समकालीन नेपाली राजनीतिमा उन्नत लोकतान्त्रिक अभ्यासको प्रश्न र देखिएको दृष्य चित्र ।

 

काठमाडौं, जेष्ठ ४ गते ।

नेपालको राजनीतिमा भाषण गर्ने नेताको कमी छैन । दस्तावेज तयार पार्ने नेताको पनि कमी छैन । कमी छ त विचारलाई व्यवहारमा उतार्ने नेताको । नेपालका कम्युनिष्टहरु वैचारिक हिसाबले साम्यवादको कुरा गर्छन् । सोही बमोजिम सर्वहारा श्रमजीवी वर्ग पक्षधर भएको हुँकार गर्छन् । व्यवहारमा भने चरम पुँजीवादी व्यवहार गर्छन् । त्यसैगरी सर्वहाराको नाममा पुँजीपतिको सेवा गर्छन् । सांगठानिक सिद्धान्तमा जनवादी केन्द्रीयताको कुरा कुरा गर्छन् तर अभ्यास चाहिँ निरंकुश केन्द्रिकृत गर्छन् । नेपाली कांग्रेस आफूलाई नेपालको एक नम्बर लोकतान्त्रिक पार्टी भन्छ । तर, व्यवहार भने ठ्याक्कै उल्टो गर्छ । हरेक निर्णय गुटको आधारमा गर्छ । लोकतान्त्रिक भन्दै चरम अलोकतान्त्रिक अभ्यास गर्छ । अधिकांश निर्णय सभापतिले गर्छन् । अन्य नेताहरुलाई विरोध गर्नमै सीमित राख्छन् । कम्युनिष्ट र कांग्रेस नेपालको लोकतान्त्रिक अभ्यासमा चुके । त्यसैले त्यसको विकल्पमा जनता समाजवादी पार्टी स्थापित भएको हो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतन्त्रको अर्को विकल्प हुँदैन । त्यसैले उन्नत लोकतन्त्रको अभ्यास गर्नु नै लोकतन्त्रको समृद्धीकरण हो ।कम्युनिष्ट र कांग्रेसको लोकतान्त्रिक अभ्यासले नेपालको लोकतन्त्रको खिल्ली उडायो । जनता आजित भए । पार्टी र राज्यसत्ता दुबैमा उन्नत लोकतन्त्रको अभ्यास गर्न उनीहरु चुकेका कारण जसपाले त्यसको विकल्प दिने उद्घोष गरेको हो । तर, व्यवहारमा जसपाका नेताहरु चुक्न थालेको देख्दा उक्त पार्टीप्रति पनि जनताले आशंका व्यक्त गर्न थालेका छन् ।

विभिन्न प्रश्नहरु खडा भएका छन् । पूर्व समाजवादी पार्टी र पूर्व राजपा एकीकरण भएर जनता समाजवादी पार्टी बनेपछि लोकतान्त्रिक अभ्यास कसरी गर्छन् भनेर जनताले हेरिरहेका छन् । पछिल्लो राजनीतिक घटनाक्रममा पूर्व राजपा र पूर्व समाजवादी पार्टीबीच कुरा मिलेन । प्रधानमन्त्री ओली प्रतिगामी भएको भन्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारी समितिका अध्यक्ष उपेन्द्र यादव पक्ष ओलीको प्रतिगमनकारी कदमका विरुद्धमा उभियो । कार्यकारी समितिका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने एकाएक ओली पक्षमा देखिए ।भट्टराई र यादवहरुले ओलीले संसद विघटन गर्नु प्रतिगामी कदम भएको हुनाले उसको विकल्प खोज्ने भन्दै आए । ठाकुर र महतोहरु भने रेशम चौधरी लगायतकाहरुको रिहाइको कुरा गर्दैै ओलीको सरकारको पक्षमा उभिए । उक्त विषयमा कुरा नमिल्दा पूर्व समाजवादी र पूर्व राजपा आ–आफ्ना कित्तामा बाँडिएको देखियो । उक्त विवादसँग उनीहरुको लोकतान्त्रिक अभ्यासलाई जनताले हेर्ने मौका पाए । जब पार्टी भित्र विवाद पैदा हुन्छ त्यसबेला नेताहरुको लोकतान्त्रिक अभ्यासको परीक्षण हुन्छ । प्रमुख नेताहरुले अन्य नेताहरुसँग संवाद गरेको देखिएन । कार्यकर्ताहरुलाई त भेडाबाख्रा नै सोच्दा रहेछन् भन्ने अनुभूति भयो । समर्थक र शुभचिन्तकको त के वास्ता गर्थे र ? जनता समाजवादी पार्टी डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोको मात्रै रहेछ जस्तो गरे ।

कार्यकारिणी समिति, केन्द्रीय समति लगायत तल्ला कमिटीहरुको वास्ता नै गरेनन् । संसद विघटन देखि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बेलासम्म जसपाका नेताहरुले कस्तो भूमिका खेले भन्ने कार्यकर्ता र जनताले राम्रैसँग थाहा पाए । ठाकुर र महतोले भारतीय दलालको आरोपसम्म खेप्नु प¥यो । सामाजिक सञ्जालभरी उनीहरुलाई भारतीय दलाल भएको आरोप छ्याप्छ्याप्ती भयो । पार्टीमा विवाद खडा गरेको, एक्लै हिँडेको, आफ्ना कुरा मात्रै ठिक भनेको जस्ता आरोप उनीहरुले खेप्नु प¥यो । भट्टराई र यादवहरु भने रेशम चौधरी लगायतकाहरु सम्बन्धमा संवेदनशील नभएको भन्ने अर्को पक्षले आरोप लगायो । पार्टी पूर्ण रुपमा एकीकृत नभएको अवस्थामा मुख्य नेताहरुले यो हर्कत देखाए । उनीहरुले विगत एक–दुई महिनाबीच जे हर्कत गरे त्यसले उनीहरुको लोकतान्त्रिक अभ्यासमा गम्भीर प्रश्न खडा ग¥यो । पार्टीभित्र कुरा नमिल्दा त्यसलाई सल्टाउने विधि पार्टीको विधानले स्पष्ट गरेको छ । तर, प्रमुख नेताहरुले त्यसलाई वेवस्ता गर्दै गए । त्यो लुकाउने ठाउँ छैन् । गुटको अभ्यास गरेको देखियो । पार्टीभित्र गुटको अभ्यास गर्ने भए उन्नत लोकतन्त्रको अभ्यास कसरी हुन्छ ? कांग्रेस र कम्युनिष्ट भन्दा जसपा लोकतान्त्रिक अभ्यासको हिसाबले फरक र उन्नत कसरी भयो । यो प्रश्नको जवाफ जसपाका प्रमुख नेताहरुले दिनै पर्छ । होइन भने । ढाँटको राजनीति गर्न पाईँदैन । कुरा ठूला गर्ने तर व्यवहार भने निकृष्ट गर्ने हो भने वैकल्पिक राजनीति भन्नलाई मात्रै हुन्छ । जसपाका प्रमुख नेताहरुले लोकतान्त्रिक अभ्यासको परीक्षामा उत्तीर्ण हुनुपर्ने देखिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.