काठमाडौं, वैशाख २५ गते ।
सन् १९१७ अक्टोबर २५ का दिन रुसी कम्युनिष्ट पार्टी (वोल्सेभिक) को नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भयो । यसलाई रुसी अक्टोबर समाजवादी क्रान्ति पनि भनिन्छ । कतिपयले यसलाई महान् अक्टोबर क्रान्ति पनि भन्छन् । कतिपयले भने महान् त के नामपनि उच्चारण गर्न चाहँदैनन् । उक्त पार्टीका प्रमुख नेता भी.आई. लेनिन थिए । त्यसैले रुसी अक्टोबर क्रान्तिको कुरा गर्दा वोल्सेभिक पार्टी र लेनिनको नाम अगाडि आउँछ । उक्त क्रान्तिले सय वर्ष पूरा गरिसकेको छ । विश्वका कतिपय कम्युनिष्ट पार्टीहरुले अक्टोबर शतवार्षिकीलाई पर्वको रुपमा मनाए । सय वर्षको यो अवधिमा विश्व हरेक हिसाबले फेरिएको छ । त्यसैले यसको सान्दर्भिकताको बारेमा समीक्षा महत्वपूर्ण नै हुन्छ । सन् १९१७ मा अक्टोबर क्रान्ति भएसँगै विश्वमा कम्युनिष्ट पार्टीहरु तीब्र रुपमा निर्माण भए । सन् १९१८ मा जर्मन कम्युनिष्ट पार्टी, १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टी र १९२८ मा भारतीय कम्युनिष्ट पार्टी स्थापना भए । नेपालमा सन् १९४९ अप्रिल २२ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । अक्टोबर क्रान्ति भएको ३२ वर्षपछि नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भयो । उक्त क्रान्तिले समाजवादी आन्दोलनलाई बल प्रयोगको विधिबाट सम्पन्न गर्न सक्ने पाठ सिकायो । परिणामतः विश्वका कम्युनिष्ट पार्टीहरुले आफ्नो क्षमताले भ्याएसम्म सशस्त्र बल प्रयोगको विधि प्रयोग गरे ।
सन् १९५० देखि १९५३ सम्म कोरियाली प्रायदीपः को युद्ध, १९६५ देखि १९७३ सम्मको भियतनामको युद्ध जस्ता ठूला युद्धहरु अक्टोबर क्रान्ति अर्थात् कम्युनिष्ट आन्दोलनसँग जोडिएर भए । पूर्वी युरोप र एसिया क्षेत्रमा यसको प्रभाव बढी प¥यो । विश्वका धेरै देशहरुमा कम्युनिष्ट पार्टीहरु स्थापना भए । ती देशहरुमा अक्टोबर क्रान्तिको नक्कल गरिए । सन् १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टी र त्यसका नेता माओत्सेतुङको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । नेपालमा पनि सशस्त्र संघर्ष मार्फत् क्रान्ति गर्ने भन्दै अक्टोबर क्रान्तिको नक्कल गर्न खोजियो । सन् १९७८ मा तत्कालिन नेकपा मालेले त्यसको अभ्यास ग¥यो । सन् १९९० मा तत्कालिन नेकपा (माओवादी) ले १० वर्षसम्म सशस्त्र संघर्ष ग¥यो । नेपालका कम्युनिष्ट पार्टीहरुले गरेका यी सघर्षहरुमा कुनै न कुनै रुपमा उक्त क्रान्तिको लिगेसी पाइन्छ । सय वर्षको अवधिमा यो क्रान्तिको प्रभाव उत्कर्षमा रह्यो । यसले विदेशी हस्तक्षेप विरुद्ध निर्मम ढङ्गले प्रतिरोध गर्न सिकायो । सामन्तवाद विरुद्ध डटेर लड्न सिकायो । राजनीतिक सत्ता खोसेर लिनुपर्छ र त्यसका लागि सशस्त्र संघर्ष मार्फत् बल प्रयोग गर्नुपर्छ भन्ने सिकायो । शान्तिपूर्ण संघर्षलाई अस्वीकार ग¥यो ।
शान्तिपूर्ण संघर्ष गर्न खोज्ने कम्युनिष्ट पार्टीहरुलाई बुर्जुवाकरण र क्रान्तिबाट भागेको जस्ता आरोप स्वयम् कम्युनिष्ट पार्टीहरुले लगाए । नेपालमा राजतन्त्रको अन्त्य हुनुमा माओवादी सशस्त्र संघर्ष नै प्रमुख कारण हो । माओवादी सशस्त्र संघर्ष हुनुमा अक्टोबर क्रान्तिको प्रभावले काम गरेको छ । अक्टोबर क्रान्तिले आधा विश्वलाई समाजवादी कित्तामा उभ्याउन आधारभूमि तयार ग¥यो । उक्त क्रान्ति पश्चात् लेनिनले ८ वर्ष शासन गरे । स्टालिनले २८ वर्ष शासन गरे । उनीहरुले पार्टी संचालनमा जनवादी केन्द्रीयताको अभ्यास गरे । उक्त क्रान्तिपछिको साम्यावादी सत्ता सञ्चालनको विषय चर्चायोग्य हुन्छ । यो सय वर्षको अवधिमा साम्यवादी सत्ताले विश्वलाई के दियो भनेर हेर्न आवश्यक छ । यो विषय अक्टोबर क्रान्तिको विषयसँगै जोडिन्छ र जोडिनु पर्छ । सय वर्षको यो अवधिमा सन् १९२२ मा सोभियत संघको निर्माण भयो भने १९९१ त्यसको भंग भयो । पहिलो विश्वयुद्धको समाप्ति नहँदै भएको रुसी अक्टोबर समाजवादी क्रान्तिले दोस्रो विश्वयुद्धलाई रोक्न सकेन । केही तानाशाही सत्ता ढले । राष्ट्रिय स्वाधीनताको आन्दोलन उत्कर्षमा पुग्यो । यस अवधिमा प्रायः सबै औपनिवेशिक देशहरु स्वतन्त्र भए । सर्वहारा वर्गको सत्ता निर्माण गर्ने नाममा बुर्जवा तथा नोकरशाही सत्ताहरुको अगाडि चुनौती खडा भए ।