नेपालको समृद्धिको लागि व्यवस्थित बहसमा स्वागत गर्छौँ ।

 

प्राकृतिक स्रोतसाधन र मानवीय संशाधनको हिसाबले नेपाल आफैँमा सम्पन्न देश हो । हामीले प्राकृतिक स्रोतसाधनको अभावका कारण देशको विकास गर्न सकेनौँ भन्नु पर्दैन । श्रमशक्तिको अभावका कारण समस्या भयो भन्नु परेको छैन । नेपाल मरुभूमिको देश होइन । समुद्रले घेरिएको टापु देश पनि होइन । हिँउले ढाकिएको देश पनि होइन । यो त पूर्वपश्चिम हिमालय शृङ्खलाको काखमा अवस्थित अनुपम प्राकृतिक श्रोत भएको देश हो । हिमाल, पहाड र तराईको समिश्रण यो देशको सबैभन्दा ठूलो सम्पत्ति हो । भूगोलको क्षेत्रफलका आधारमा जनसंख्याको घनत्व न बढी छ न कम छ । जे हुनु पर्ने त्यही छ । यो हाम्रो लागि ठूलो अवसर हो ।

नेपाल भीमकाय दुई देश चीन र भारतको बीचमा छ । भूगोल र जनसंख्याको हिसाबले यी देश नेपालभन्दा धेरै ठूला छन् । त्यतिमात्रै होइन कि यिनीहरु अर्थतन्त्रमा पनि बिशाल छन् । चिन्तन र मूल्यमान्यतका हिसाबले पनि यी देशहरु भिन्न र पृथक अस्तित्व अनि हैसियतमा छन् । नेपालका लागि यो अवस्थिति अवसर र चुनौती दुबै हो । मिलाउन सके अवसरै अवसर हुन सक्छ । मिलाउन नसके समस्यै समस्या पनि हुन सक्छ । यो त नेपालको कुटनीतिक क्षमताको कुरा हो । नेपाल पूर्वीय सभ्यताको मौलिक पहिचान भएको देश पनि हो । यहाँ हिरा फल्नु पर्ने हो ।

नेपाल धनी देश हो कि गरिब देश हो ? यो प्रश्नको जवाफलाई प्रस्थानबिन्दु बनाउनु जरुरी हुन्छ । नेपाल परापूर्व कालदेखि सम्पन्न मुलुक हो । आजपनि कमजोर छैन । भएको के हो भने आजको विश्वसँगको प्रतिस्पर्धामा पछाडी परेको हो । विश्व प्रकाशको गतिमा हुँइकिएको छ । नेपाल भने त्यो गतिमा छैन । धेरै धिमा गतिमा छ । यसले गर्दा नेपाललाई विश्वले पछाडी छोड्दै गयो । उनीहरुले भौतिक पूर्वाधारका सामान्य अवस्था पूरा गरिसकेका छन् । पछाडी हेर्दा त समस्या देखिँदैन । मुख्य कुरा अगाडी हेर्ने हो । त्यस हिसाबले हामी पछाडी परेकै हो । हामी पनि विश्वव्यापी प्रतिस्पर्धामा अब्बल हुनु पर्छ भनेको मात्रै हो । त्यो अवस्थालाई तोड्नु पर्छ भनेको हो ।

हामीले विगत केही वर्षदेखि नेपालको समृद्धिको चार खम्बे अवधारणाका आधारमा सार्वजनिक बहस गरिरहेका छौँ । ‘नेपालमा समृद्धि अभियान’ अन्तर्गत सार्वजनिक बहस कार्यक्रम ‘मैले भन्नु छ !’ सञ्चालित छ । आगामी असार ८ गते शनिबार यस बहसको अर्को शृङ्खला आयोजना गरिँदैछ । ‘देशको विकास गर्न श्रमशक्ति निर्यात रोक ! देशभित्र उद्यमशिलताको अवसर सिर्जना गर ! कहाँ चुक्यौँ ? अब के गर्ने ?’ बिसयमा बहस गर्दैछौँ । मिडिया मार्फत् नीति निर्माण र कार्यान्वयन गर्ने तहमा त्यहाँ व्यक्त आवाज पुग्नेछन् । त्यसैगरी आम जनतामा जागरण पैदा गरिनेछ । नेपालमा समृद्धिको एकमात्र व्यवस्थित बहसमा तपाईँलाई पनि हार्दिक निमन्त्रणा गर्दछौँ ।

– परिवर्तन भट्टराई (संयोजक), नेपालमा समृद्धि अभियान

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *