जनताले आफ्नो शासक आफैँले चयन गर्नुपर्छ, सांसदले होइन !

हामीले प्रधानता मिडियाको आयोजनामा ‘नेपालमा समृद्धि अभियान’ सञ्चालन गरिरहेका छौँ । प्रत्येक दुई महिनामा उक्त अभियान अन्तर्गत सार्वजनिक बहस कार्यक्रम ‘मैले भन्नु छ !’ सञ्चालित छ । आगामी असोज ५ गते समृद्धिको लोकतन्त्र आयाम अन्तर्गतको विषयमा सार्वजनिक बहस हुँदैछ । उक्त बहसको विषय ‘मतदाताको सार्वभौमसत्ताको उच्चतम् अभ्यास र सरकारको स्थायित्वको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ रहेको छ । सोही सन्दर्भमा तयार पारिएको लेख ।

परिवर्तन भट्टराई ‘कृति’, संयोजक, नेपालमा समृद्धि अभियान

साउन १९, काठमाडौं,
हामी नेपाली हाम्रा पुर्खाको वीरता र संघर्षका कारण गौरवान्वित छौँ । किनकि हाम्रा पुर्खाले हामीलाई खुला संसारको अवसर दिए । राजनीतिक रुपमा हेर्दा नेपालमा राणा शासन थियो । राजाको शासन थियो । पञ्चायती शासन थियो । आज गणतन्त्र छ । लोकतन्त्र छ । सामाजिक रुपमा हेर्दा नेपालमा सति प्रथा थियो । दास प्रथा थियो । आज छैनन् । हजारौँ अन्यायपूर्ण सामाजिक बन्धन चुँडिएका छन् । शिक्षा र स्वास्थ्यको चरम अभाव थियो । अहिले गाउँगाउँमा विद्यालय र स्वास्थ्य चौकी पुगेका छन् । जीवन र जगत हेर्न र बुझ्न पाएका छौँ । यसमा हाम्रा पुर्खाको योगदान छ । कतिपय समयले ल्याएको हुनसक्छ । तर, संघर्षको बल प्रमुख हो ।

आज हामी एक्काइसौँ शताब्दीमा छौँ । यो शताब्दी विज्ञान र प्रविधिले उच्चतम् विकास गरेको शताब्दी हो । असम्भव देखिएका हजारौँ चिज सम्भव भइसकेका छन् । ब्रम्हाण्डको उत्पति र विकासका रहस्य उद्घाटित भएका छन् । ग्यालेक्सी र ब्ल्याकहोल जस्ता भयङ्कर ठूला संरचना भएको रहस्य पत्ता लगाएका छन् । अणु परमाणुको तहमा पुगेर हजार तथ्य खोजेका छन् । प्रकृतिको संरचनाको आधारमा नयाँनयाँ बस्तुको विकास गरेका छन् । सयौँ तला भएका संरचना बनाएर मान्छेको वीरता प्रदर्शन गरेका छन् । पृथ्वीलाई नै ध्वस्त बनाउन सक्ने परमाणु र रासायनिक बम र हतियार बनाएका छन् । मानवीय विकासका हजारौँ विधि र मान्यताको विकास गरेका छन् ।

हामी पूर्वपश्चिम फैलिएको हिमालय शृङ्खलाको दक्षिण भागमा अवस्थित छौँ । प्राकृतिक रुपमा सम्पन्न छौँ । हामीसँग नेपाल देश छ । हामी नेपाली छौँ । मानव विकास र विस्तारको क्रममा विगत आठ दश हजार वर्षमा हामी यस पुण्य भूमिमा आइपुग्यौँ । कोही उत्तरबाट प्रवेश गरेका हौँ । कोही पश्चिम र दक्षिणबाट प्रबेश गरौ हौँ । अफ्रिकामा हाम्रो उत्पत्ति भयो । विभिन्न बाटो र समयमा हामी नेपाल आई पुगका हौँ । हाम्रा पुर्खा एउटै भएपनि हामीले विभिन्न संस्कार, संस्कृति र मूल्यमान्यताको विकास गरेका छौँ । त्यसैले सयौँ थुंगा फूलका एउटै माला नेपाली भन्छौँ ।

आज हामीले विकास र समृद्धिको कुरा गर्न थालेका छौँ । विकास र समृद्धि योजनामा हुन्छ कि आफैँ हुन्छ । बहस गर्न थालेका छौँ । जसले योजनामा विकास र समृद्धिको बहस र काम थाले उनीहरुले अकल्पनीय परिणाम दिए । जसले त्यसो गरेनन् पछाडी परे । हामी नेपाली विश्वव्यापी समृद्धिको समतलीय तुलनामा पछाडी परेका छौँ । किनकि हामीले विकास र समृद्धिको योजना बनाउन र काम गर्न ढिला गरेका छौँ । अब त्यसो गर्नु हुँदैन । अब हामीले पनि केही गर्नुपर्छ । नेपालको हैसियत बढाउनुपर्छ भनिरहेका छौँ । हामी केही उत्साहितहरुले ‘नेपालमा समृद्धि अभियान’ शुरु गरेका छौँ । नेपालको समृद्धिको चार खम्बे अवधारणाको प्रस्ताव गरेका छौँ । १. आर्थिक आयाममा नेपालको आर्थिक विकासको बहस गर्छौं । २. सामाजिक आयाममा नेपालको सामाजिक विकासको कुरा गर्छौँ । ३. लोकतन्त्र आयाममा राज्य र राजनीतिको स्तरोन्नतिको बहस गर्छौँ । ४. ज्ञान–विज्ञान आयाममा रुढिवाद र अन्धविश्वासमा आधारित चिन्तनलाई वैज्ञानिक चिन्तनमा रुपान्तरणको बहस गर्छौँ ।

आगामी असोज ५ गते काठमाडौंमा लोकतन्त्र आयाम अन्तर्गतको विषयमा बहस गर्दैछौँ । कार्यक्रमको विषय ‘मतदाताको सार्वभौमसत्ताको उच्चतम् अभ्यास र सरकारको स्थायित्वको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ राखेका छौँ । हामीले समृद्धिको व्यवस्थित बहस गर्न खोजका छौँ । समृद्धिको लागि राज्य र राजनीतिको स्तरोन्नति अनिवार्य हुन्छ । त्यसैले समृद्धिको लागि यो विषय चयन गरेका हौँ । लोकतन्त्रमा जनता/नागरिक/मतदाता सार्वभौम हुन्छन् । यसको अर्थ हुन्छ उनीहरु प्रमुख निर्णयकर्ता हुन् । त्यसो भए उनीहरुले आफ्नो शासक आफैँले चयन गर्न पाउनुपर्छ । नेपालमा यसको पूर्ण अभ्यास भएको छैन । वडा तहमा मतदाताले वडाध्यक्ष र सदस्य आफैँ चयन गर्छन् । त्यसैगरी पालिका तहमा नगरप्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष आफैँले चयन गरेका छन् । यहाँ मतदाताको सार्वभौमसत्ताको अभ्यास भएको छ ।

प्रदेश र केन्द्रमा भने मतदाताले आफ्नो शासक चयन गर्न पाएका छैनन् । केन्द्रमा प्रधानमन्त्री सांसदले चयन गर्छन्, जनताले होइन । प्रदेशमा पनि सांसदले नै मुख्यमन्त्री चयन गर्छन्, जनताले होइन । वडा र पालिकामा जस्तै प्रदेश र केन्द्रमा पनि जनता/नागरिक/मतदाताले आफैँ आफ्नो शासक चयन गर्न पाउनुपर्छ । मुख्यतः यसबाट देशले दुइटा फाइदा पाउँछ । १. जनताको सार्वभौमसत्ताको उच्चतम् अभ्यास र सम्मान हुन्छ । यसले जनतालाई बलियो र निर्णायक बनाउँछ । जनताले आफ्नो सार्वभौमसत्ताको उच्चतम् अभ्यास गर्न पाउँछन् । लोकतन्त्रको उन्नयनमा यो अनिवार्य शर्त हो । २. सरकारको स्थायित्व हुन्छ । जनताले निश्चित समयका लागि म्याण्डेड दिएर चयन गर्छन् । बिचबिचमा सरकार ढल्दैन । त्यसले सरकारको स्थायित्व कायम हुन्छ । सरकार स्थिर भएपछि सरकारका कामकारबाहीमा पनि स्थिरता आउँछ । देशको समृद्धिको बाटो खुल्छ ।

यो सच्चाईलाई हामीले जनताबिचमा लैजान खोजका छौँ । त्यसैले ‘मैले भन्नु छ !’ नामको सार्वजनिक बहस कार्यक्रम गरिरहेका छौँ । आगामी असोज ५ गते काठमाडौंमा पचासदेखि साठीजनाले आफ्नो आवाज प्रस्तुत गर्नुहुनेछ । दुनियाँलाई स्पष्ट छ कि समृद्धिको लागि राज्य र राजनीतिको स्तरोन्नति अनिवार्य छ । हामीले नेपालमा समृद्धि अभियान सञ्चालन गरिरहेका छौँ । त्यसका लागि राज्य र राजनीतिको स्तरोन्नति गर्न यसो गरेका हौँ । समृद्धिका लागि लोकतन्त्रको आँखीझ्यालबाट बहस गर्दैछौँ । हामीले भन्ने गरेका छौँ कि सत्तामा हुनेले गरेर देखाउने हो । सत्ता बाहिर भएकाले भनेर दबाब दिने हो । नबोली बस्नु गल्ती हुन्छ । बोलेर पनि देशका लागि योगदान गर्न सकिन्छ । स्वागतम् ।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *