–परिवर्तन भट्टराई (कृति)
नमस्कार ! प्रत्येक वर्ष बजेट भाषण हुन्छ । त्यसले केही होला जस्तो लाग्छ । कार्यान्वयनका प्रत्येक महिना निराजाशजनक हुन्छ । अझैपनि असारे बजेटको समस्या हटेको छैन । प्रत्येक वर्ष बजेटको कार्यान्वयन ठिक समयमा गर्ने प्रतिबद्धता हुन्छ । आर्थिक वृद्धि गर्ने लक्ष्य पनि हुन्छ । बजेटको पुँजीगत खर्च अत्यन्तै न्युन हुन्छ । साधारण खर्च भने प्रत्येक वर्ष बढ्छ । शिक्षाको लगानी बलुवामा पानी हाले बराबर हुन्छ । स्वास्थ्यको लगानी त्यस्तै हुन्छ । पूर्वाधार निर्माण कछुवा गतिमा हुन्छ । बजेट भाषणमा विनियोजित बजेटको ठूलो मात्रामा रमान्तर हुन्छ । एकातिर छुट्याएको बजेट अर्कातिर खर्च हुन्छ । सार्वजनिक ऋणको भार झनै बढ्छ । राजश्व संकलनले बजेटको लक्ष्य धान्दैन । अन्तर्राष्ट्रिय अनुदान बढ्दैन । राजश्वले साधारण खर्च धान्न छोडेको छ । युवा पलायन कहाली लाग्दो छ । ब्रेनड्रेन अचाक्ली छ । हाम्रा विद्यालय र विश्वविद्यालय अन्य देशको जनशक्ति निर्माण गर्न स्थापना गरिएका जस्ता भएका छन् ।
विगतमा व्यवस्थालाई दोष दिइयो । हो जस्तो पनि लाग्यो । तर, आज जनताको व्यवस्था अर्थात् लोकतन्त्र छ । गणतन्त्र छ । अवस्था भने उस्तै छ । जनतामा निराशा व्याप्त छ । रेमिट्यान्स नआउने हो भने देशको अवस्था डामाडोल हुने स्थिति छ । उत्पादन शुन्यप्रायः छ । विदेशमा कमाएको पैसाले विदेशको सामान किन्नु परेको छ । आफ्नै देशमा उत्पादन गरेको सामान पाईँदैन । राष्ट्रिय पुँजीको विकास छैन । अर्थतन्त्रका हरेक क्षेत्र सन्तोषजनक छैनन् । कृषिको हालत खराब छ । पर्यटन बढ्दैन । उद्योग बढ्दैनन् । भएका पनि टिक्नै कठिन अवस्थामा छन् । सार्वजनिक संस्थानले नाफा दिँदैनन् । देशमा आज राजनीतिक आन्दोलन छैन । भूकम्प जस्ता प्राकृतिक प्रकोप छैन । कोरोना जस्तो महामारी पनि छैन । तर, आर्थिक मन्दी डरलाग्दो अवस्थामा छ । उद्योग व्यापार जीर्ण अवस्थामा छन् । सामाजिक मूल्यमा स्खलन भएको आभास हुन्छ । नेपाली मौलिकता हराउँदै गएको पाइन्छ । युवाहरु निराश छन् । सुन्दर भविष्यका लागि विदेश पलायन हुन बाध्य छन् ।
समस्या तत्कालै हट्ला जस्तो पनि लाग्दैन । धेरै समस्याहरु संकेन्द्रण भएका कारण कुनै एकको उपचार वा सुधार गरेर देशको अवस्थामा सुधार गर्न सकिएला जस्तो पनि लाग्दैन । नेपालको भू–राजनीतिक जटिलतालाई धान्न र थेग्न त्यति सजिलो छैन् । चीन र भारतको ठूला अर्थतन्त्रले नेपाली अर्थतन्त्रलाई च्यापेको पाइन्छ । ती देशका सस्तो र स्तरीय उत्पादनले नेपाली उत्पादनलाई थिचको छ । त्यसका लागि सरकारले पर्यात्त लगानी गर्नु पर्ने हुन्छ । नेपाली अर्थतन्त्रले त्यो ल्याकत राख्दैन । अब के गर्ने ? त्यसका लागि हामीले सोच्न जरुरी छ । अब देशको समृद्धिको विषयलाई महत्वका साथ डिस्कोर्षमा ल्याउनुपर्छ । सतही पाराले अब नेपाली जीवनलाई माथि उठाउन सजिलो छैन । हामीले यहि कुरालाई ध्यानमा राखेर समृद्धि अभियान सञ्चालन गरेका छौँ । आगामी असार १६ गते नेपालको समृद्धिमा कहाँ चुक्यौँ ? अब के गर्ने ? विषयमा मैले भन्नु छ ! मार्फत् सार्वजनिक बहस गर्दैछौँ । तपाईँको सार्थक सहयोग र सहकार्यका लागि अनुरोध छ ।