फको सार्थक यात्रा होइन ? त्यसैले गालिको निम्ति गालि नगरौं प्रचण्डले गर्न नसकेको वा गर्न बाँकी कार्यको निम्ति नयाँ साथिहरूले नयाँ जिम्मेवारी लिउँ ।

के मानवविकाश शुचकाँक, विकास निर्माणको मात्रा र गुण, सामाजिक रहनसहन र शोषणको अवस्था हिजोकै अवस्थामा छ ? राष्ट्रिय उत्पादन प्रणाली, आयात निर्यातको अन्तराष्ट्रिय सन्तुलन हिजोकै अवस्थामा छ ? सामाजिक वर्ग, भाषा सँस्कृति र क्षेत्र लिग र धर्म सँस्कारको अवस्था हिजोकै जस्तो पिछडिएको छ ? के भौतिक सँरचना, यातायात, उर्जा, लागयात वैदेशीक रोजगार लगायतको क्षेत्रमा हिजोकै अवस्थामा छ ? शिक्षा, स्वास्थ, रोजगार, ब्यक्तिगत श्रोतहरूको ब्यवस्थापन हिजो र आज उस्तै देखिन्छ ? त्यसैले यस्ता यावत कुराहरूमा हामी आकाश जमिनको अन्तर देख्न सक्छौं । के यो वितगको तुलनामा क्रान्तिकारी रुपान्तरण होइन ? क्रान्तिकारी रुपान्तरणको निम्ति आफ्नो हरेक मनोआकाँक्षा र सुख सयलको त्याग गर्नु भनेको जनतामाथिको गद्धारी हो ? बरु जनताको काम गर्दै गर्दा दुश्मनलाई तर्कशक्ति मिल्ने गरि प्रचण्ड र माओवादी माथि आफ्नैवाट सत्तोसराप गर्दै हिड्नु चाहिँ गद्धारी बन्न सक्छ ।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *