काठमाडौँ, साउन ३२ गते ।
सन् १७८९ मा भएको फ्रान्सेली राज्यक्रान्ति आधुनिक विश्वको निमार्ण गर्ने क्रान्तिको रुपमा चर्चित क्रान्ति हो । एक राष्ट्रले अन्य राष्ट्रहरुमाथि उपनिवेश र साम्राज्य फैलाउने त्यस युगमा फ्रान्सेली जनताले गरेकोे त्यो क्रान्ति अमेरिकी स्वतन्त्रता संग्राम पछिकै मुख्य र महत्वपूर्ण क्रान्ति हुन पुग्यो । उक्त महान् क्रान्तिमा फ्रान्सेली जनता ‘समानता, स्वतन्त्रता र भातृत्व’ को नारामा आवद्ध भई उक्त महान् क्रान्ति सफलतापूर्वक सaम्पन्न भएको थियो । त्यस समयमा फ्रान्स तानाशाही राजा लुई १६ औँ को बर्बर दमनमा जकडिएको थियो । आम सर्वसाधारण जनताहरु गाँस, बास र कपास जस्ता आधारभूत मानवीय आवश्यकताबाट वञ्चित भएका कारण तानाशाही राजाका विरुद्धमा उत्रिन बाध्य भए । युरोप र विश्वको इतिहासलाई नै एउटा निर्णायक मोड दिनको लागि र सामन्तवाद विरुद्ध धावा बोल्नको लागि त्यो क्रान्ति महत्वपूर्ण क्रान्ति हुन पुग्यो ।
युरोपका आम जनताहरुमा राजवंशको शासन विरुद्ध आक्रोश बढिरहेको बेला उक्त क्रान्तिले अझै मलजल ग¥यो । सामन्तवादको मुख्य नाइके तत्कालीन फ्रन्सेली राजा लुई १६ औँ ले राज्यको ढुकुटीको दुरुपयोग गरी राज्यकोष नै सिध्याएका थिए । जसको कारण जनतालाई आधारभूत सेवा दिन नसक्दा आमजनतामा आक्रोश पैदा भई क्रान्तिको वस्तुगत आधार बन्न पुग्यो । सन् १७८९ को सुरुवातसँगै फ्रान्सेली स्टेट जनरलका तीन प्रतिनिधि तप्कामा फरक किसिमका अन्तरविरोधहरु देखा पर्न थाले । ती तीन तप्काहरु थिए कुलिन वर्ग, पुरोहित वर्ग र सामान्य जनता । राजाले तीनवटै तप्काका प्रतिनिधिहरुलाई बेवास्ता गर्दै आफ्नो मन्त्रीगण मार्फत राज्य सञ्चालन गर्दा राष्ट्र नै धारासायी बन्न पुगेका कारण क्रान्तिको ज्वारभाटा आउनु र जनआक्रोस बढ्नु स्वाभाविक नै थियो । फ्रान्सेली जनताहरु बेलायतको संसदीय क्रान्ति र अमेरिकी स्वतन्त्रता संग्रामबाट प्रभावित थिए भने थामस पाइनेको मानव अधिकार सम्बन्धी विचारबाट पनि त्यत्तिकै प्रभावित थिए । आम जनसमुदायका प्रतिनिधिहरु राज्यको ढुकुटी समाप्त गरी त्यसको सम्पूर्ण भार किसानहरुमाथि थोपरिएको कारण राजतन्त्रको विरुद्धमा उत्रन वाध्य भएका थिए ।