भारत भूगोल, जनसंख्या, अर्थतन्त्र, लोकतन्त्र र सामरिक अवस्थाका आधारमा महत्वपूर्ण देश ।

 

काठमाडौं, चैत्र २१ गते ।

विश्व मानचित्रमा भारत भूगोल, जनसंख्या, अर्थतन्त्र, लोकतन्त्र र सामरिक अवस्थाका आधारमा एक महत्वपूर्ण देश हो । दक्षिण एसियामा भने सबैभन्दा महत्वपूर्ण र प्रभावशाली देश हो । आर्थिक र सामरिक क्षमताकै कारण भारतले दक्षिण एसियाका आफ्ना छिमेकी देशहरुलाई प्रत्यक्ष र ठाडो प्रभाव पारिरहेको छ । छिमेकी देश पाकिस्तानसँग त झनै यसले पटक–पटक युद्ध समेत गरेको छ । यी दुई देशबीच खटपट बढ्दा विश्वनै चिन्तित हुने गरेको छ । भारतको अन्तर्राष्ट्रिय राजनीति प्रभावशाली छ । उसले गर्ने काम र लिने निर्णयले दक्षिण एसियाका छिमेकी देशहरु प्रत्यक्ष प्रभावित हुने गरेका छन् । महाशक्ति देश अमेरिकाले दक्षिण एसियालाई भारतीय आँखाले हेर्ने गरेको छ । दोस्रो आर्थिक महाशक्ति देश चीनले भारतसँग शक्ति सन्तुलनका आधारमा व्यवहार गर्ने गरेको छ ।

भारतले नेपाल लगायतका आफ्ना छिमेकी देशहरुलाई आफ्नो प्रभावमा राख्न चाहन्छ । छिमेकी देशहरु नेपाल, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटानलाई आफ्नो छायाँ क्षेत्रमा कैद गर्न चाहन्छ । पाकिस्तानले भने त्यसको सशक्त विरोध गरेको इतिहास देखिन्छ । अन्य छिमेकी देशहरु भने भारत प्रभावको विरुद्ध पाकिस्तानको तहमा उत्रन सकेने देखिँदैन । दक्षिण एसिया भन्ने बित्तिकै भारत र यसको पाकिस्तानसँगको सम्बन्धलाई हेर्ने गरिन्छ । क्षेत्रफल, जनशक्ति, अर्थतन्त्र र सामरिक क्षमताका आधारमा छिमेकी देशहरु कमजोर रहेका कारण भारत प्रभावित हुन नेपाल लगायतका छिमेकी देशहरु बाध्य छन् ।

भुटान भारतको संरक्षित राष्ट्र हो । सन् १९७४ को सन्धि अनुसार भुटानले अन्तर्राष्टिय मामिलामा भारत सरकारको सल्लाहलाई मार्गदर्शक सिद्धान्तको रुपमा मान्न सहमत भएको छ । नेपालसँग सीमा विवाद छ । आन्तरिक मामिलामा अधिक चासो लिने गरेको छ । आर्थिक, सामाजिक एवम् सांस्कृतिक कारणले पनि भारतको प्रभाव नेपालमा धेरै छ । बंगलादेशमा पनि भारतको अत्याधिक प्रभाव रहेको छ । बंगलादेश बन्नुमा भारतकै उल्लेखनीय भूमिका रहेको पाइन्छ । श्रीलंका पनि भारतीय व्यवहारबाट अछुतो रहेको छैन । श्रीलंकाको राजनीति र अन्तरिक मामिलामा पनि भारतको अधिक प्रभाव रहेको छ । त्यसैगरी सामुद्रिक टापु देशको रुपमा चिनिने माल्दिभ्समा पनि भारतको धेरै नै प्रभाव रहेको छ । भारतको छिमेकी देशहरुसँग कुनै न कुनै रुपमा विवाद रहेको छ । उसले छिमेकी देशहरुलाई आफ्नो छायाँ क्षेत्रमा राख्न खोजेकै कारण यस्तो भएको विश्लेषण गरिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *