काठमाडौं, फागनु २१ गते ।
सुर्तीजन्य पदार्थ अन्तर्गत चुरोट, बिँडी, सिगार, पाइप, हुक्का, पानपराग, खैनी र गुट्खा जस्ता पदार्थ पर्छन् । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको सेवनले नेपालमा सरदर दैनिक ४६ जना मानिसको मृत्यु हुने बताएको छ । अर्थात् वार्षिक १७ हजार नेपालीले सुर्तीजन्य पदार्थको सेवनले नै ज्यान गुमाइरहेका छन् । कुल जनसंख्याको लगभग ३७ प्रतिशत नेपालीहरुले सुर्तीजन्य पदार्थको सेवन गर्छन् । यसको प्रयोगकर्ताहरु अझै बढ्ने क्रममा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक अध्ययन अनुसार ग्रामीण क्षेत्रमा ३३ प्रतिशत र सहरी क्षेत्रमा २० प्रतिशत महिला सुर्तीजन्य पदार्थको अम्मली छन् ।
नेपाल अबुर्दरोग निवारण संघको अनुसार नेपालमा सुर्ती सेवनका कारण ५३ प्रतिशतलाई श्वासप्रश्वास, २८ प्रतिशतलाई क्यान्सर, ११ प्रतिशतलाई मुटुरोग र ५ प्रतिशतलाई गिजा सम्बन्धी रोग लाग्ने गरेको छ । फोक्सोको क्यान्सर हुनुमा ९५ प्रतिशत कारण सुर्ती सेवन नै भएको उक्त संघको भनाई छ । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मोतियाबिन्दु हुने, तालु खुइलिने, कान कम सुन्ने, अनुहार चाउरी पर्ने, दम बढ्ने, दाँत बिग्रने, मुटु सम्बन्धी समस्या आउने, स्नायु नसा कमजोर हुने, हड्डी खिइने आदि जस्ता रोगहरु लाग्ने गर्छ । सुर्ती अम्मलीहरुले चुरोटमै अरबौं खर्च गर्छन् । त्यो खर्च छोराछोरीको शिक्षामा खर्च गर्ने हो भने नेपालको शिक्षा क्षेत्रमा टेवा नै पुग्छ ।
सरकारी र गैरसरकारी क्षेत्रबाट धुम्रपान गर्नु हानिकारक छ भनेर सचेत गराउँदा समेत अम्मलीको संख्या बढ्नु चुनौतीपूर्ण विषय हो । यसको मुख्य दोषी सामाजिक संरचना नै हो । अशिक्षितहरुले मात्रै होइन की पढेलेखेका विद्वान भनिनेहरुले पनि धुम्रपान गरिरहेका हुन्छन् । समाजमा विकृति फैलाउने, शिक्षित भनिनेहरुलाई राज्यले कानुनी कठघरामा ल्याउन सक्नु पर्छ । त्यसपछि मात्र अशिक्षितहरुलाई सम्झाउन सकिन्छ । यहाँ त जो अगुवा उही बाटो हगुवा भइदिँदा समस्या बढेको छ । शिक्षाको अर्थ सर्टिफिकेटमा होइन व्यवहारमा खोज्ने वातावरणको निर्माण गर्ने हो भने धुम्रपानलाई नियन्त्रण गर्न सकिन्छ ।