दक्षिण एसियाको एक जलपरिवेष्ठित मुलुक श्रीलंका चिया, रबर र नरिवल खेतीको उर्भर भूमि भएको रमणीय देश हो ।

 

काठमाडौं, वैशाख १० गते ।

दक्षिण एसियाको एक जलपरिवेष्ठित मुलुक श्रीलंका चिया, रबर र नरिवल खेतीको उर्भर भूमि भएको रमणीय देश हो । यसको पुरानो नाम सिलोन हो । भौगोलिक क्षेत्रफल ६५,६१० वर्ग कि.मि. छ । क्षेत्रफलको हिसाबले विश्वको १२२ आँै ठूलो देश हो । सन् २०१२ को जन गणना अनुसार कुल जनसङ्ख्या २,०२,७७,५९७ छ । जनसंख्याको हिसाबले विश्वको ५७ औँ ठूलो देश हो । जनघनत्व ३२३ जना प्रति वर्ग कि.मि. छ । जनघनत्वको हिसाबले विश्वको ४० औँ ठूलो देश हो । प्रतिव्यक्ति आय ३,८१८ अमेरिकी डलर छ । प्रति व्यक्ति आयको हिसाबले विश्वको ११४ औँ ठूलो देश हो । प्रमुख जातीय समुह सिंहाली हो भने दोस्रो ठूलो जातीय समुह तामिल हो । प्रशासनिक राजधानी श्री जयवर्दनेपूर कोटे हो भने व्यापारिक राजधानी कोलोम्बो हो । सबैभन्दा ठूलो शहर कोलोम्बो हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्य राष्ट्र हो । लगभग ७० प्रतिशत जनता बौद्ध धर्मावलम्बी छन् । ९२ प्रतिशत भन्दा बढी जनता साक्षर छन् । हिन्द महासागरले घेरिएको कारण यस देशलाई टापु देश पनि भनिन्छ । श्रीलंकाको मुद्रालाई श्रीलंकन रुपी भनिन्छ । सन् १९६० मा श्रीमाओ बन्दरानायके श्रीलंकाकी प्रधान मन्त्री बनिन् । उनी विश्वकै प्रथम महिला प्रधानमन्त्री हुन । यस देशलाई पूर्वको मोति भनेर पनि चिनिन्छ । सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बन्यो । संयुक्त राष्ट्रसङ्घको कुल बजेटको ०.०१६ प्रतिशत बजेट अनुदान सहयोग गर्छ । भौगोलिक विविधता र सामाजिक तथा सांस्कृतिक विशिष्टताको कारण यहाँ पर्यटन व्यवसायको प्रचुर सम्भावना छ । लामो समयसम्म यस देशले गृहयुद्धको सामना गर्नु प¥यो । गृहयुद्धको बाबजुत पनि आर्थिक उन्नति भएको छ । श्रीलंकाको अफिसियल नाम डेमोक्रेटिक सोसलिस्ट रिपब्लिक अफ श्रीलंका हो । प्राचीन समयमा यस देशलाई ग्रीकहरुले टप्रोबेन नामाकरण गरेका थिए भने अरेबियनहरुले सेरेन्दिप नाम राखेका थिए । सिंहाली जातिका मानिसहरु यहाँका पुराना बासिन्दा हुन् । इ.पू. ५४३ बाट इण्डो आर्यनहरुले शासन गरे । लगभग १२औँ शताब्दीमा दक्षिण भारतबाट प्रबेश गरेका तमिलहरुले जाफ्ना प्रायःदिप लगायत उत्तर पूर्वी क्षेत्रमा आक्रमण गरी नियन्त्रणमा लिएर शासन गरे । तमिलहरुले हिन्दू सभ्यता अनूकुल शासन सञ्चालन गरे ।

प्राचीन सिंहाली समुदाय र बौद्ध सभ्यताको विस्थापन दक्षिण क्षेत्र तर्फ भयो । भिन्न धार्मिक तथा जातीय समुदयाका मानिसहरुबीच द्वन्द्व भयो । परिणामतः श्रीलंका विभिन्न राज्यमा बिखण्डित भयो । सन् १८१५ मा बेलायतले आफ्नो आधिपत्य कायम ग¥यो । २०औँ शताब्दीमा स्वतन्त्रताको आन्दोलन व्यापक रुपमा चल्यो । त्यसपछि बेलायतले औपनिबेशिक नीति अन्तर्गत स्वशासन प्रदान ग¥यो । अन्ततः सन् १९४८ फेब्रुवरी ४ मा यो देश बेलायती उपनिबेशबाट स्वतन्त्र भयो । सन् १९७२ मे २२ मा गणतान्त्रिक देशको रुपमा घोषणा गरियो । सन् १९७८ सेम्टेम्बर ७ मा निर्मित संविधानद्वारा शासन सञ्चालन भइरहेको छ । सरकारी कामकाजको भाषा सिंहाली र तमिल रहेका छन् । स्वतन्त्र भएपछि युनाइटेड नेशनल पार्टी र सोसलिस्ट श्रीलंका फ्रिडम पार्टीको उदय भयो । स्वतन्त्र भएपछि श्रीलंकाले विभिन्न राजनीतिक खिचातानी, षड्यन्त्र, हत्या र हिंशाको सामना गर्नु प¥यो । दक्षिण भारतबाट प्रबेश गरेका हिन्दू धर्मावलम्बी तमिल जातिका मानिस र स्थानीय बौद्ध धर्मावलम्बी सिंहाली जातिका मानिसबीच द्वन्द्व बढ्यो । धार्मिक तथा जातीय लडाइँका कारण यो देश झनै तनावग्रस्त बन्न थाल्यो । गृहयुद्धको कारण सन् १९७० र ८० को दशकमा लगभग ६० हजार मानिसहरुको मृत्यु भयो । सन् १९९० को दशकमा दशौँ हजार श्रीलंकाली जनताले ज्यान गुमाए । सन् १९९३ मा तमिल विद्रोही सङ्गठन् लिट्टेले राष्ट्रपति रणसिङ्गे प्रेमदासाको हत्या ग¥यो । सन् २००४ को डिसेम्बरमा हिन्द महासागरमा आएको सुनामीले लगभग ३५ हजार मानिसको ज्यान गयो । लाखौँ मानिस विस्थापित भए । सन् २००० को दशकमा तमिल विद्रोही सङ्गठन लिट्टे र सरकारी सेनाबीचको युद्धले श्रीलंका रणमैदान नै भयो । सन् २००९ को मे १९ मा लिट्टेका सर्वच्च नेता भेल्लुपिलाई प्रभाकरणलाई सरकारी सेनाले मारेपछि युद्धको समापन भयो । आज श्रीलंका शान्तिपूर्ण ढङ्गले विकास निर्माणको काममा केन्द्रित रहेको छ । पर्यटकीय यो देशको आर्थिक तथा सामाजिक विकासको गति तिब्र छ । सार्कको सदस्य मुलुक भएकाले उक्त देशको बहुआयामिक प्रगतिले दक्षिण एसियाली देशहरुलाई पनि फाइदा पुग्ने छ । नेपालले श्रीलंकासँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएर आपसी सम्बन्धको अभिवृद्धि मार्फत फाइदा लिन सक्छ । यो आम नेपालीहरुको निम्ति खुसीको कुरा हुनेछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *