गोकर्णेश्वर नगरपालिकाका नगरवासीहरुले पटक–पटक नेपाल मेडिकल कलेजसँग स्वास्थ्य उपचार सेवा सम्झौता गर्न अनुरोध गरेपछि गोकर्णेश्वर नगरपालिकाले नेपाल मेडिकल कलेजसँग स्वास्थ्य उपचार सेवा सम्झौता गरेको हो । २०५१/०५२ सालमा निर्माण भएको हस्पिटल गोकर्णेश्वर नगरपालिकाभित्र पर्दछ ।
नगरपालिकाले आफ्ना नगरवासीहरुलाई निशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले रु १ लाखसम्मको स्वास्थ्य सेवा निशुल्क गर्न पाउने व्यवस्था गरिएको छ । सम्झौतामा पालिका भित्रका एक व्यक्तिले अधिकतम रु. १ लाख सम्मको उपचार निशुल्क प्राप्त गर्नसक्ने व्यवस्था गरिएको छ ।
तोकिएको रकम भन्दा बढी खर्च लागेमा व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ । पालिकाले विभिन्न १३/१४ वटा हस्पिटलहरुसँग स्वास्थ्य उपचार सेवा सम्झौता गरेकोछ । नगरवासीले पैसा नभएर उपचार गर्न नपाई अनाहकमा मर्नु नपरोस् भन्ने हेतुले यो विभिन्न खाले स्वास्थ्य सम्झौता गरिएको नगर प्रमुख दिपक कुमार रिसाल वताउनु भयो ।
आगामी योजनामा १६ रोपनी जग्गामा ३० करोडको लगानीमा ३० शैयाको हस्पिटल निर्माण गरिने र आगामी ३–४ महिनामा उद्घघाटन हुने कुराको जानकारी पनि नगर प्रमुखले दिनु भयो । कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसाल, उप–प्रमुख सान्नानी लामा, डा.भोला रिजाल र विभिन्न महानुभावहरुले आ–आफ्ना तर्क र धारणाहरु राख्नु भएको थियो ।