चाल्र्स दि गाल स्वतन्त्रताप्रेमी राष्ट्रवादी नेता र चरित्रवान् व्यक्ति थिए ।

 

काठमाडौं, असार २१ गते ।

दि गाल प्रथम विश्वयुद्धमा पेताको अधीनमा कमान्डर थिए भने युद्धपछि ख्यातिप्राप्त युद्धलेखक । उनले लेखेको किताब ‘द आर्मी अफ द फ्युचर’ भन्ने पुस्तक मेसिनीकृत युद्धव्यवस्थाको परिचायक बन्यो । दोस्रो विश्वयुद्धमा उनलाई एउटा आर्म डिभिजनको कमान सुम्पियो । सुरुमा जर्मनीबाट हराइए पनि पछि केही सफलता प्राप्त भयो र उनी युद्धमन्त्री बने । जर्मनीसमक्ष फ्रान्सेली नेतृत्वले घुँडा टेक्न थालेको बेला दिगाल मात्र यस्ता नेता थिए, जसले नाजी फौजको मुकाबिला गर्न आह्वान गरे । फ्रान्सेली मन्त्रिपरिषद्को अन्तिम बैठकमा पनि दिगालले प्रतिरोध युद्ध जारी राख्न जोडदार प्रयास गरे तर उनको कुरा सुनुवाइ भएन । यस्तै अवस्थामा उनी १७ जुन, १९४० मा भागेर लन्डन पुगे । त्यहाँबाट उनले चर्चिलको सहयोगमा ‘फ्रि फ्रेन्च मुभमेन्ट’ सुरु गरे । उनले विभिन्न मोर्चाबाट भागेका सैनिक र फ्रान्सका उपनिवेशहरूमा बसिरहेका फ्रान्सेली तथा सेनाहरूलाई समावेश गरेर सैनिक सङ्गठन बनाए । लन्डनमै उनले अस्थायी सरकार पनि गठन गरे, जसलाई सबैभन्दा पहिले सोभियत सङ्घले मान्यता दियो । चाल्र्स दिगाल स्वतन्त्रताप्रेमी राष्ट्रवादी नेता र चरित्रवान् व्यक्ति थिए । फ्रान्सको सम्मानको सबालमा उनले कुनै सम्झौता गरेनन् ।

चर्चिल, जसको मद्दत लिएर उनी लन्डनमा टिकेर फ्रान्सको स्वतन्त्रताका लागि आन्दोलन चलाए, तिनै चर्चिलको पनि उनले विरोध गरे । उनलाई जानकारी नै नदिई फ्रान्ससँग सम्बन्धित सैनिक एवम् राजनीतिक फैसला लिएकाले उनले चर्चिलको विरोध गरेका थिए । क्रुद्ध चर्चिलले ‘अस्थायी फ्रान्सेली सरकार’लाई मान्यता दिएनन् बरु अमेरिकी राष्ट्रपति रुजवेल्टसँग मिलेर दिगालको विरोध गरे । फ्रान्सेली बीसी सरकारले उनलाई देशद्रोही र भगुवा घोषणा गर्दै फाँसीको सजाय सुनाएको थियो । तैपनि दिगालको दृढ इच्छाशक्तिले गर्दा उनको देशको जित भयो । बेलायत–अमेरिकाले विरोध गरे पनि उनलाई फ्रान्सेली जनताको व्यापक समर्थन प्राप्त थियो । १३ जुन, १९४४ मा फ्रान्स प्रवेश गरेर २५ अगस्टमा पेरिस कब्जा गरे । त्यसपछि उनले फ्रान्सको राष्ट्रपतिको पद सम्हाले । दोस्रो विश्वयुद्धमा फ्रान्सेली मुक्तिका लागि दिगालले खेलेको भूमिका भारतीय स्वतन्त्रता सङ्ग्रामका सेनानी सुभासचन्द्र बोसको भूमिकासँग धेरै हदसम्म मिल्दोजुल्दो छ । एउटा आधारभूत भिन्नता रहेकाले परिणाम भने अलग–अलग आउन पुग्यो । दिगाल स्वतन्त्र फ्रान्सका नेता थिए, जसको साम्राज्य एवम् संसाधन दुनियाँभरि फैलिएको थियो । युरोपेली विकसित पुँजीवादी देशहरूको बिचमा फ्रान्सको आफ्नो महत्व थियो तर भारत संसाधनहीन र जर्जर थियो । सुभासचन्द्र बोस त्यसका स्वतन्त्रता सेनानी थिए । त्यसले गर्दा एकजनाको सुखद र अर्कोको दुःखद अन्त्य स्वाभाविक थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published.