काठमाडौं, साउन १९ गते ।
सेप्टेम्बर, १९३९ मा बेलायती प्रधानमन्त्री बन्नुभन्दा पहिला विन्स्टन चर्चिल बेलायती नौसेना मन्त्रालयका मन्त्री थिए । उनी कुसाग्र बुद्धि र दृढनिश्चयी नेता थिए । प्रधानमन्त्री बन्नासाथ उनले छरितो आकारको ‘युद्धमन्त्रिपरिषद्’ गठन गरेर युद्धको गतिविधिमाथि नियन्त्रण कायम गरे । आफ्नो उत्कृष्ट र प्रभावकारी भाषण तथा वक्तव्यद्वारा प्रखर वक्ता चर्चिलले पूरै बेलायती साम्राज्यको जनमत आफ्नो पक्षमा पार्न सफल रहे । दोस्रो विश्वयुद्धको सुरुमा उनी अमेरिकी राष्ट्रपतिलाई विश्वासमा लिने प्रयास तथा निकट सम्बन्ध स्थापित गर्नमा लागे । समय–समयमा उनले अमेरिकी नेतृत्वलाई प्रभावित पनि गरे ।
औपनिवेशिक साम्राज्यवादी विचारहरूको हिमायती चर्चिल बेलायती औपनिवेशिक साम्राज्यका समर्पित योद्धा थिए । चर्चिलको दृष्टिकोणमा सबैभन्दा ठूलो शत्रु सोभियत सङ्घ थियो । उनी सोभियत सङ्घ फासीवादीहरूको सिकार भएको हेर्न चाहन्थे । त्यही कारणले उनले सोभियत सङ्घ एक्लै जर्मनीविरुद्ध लडिरहेको बेला जर्मन सैन्यशक्तिलाई चिहिलबिहिल पार्न पश्चिममा युद्धको अर्को मोर्चा खोल्न स्टालिनले पटक–पटक गरेको अपिललाई चर्चिलले टालिरहे । चर्चिलले त्यसलाई काँढाले काँढा निकाल्ने नीति भने । तर सोभियत सेना नाजीहरूलाई लखेट्दै बर्लिनतर्फ अघि बढ्न थालेपछि उनीहरूले भन्दा पहिले नै बर्लिन कब्जा गर्न उनले भरपूर कोसिस गरे तर सफल भएनन् ।