प्रथम विश्वयुद्धपछि जर्मनीको दयनीय स्थिति र वार्सा–सन्धिको अपमानजनक सर्तलाई हिटलरले खुब मज्जाले उपयोग गरे ।

 

काठमाडौं, वैशाख २३ गते ।

दोस्रो विश्वयुद्धको चर्चा गर्नासाथ सबैभन्दा पहिला सम्झना हुने नाम हो हिटलर । उनको जन्म २० अप्रिल १८८९ मा अस्ट्रियाको एउटा गाउँमा भएको थियो । उनै हिटलर सुरुदेखि अन्तसम्म दोस्रो विश्वयुद्धको सञ्चालक बने । अधिकांश मान्छेहरूले उनलाई घृणा गर्छन् तर आज पनि कतिपय मान्छेहरू उनका भक्त छन् । हिटलर जन्मँदा उनको पिताको उमेर पचास र आमाको उमेर बीस वर्षको थियो । हिटलरको पिताको मृत्यु उनी सानो छँदा नै भएको थियो । उनी पढाइमा तेज थिएनन् । चित्रकलाप्रति उनको विशेष रुचि थियो । सन् १९१३ मा उनी म्युनिख गएर आफ्नो चित्र बेचेर गुजारा गर्न थाले । सन् १९१४ मा प्रथम विश्वयुद्ध सुरु भयो । जर्मन सेनामा भर्ती भए । त्यसलाई उनले आफ्नो जीवनको सबैभन्दा गौरवमय दिन भनेका छन् । सेनामा उनी हुलाकी थिए । २ डिसेम्बर १९१४ मा राम्रो काम गरेकोमा उनलाई आइरन क्रस पदक प्राप्त भयो । त्यो उनको जीवनको सबैभन्दा खुसीको दिन थियो । फुर्सदमा उनी किताब पढ्न मन पराउँथे । धुम्रपान, जाँडरक्सी र सुन्दरीहरूदेखि उनी टाढा थिए । कुकुर पाल्नु उनको सौख थियो । उनको बफादार कुकुर ब्लान्डी उनीसँगै मारे । सन् १९१६ मा घाइते हिटलर बर्लिनको अस्पतालमा भर्ना भए ।

जर्मनहरूको गिरेको मनोबल देखेर उनी निकै दुःखी थिए । उनी त्यस्ताहरूलाई छुरी धसेर सिध्याई दिनुपर्ने खालका मान्छे ठान्थे । उनी जर्मनीको हारको कारण यस्ता मान्छेहरूलाई मान्थे । युद्धमा फर्कन व्याकुल हिटलर मार्च, १९१७ मा आफ्नो काममा फर्के । अक्टोबर, १९१८ मा आँखामा ग्यास परेर हिटलरको आँखा आंशिक रूपमा कमजोर भएकोले युद्धको अन्तिम दिनमा प्रोमेरानियाँको अस्पतालमा भर्ना भए । अस्पतालको बेडमा रहँदाकै बखतमा उनले जर्मनीको नराम्रो हारको खबर सुने । त्यसले उनको दिलदिमागमा शत्रुप्रति घृणा र आक्रोश पैदा भयो । प्रथम विश्वयुद्धको पहिलो दर्जाका धेरैजसो जर्मन सेनाहरू नाजी नेता भए । युद्धपछिको डाँवाडोल स्थितिमा वाम तथा दक्षिणपन्थी शक्तिको बीचमा सत्तासङ्घर्ष चलिरहेको थियो । हिटलरको निष्ठा देखेर उनलाई सेनामा नयाँ जिम्मेवारी दिइयो । राजनीतिक पार्टीको क्रियाकलापहरू हेर्दा उनलाई जर्मन वर्कस पार्टी मन परेकाले उनले सन् १९१९ मा तीस वर्षको उमेरमा त्यसको सदस्यता लिए । अन्य तथाकथित राष्ट्रवादीहरू जस्तै हिटलर पनि जर्मनीको पराजयले निकै दुःखी, अपमानित र आक्रोशित थिए । त्यसका लागि उनले यहुदीहरूलाई जिम्मेवार ठाने र केही न केही नगरी नछाड्ने भनेर कस्सिए । हिटलरको वाकपटुताका कारण थुप्रै जर्मन युवकहरू जर्मन वर्कस पार्टीमा आकर्षित भए ।

मात्र दुई वर्षको अन्तरालमा उनले पार्टी कब्जा गरेर त्यसको नाम राखे ‘नेशनल सोसलिस्ट वर्कस पार्टी’ जसको संक्षिप्त नाम हो, ‘नाजी पार्टी’ । त्यही नाजी पार्टी पछि गएर फासीवादको प्रतीक बन्यो । विस्तारै विद्यालयमा कक्षा सञ्चालन गर्नुभन्दा पहिले विद्यार्थीहरूले हिटलरको नारा लगाउनु अनिवार्य गरियो । प्रथम विश्वयुद्ध समाप्त भएपछि जर्मनीको दयनीय आर्थिक स्थिति, मुद्रा स्फीति र जीवनस्तरको अप्रत्यासित गिरावट तथा वार्सा–सन्धिको अपमानजनक सर्तलाई हिटलरले खुब मज्जाले उपयोग गरे । उनको भाषणकलाको जादुले जर्मनहरूलाई राम्ररी आकर्षित ग¥यो । उनले जर्मनहरूलाई उन्नत जिन्दगीको सपना र बेलायत–फ्रान्ससँग बदला लिएरै छाड्ने भावनाले उकासे । सन् १९२३ सम्ममा त सङ्गठनको चक्र यस्तो बनाइयो, मानौँ हिटलर भगवान हुन् जस्तो भयो । त्यही साल उनले असंवैधानिक पाराले सत्ता पल्टाउने असफल प्रयास गरे, जुन ‘बियर हल पुस’ नामले प्रख्यात भयो । उनलाई त्यसका लागि तीन महिना जेल सजाय दिइयो, त्यही बेला उनले आफ्नो आत्मकथा लेखे, जुन नाजीहरूको बाइबल जस्तै बन्यो । कम्युनिस्टहरूको कट्टर विरोधी हुनु उनको खास विशेषता थियो । सन् १९३३ को आमचुनावमा नाजी पार्टीलाई ठूलो सफलता हात लाग्यो । त्यसपछि हिटलर जर्मनीको चान्सलर भए । सन् १९४५ मा आत्महत्या गरेर उनको मृत्यु भयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *