काठमाडौं, माघ २१ गते ।
जनरल च्याङ काइ सेक चिनियाँ कोमिन्ताङ सरकारका प्रमुख थिए । सन् १९३७ मा जापानले चीनमाथि आक्रमण गरेपछि उनले आफ्नो प्रधान कार्यालय चुनकिन सारेका थिए । जापानविरुद्धको लडाइँमा कम्युनिस्टहरूसँग संयुक्त मोर्चा गठन गर्ने कुराको उनी कट्टर विरोधी थिए किनकि उनले कम्युनिस्टहरूलाई आफ्नो प्रमुख दुष्मन घोषणा गरेका थिए । तर त्यहाँको वस्तुगत यथार्थ भने कम्युनिस्टहरूलाई साथमा नलिई जापानीहरूलाई चीनबाट लखेट्न सम्भव थिएन । आन्तरिक तथा बाह्य दबाबका कारण जापानविरोधी संयुक्त मोर्चा त गठन भयो तर उनको शासनकालमा कम्युनिस्टहरूमाथि चरम अत्याचार गरियो । उत्तरी चीनको ठूलो भूभागमा च्याङ काइ सेकको होइन, माओत्सेतुङको नेतृत्वमा कम्युनिस्ट पार्टीको शासन थियो । आफ्नै सेनाभित्र पनि उनको पूर्ण पकड थिएन । उनको शसानकालमा चीनको समाज व्यवस्था निकै खस्केको थियो ।
समाजका सबै वर्गमा नैतिकताको अभाव देखिन थाल्यो । भ्रष्टाचार चरम सीमामा पुगेको थियो भने गाउँमा निर्दयी जमिनदारहरूले शासन गरिरहेका थिए । यति हुँदाहुँदै पनि रुजवेल्ट च्याङ काइ सेकलाई निकै महत्व दिन्थे । आउने दिनमा चीन ठूलो बजार हुनेछ, त्यसलाई स्वतन्त्र राख्न सकिएन भने त्यो जापानले कब्जा गर्नेछ भन्ने निष्कर्ष उनको थियो । च्याङ काइ सेकको नेतृत्वलाई स्थायित्व प्रदान गर्न सकिएन भने चीन कम्युनिस्टहरूले कब्जा गर्नेछन् भन्ने उनको निष्कर्ष थियो । यी दुवै अवस्था अमेरिकाको हितमा छैन भन्ने मान्यता पनि थियो उनको । ‘युद्धमा सामेल भएका कुनै पनि राष्ट्रलाई सहयोग गरिने छैन’ भन्ने तत्कालीन अमेरिकी कानुनलाई बेवास्ता गर्दै रुजवेल्टले जापानविरुद्ध च्याङ काइ सेकलाई हरतरहको सहयोग गरे । मित्रराष्ट्रहरूको विशाल सम्मेलनमा स्टालिन र चर्चिलले विरोध गर्दागर्दै पनि रुजवेल्टले च्याङकाइ सेकलाई राष्ट्राध्यक्षको हैसियतमा उपस्थित गराएरै छाडे ।