मुन्धुमको शाब्दिक अर्थ राई भाषाको मना (मानव) र दुम (कुरा) शब्द मिलेर बनेको पाइन्छ ।

 


काठमाडौं, फागुन ११ गते ।

नेपाल एक सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो । भौगोलिक रुपमा हिमाल, पहाड र तराईमा बाँडिएको यो मुलुक बहुभाषिक, बहुधार्मिक र बहुजातीय फुलबारीको रुपमा सिंगारिएको छ । यहॉ विभिन्न भाषा, धर्म, कला, संस्कार र संस्कृति भएका मानिसहरुको बसोवास छ । मुलुकका जातिहरुमध्ये किरात राईलाई एक मानिन्छ, जो भूमिको आदिवासी मात्र नभएर मूलबासी पनि हो । अन्य जनजातिहरु भन्दा अलि पृथक रहेको किरात राई जाति आफूभित्र पनि आन्तरिक रुपमा पहिचान राख्ने जनजाति भनेर चिनिन्छ । किरातकालीन इतिहासहरु सम्पूर्ण रुपमा मुन्धुममा उल्लेख भएको पाइन्छ । मुन्धुममा उल्लेख गरे अनुसार किरातहरुको चाडहरुमध्ये साकेला पर्व पनि एक हो । मुन्धुमको शाब्दिक अर्थ राई भाषाको मना (मानव) र दुम (कुरा) शब्द मिलेर बनेको पाइन्छ । यसको अर्थ मानव प्राणीको कुरा भन्ने हुन्छ । किरात राईहरुको महान् चाड नै साकेला पर्व हो जसको अर्थ हुन्छ शिला । यिनै शिलालाई श्रृष्टिकर्ता, जीवनदाता र संरक्षकको प्रतिक मानेर पूजा गर्नु नै साकेला हो । अर्थात् आफ्ना श्रृष्टिकर्ता पारुहाङ र सुम्निमालाई बल माग्दै गरिने सिमेभूमेको पूजा नै साकेला हो । किरातहरुको पवित्र पुस्तक मुन्धुमका अनुसार साकेला पर्वलाई वर्षको दुई मौसममा विभाजन गरिएको छ । साकेला उभौली भन्नाले तराईबाट हिमालतर्फ बसाई सर्नु र साकेला उधौली भन्नाले हिमालबाट तराईतर्फ बसाई सर्नु हो । किरातहरु प्रकृतिलाई पूजा गर्दछन् । साकेला पर्व मनाउनुको तात्पर्य पनि बालीनाली सप्रोस र प्राकृतिक संकट आईनलागोस् भन्ने हो ।

यसको अर्थ भूमि पूजा पनि हुन्छ । यो साकेला पर्वको सुरुवात करिव १ हजार ३ सय वर्ष पहिले भएको मानिन्छ । साकेला इतिहासको बारेमा धेरै किम्बदन्तीहरु पनि पाइन्छ । यिनै विभिन्न किम्बदन्तीकै आधारमा साकेला पर्व पनि मनाउने गरिन्छ । इष्ट देवता पारुहाङको अर्थ पारु–आकाश तथा हाङ–अधिपति र सुम्निमाको अर्थ सुम्नि–धर्ति तथा मा–आमा भन्ने हुन्छ । कटुसको सेउली र धनुषवाण गाडेको ठाउ‘मा वृत्तकार रुपमा नाचिने नाचलाई साकेला नाच भनिन्छ । यसलाई साकेला शिली पनि भनिन्छ । अर्काे शब्दमा भन्नुपर्दा साकेला पूजासँग ढोल झ्याम्टा बजाउँदै र गीत गाउ‘दै नाचिन्छ । शिलीलाई नेपाली अर्थमा ताल वा नाच भनिन्छ । यो शिली हात, खुट्टा, ढोल र झ्याम्टा सबैको ताल मिलाएर नाचिन्छ । शिलीलाई ३ भागमा बाँडिएको छ । (१) हातको शिली (२) खुट्टाको शिली (३) हात र खुट्टाको शिली । यिनै शिलीको आधारमा ढोल झ्याम्टाको तालमा केटाकेटी, युवायुवती र बुढाबुढी सबै आफ्नै भेषभूषामा गोलबन्द भएर नाच्छन् । शिलीहरुमा जीवजन्तु र प्रकृति तथा सामाजिक क्रियाकलापहरुमा अभिनय झल्किएको हुन्छ । शिली पनि घर, ठाउँ, पाछा अनुसार फरक हुन्छ । यो पर्व सामाजिक रुपमा हेर्ने हो भने एक अर्काेप्रतिको मेलमिलाप स्नेहको जम्काभेट हो भने अर्काेतर्फ एक अर्कामा झैझगडा नहोस् भन्ने हो । किरातहरु मठमन्दिर मात्र नभएर प्रकृति पूजक पनि हुन्छन् । यो साकेला उत्पत्तिको थलो विशेषगरी खोटाङ र भोजपुर मानिन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *