काठमाडौं, जेष्ठ १७ गते ।
नेपालमा २ दशक अगाडि लगभग ५ लाखको हाराहारीमा गिद्धको सङ्ख्या रहेको अनुमान गरिएको थियो । बिडम्बना आज त्यो संख्या लगभग ५ हजारमा सिमित भएको छ । गाउँघरमा कुनै घरपालुवा जनावर मरेमा त्यसलाई गाड्न नपाउँदै गिद्ध आइपुग्थ्यो भने आज सिनो गाड्नुको विकल्प छैन । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघका अनुसार डंगर गिद्ध, सानो खैरो गिद्ध, लामो टुँडे गिद्ध, सुन गिद्ध अति संकट र सेतो गिद्ध संकटापन्न अवस्थामा रहेका छन् । सिमलको रुख गिद्धको प्रमुख बासस्थान हो । यो रुख अत्याधिक अग्लो हुने भएकाले गिद्धको निम्ति बढी उपयुक्त हुन्छ । विशाल वनक्षेत्रभित्र भएका भिमकाय रुखहरु वन विनाशका कारण सिद्धिदै गएकाले गिद्धको बासस्थानमा ठूलो क्षति भएको छ ।
अनियन्त्रित बसोबास र वनविनाश नै गिद्धको संख्या घट्नुको एक प्रमुख कारण हो । अर्को प्रमुख कारण भनेको सिनो नै दुषित हुनु हो । गाई, भैंसी जस्ता घरपालुवा जनावरलाई बिरामी हुँदा डाइक्लोफेनेक भन्ने औषधी खुवाइन्छ । त्यो औषधी खुवाउँदा खुवाउँदै जनावर म¥यो र त्यसको सिनो गिद्धले खाएमा मृगौला खराब भई मर्छन् । नेपालमा पनि सन् २००९ देखि सेप्टेम्बर ४ लाई अन्तर्राष्ट्रिय गिद्ध दिवस मनाउन थालेपछि गिद्ध सम्बन्धी केही सचेतना बढेको छ । नेपालका चितवन, बर्दिया, बाँके, कपिलवस्तु लगायतका जिल्लालाई गिद्ध संरक्षित क्षेत्रको रुपमा घोषणा गरिएको छ । प्रतिदिन ३ केजी मासुको आहार गर्ने गिद्धलाई वर्षमा लगभग ११ सय केजी मासुको आवश्यकता पर्छ । यसले शिकार नगर्ने भएकाले गिद्ध एक पवित्र पंक्षीको रुपमा सम्मान गर्नुपर्छ । १ वर्षमा एउटा मात्र अण्डा पार्ने भएकाले पनि यसको संख्या वृद्धिमा बढी संरक्षणको आवश्यकता पर्छ ।