विशिष्ट प्रकारको मांशापेशीबाट बनेको मस्तिष्कको उच्चतम् प्रयोग व्यक्तिको दैनिकीले निर्धारण गर्छ ।

 

काठमाडौं, मंसिर १० गते ।
मस्तिष्क मानिसको अत्यन्तै संवेदनशील अंग हो । यो एक विशिष्ट प्रकारको मांशपेशीबाट बनेको हुन्छ । विज्ञहरुका अनुसार यो सम्पूर्ण शरीरको कन्ट्रोलर हो । यसमा केही गडबढी हुने वित्तिकै सम्पूर्ण शरीर अस्तव्यस्त हुन्छ । जिउनुको सार्थकता नै समाप्त हुन्छ । यसलाई चिन्न र सही अर्थात उच्चतम प्रयोग गर्न सकेमा जीवन जीउनुको सार्थकता स्थापित हुन्छ । सबैभन्दा पहिले मस्तिष्कको कन्सस र सबकन्सस खण्डको जानकारी राख्न जरुरी हुन्छ । सोही आधारमा त्यसको उच्चतम उपयोग गर्न सकिन्छ । यसको विस्तृत जानकारी टेक्निकल विषय हो । आम मानिसले बुझ्ने र प्रयोगमा ल्याउने कुराहरुलाई मात्रै यहाँ समेट्न कोशिस गरिएको छ । मस्तिष्क मानिसको जन्मदै प्राप्त हुने शरीरको एक अंग हो । त्यसैले यसको कम्पोजिसन र क्षमता सँगै प्राप्त भएको हुन्छ । त्यस सम्बन्धमा व्यक्तिले केही गर्न सक्दैन । आफूले जन्मदा प्राप्त मस्तिष्कमा व्यक्ति सन्तुष्ट हुनु उसको बाध्यता हुन्छ । कसैको मस्तिष्क तीक्ष्ण हुन्छ भने कसैको सुस्त हुन्छ । जे जस्तो अवस्थामा होस् त्यसको उच्चतम् उपयोग गर्नमा ध्यान दिनुनै बद्धिमानी हुन्छ । त्यसको लागि निम्न विषयहरुलाई समेटिएको छ ।
(१) दैनिकी मस्तिष्कमैत्री हुनपर्छ ।
मस्तिष्कको उच्चतम् प्रयोग व्यक्तिको दैनिकीले निर्धारण गर्छ । व्यक्तिले २४ घण्टाको अवधिलाई कसरी प्रयोग गर्छ भन्ने कुराले निर्धारण गर्छ । निद्रालाई कसरी लिन्छ र अभ्यासमा ल्याउँछ । बिहान उठ्ने वित्तिकै के गर्छ । दिनको समय कसरी गुजार्छ । कोसँग सम्पर्क गर्छ वा संगत गर्छ । एक दिनमा उसले गरेको क्रियाकलाप नै व्यक्तिले मस्तिष्कलाई कुन तहमा प्रयोग गर्न सक्यो भन्ने निर्धारण गर्ने आधार हो ।
(२) खानेकुरा, हावा र पानीको सन्तुलित उपभोग ।
धेरैले खानेकुरालाई सौखिन विषय बनाउने गर्छन् । अधिकांशले स्वादलाई महत्व दिन्छन । ठूलो संख्याका मान्छेले खानेकुरालाई संस्कृतिसँग जोड्ने गर्छन् । यी सबै कुरा गलत हुन् । खानेकुराको सम्बन्ध मन, मस्तिष्क र शरीरसँग हुन्छ । खानेकुरालाई पिउनुपर्छ भन्ने कुराको ज्ञान जरुरी हुन्छ । पानीलाई निल्नुपर्छ भन्ने कुराको पनि जानकारी जरुरी हुन्छ । मस्तिष्कको खुराक हुने खानेकुरा खानुपर्छ । पानी पिउने कलाको जरुरी हुन्छ । प्राणीको लागि अक्सिजन वा हावाको झनै ठूलो मूल्य हुन्छ । अक्सिजन मस्तिष्कको खुराक हो । त्यसैले मस्तिष्कलाई पर्याप्त अक्सिजन दिन सक्नुपर्छ । त्यसको लागि आवश्यक कला र जानकारी जरुरी हुन्छ । यी तीन कुराको सही र सन्तुलित प्रयोगले मस्तिष्कको क्षमता र उपयोगमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
(३) सिकाइमा एकाग्रताको आवश्यकता ।
सिकाई भनेको ज्ञान आर्जन गर्ने माध्यम हो । अस्तव्यस्त वा असन्तुलित मस्तिष्कले सिकाइलाई प्रभावित गर्छ । त्यसैले सन्तुलित मस्तिष्क एकाग्रताको आधार हो । त्यसको लागि व्यक्तिले योग, ध्यान र प्राणायमलाई जीवन साथी बनाउन सक्नुपर्छ । जहाँ र जस्तो अवस्थामा पनि यसको प्रयोग गर्नुपर्छ वा गर्न सक्नुपर्छ । किनकि यी तीनै कुरा निःशुल्क प्राप्त हुन्छन् । त्यसको साथै चिन्तन प्रणालीमा व्यापक सुधार गर्नुपर्छ । जीवनशैलीलाई व्यवस्थित र सन्तुलित बनाउनुपर्छ ।
(४) अध्ययनलाई खोज र आविष्कारको तहमा लैजाने ।
अध्ययनलाई कक्षा चढाइमा सीमित गरिएमा मस्तिष्कको अधिकतम उपयोग सम्भव छैन । त्यसैगरी जागिर प्राप्तिमा मात्रै सीमित गरिएमा पनि सो सम्भव हुँदैन । अध्ययनलाई खोज अर्थात् अनुसन्धानको तहमा प्रयोग गरिएमा मस्तिष्कले बढी अभ्यास गर्ने अवसर पाउँछ । त्यसो भनेको मस्तिष्कको अधिकतम उपयोग गर्ने अवसर हो । अध्ययनको लागि अध्ययन गर्ने हो भने मस्तिष्कको क्षमता वृद्धि पनि हुँदैन र सार्थक उपयोग पनि हुँदैन ।
(५) आसनले मस्तिष्कको क्रियाशीलतामा प्रभाव ।
मस्तिष्कको क्रियाशीलतामा आसनले ठूलो प्रभाव पारेको हुन्छ । घोप्टो परी सिरक ओडेर पढ्ने धेरैको बानी हुन्छ । कसैले उत्ताने परेर पढेको पाइन्छ । कतिपयले भित्तामा अडेस लागेर पनि पढ्ने गर्छन् । यी सबै गलत तरीका हुन । पलेँटी मारेर ढाड सिधा पारेर अध्ययन गरेमा उसको मस्तिष्क अधिक क्रियाशील हुन्छ । मस्तिष्कको अधिकतम प्रयोगको लागि आसन अति महत्वपूर्ण कुरा हो । यसलाई सामान्य ठानेको पाइन्छ । त्यो भनेको लापरबाहीको पराकाष्ठा हो ।
(६) मस्तिष्कलाई सकारात्मक उत्प्रेरणा दिने ।
मस्तिष्कलाई सक्रिय बनाउन यसलाई सकारात्मक उत्प्रेरणाको जरुरी हुन्छ । नकारात्मक उत्प्रेरणाले मस्तिष्क झनै उत्प्रेरित हुन्छ । तर त्यो विधि घातक हुने भएकाले त्यसको प्रयोग गरिनु हुँदैन । ज्ञान, धन, मान, सान जस्ता कुराहरुलाई प्रयोग गरेर मस्तिष्कको अधिकतम उपयोग गर्न सकिन्छ ।
(७) सांस्कृतिक वा कर्मकाण्डमा कम समय दिने।
संस्कृति र कर्मकाण्ड भनेका परम्परागत विषय हुन् । यसलाई पहिचान वा परम्पराको हिसाबले स्वीकार गरिन्छ । संस्कृति र कर्मकाण्डमा प्रश्न हुँदैन । त्यहाँ मान्ने कुरा मात्रै हुन्छ । यसले व्यक्तिलाई प्रश्न विहीन बनाई दिन्छ । जहाँ प्रश्न खडा हुँदैन त्यहाँ मस्तिष्क शिथिल हुन्छ । मस्तिष्कको उच्चतम् उपयोग गर्न प्रश्नलाई जगाई रहनुपर्छ ।
(८) उद्यमशील र सिर्जनशील बन्ने ।
उद्यमशीलतामा मस्तिष्कले धेरै कसरत गर्नुपर्छ । त्यसैगरी सिर्जनशीलतामा पनि मस्तिष्कको प्रयोग बढी हुन्छ । कहिले घाम जाला वा जागिरे प्रवृत्तिले मस्तिष्कलाई सक्रिय हुन दिँदैन । त्यसैले आफूलाई उद्यमशील र सिर्जनशील बनाएर मस्तिष्कको अधिकतम उपयोग गर्न सकिन्छ ।
(९) ज्ञान, विज्ञान र प्रविधिको भोको हुने ।
ज्ञानको निरन्तर विकास हुुन्छ । त्यसैगरी विज्ञान र प्रविधिको पनि विकास हुन्छ । यी विषयहरुको विकाससँगै व्यक्तिले आफूलाई अध्यावधिक गराउन सक्नुपर्छ । त्यसको लागि मस्तिष्कलाई सक्रिय बनाई राख्नुपर्छ । त्यसले मस्तिष्कको क्षमता वृद्धि गराउँछ । गहिरो अध्ययन र अभ्यासको आवश्यकता पर्ने भएकाले यी विषयमा व्यक्ति भोको हुनुपर्छ । सो प्राप्तिको लागि निरन्तर प्रयास गरिरहनु पर्छ ।
(१०) मस्तिष्कमा चित्र कोर्ने ।
मस्तिष्कले सुनेको भन्दा देखेको कुरालाई छिटो स्मरण गर्छ । त्यसैले सुन्ने भन्दा देख्ने कुरालाई बढी महत्व दिनुपर्छ । घोकाई भन्दा अवलोकन अध्ययनमा जोड दिनुपर्छ । त्यसो भएमा मस्तिष्कले लामो समयसम्म स्मरण गरिरहन्छ । अर्थात् भोगाई सहितको सिकाइले मस्तिष्कलाई झनै शक्तिशाली बनाउँछ ।
मस्तिष्क क्षमता र उपयोगको कुरालाई सर्वाङ्गिक विषयको रुपमा लिनुपर्छ । यसको उच्चतम् अर्थात् अधिकतम उपयोग गर्नको लागि उपर्युक्त लगायतका धेरै विषयहरुलाई अभ्यासमा ल्याउनुपर्छ । यस क्षेत्रका विज्ञहरुको अनुसार मान्छेले मस्तिष्कको कुल क्षमताको अत्यन्तै न्यून क्षमताको मात्र प्रयोग गरेका छन् । मस्तिष्क सर्वाङ्गिक विषय हो । कुनै एकमा हुने कमी वा कमजोरीले यसको क्षमताको अधिकतम उपयोग सम्भव हुँदैन ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *