काठमाडौं, वैशाख ८ गते ।
नेपाल, भारत, बङ्गलादेश, भुटान, पाकिस्तान, अफ्गानिस्तान, श्रीलंका र माल्दिभ्स् सदस्य भएको दक्षिण एसियाको एक क्षेत्रीय सङ्गठन सार्क हो । यसको पर्यवेक्षकहरु अष्ट्रेलिया, चीन, युरोपियन युनियन, इरान, जापान, मौरिसस, म्यानमार, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका हुन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनाको मुख्य उद्देश्य भनेको सदस्य राष्ट्रहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास तथा सामूहिक हितको प्रबद्र्धन गर्नु हो । यस सङ्गठनको स्थापना सन् १९८५ डिसेम्बर ८ मा भएको हो । सार्क सचिवालय काठमाडौँमा अवस्थित रहेको छ । सार्कलाई आर्थिक तथा भू–राजनीतिक सङ्गठन पनि भनिन्छ । दक्षिण एसियाली देशहरुबिच भाइचारा सम्बन्ध कायम गरेर आपसी हितको प्रबद्र्धन गर्नु यो सङ्गठनको प्रमुख कर्तव्य हो । सार्क सदस्य देशहरुबीचको सम्बन्धलाई सुमधुर नबनाएसम्म यस क्षेत्रको विकास हुन नसक्ने भएकाले यो सङ्गठनले महत्वपूर्ण भूमिका खेल्न सक्नु पर्छ । सार्कको कुनै पनि सदस्य मुलुकको पीडामा अर्को सार्क सदस्य मुुलुकलाई पीडा हुनु पर्छ । सदस्य मुलुकहरुबीच सद्भावपूर्ण सम्बन्धको विकास गराउन सकेमा दक्षिण एसियाका देशहरुको चाँडै नै आर्थिक तथा सामाजिक समृद्धि हुनेछ ।
सार्क सदस्य मुलुकहरुबिच मनमुटाव र खिचातानी हुने गरेको छ । भारत र पाकिस्तानको बिचमा बेला–बेलामा युद्धको स्थिति आउने गरेको देखिन्छ । नेपाल र भारतको बिचमा सीमा विवाद लगायतका विभिन्न विवादहरु छन् । अफगानिस्तान र पाकिस्तानमा आतङ्ककारी गतिविधिले जनजीवन त्रसित छ । नेपालमा भुटानी शरणार्थीको समस्या अझै बाँकी छ । सदस्य देशरुमा विभिन्न प्रकृतिका अन्धविश्वास कायम छन् । यहाँका जनताको ठूलो हिस्सा भोकमरीमा छ । माल्दिभ्स डुवानको खतरामा छ । प्रायः सबै सदस्य देशहरुमा राजनीतिक अस्थिरता र खिचातानी छ । सार्कको भावना अुनसार व्यवहार नहुँदा सार्कको औचित्य माथि नै प्रश्न चिन्ह खडा हुने गरेको छ । सार्क शिखर सम्मेलन कर्मकाण्डी भएको आरोप छ । शिखर सम्मेलन घोषणा–पत्र जारी गर्नमा मात्रै सीमित भएको आभास हुन्छ । सार्कको गतिविधिमा किन शिथिलता छ भन्ने सवाल महत्वपूर्ण छ ।
यसको प्रमुख कारण भनेको सदस्य मुलुकहरु सामूहिक हितमा भन्दा देशीय हितमा केन्द्रित हुनु हो । आफ्नो देशको स्वार्थ नै प्रधान हुँदा सार्कको भावनामा चोट पुगेको पाइन्छ । सार्कका प्रायः सबै देशहरु तेस्रो विश्वका भएकाले सामूहिक चरित्र प्रदर्शन गर्न नसकेको हुनु पर्छ । युरोपियन युनियन मार्फत युरोपेली देशहरु जसरी एक ठाउँमा आउन सकेका छन् सार्क मार्फत सदस्य देशहरु एक ठाउँमा आउन सकेका छैनन् । सार्क मुलुकहरुबिच सम्बन्ध बिग्रिएमा सार्कले सम्बन्ध सुधारको लागि भूमिका खेल्ने अधिकार पाउनु पर्छ । दुई देशको मामिलामा सार्क नबोल्दा यसको औचित्य र प्रभावकारीता नदेखिएको हो । सार्कको मुख्य उद्देश्य नै सार्क मुलुकहरुको दुई पक्षीय सम्बन्ध मजबुत बनाउन भूमिका खेल्ने हुनु पर्छ । यसका लागि सार्क सदस्य मुलुकहरु तयार हुनु पर्छ । होइन भने सार्कले आफूलाई शिखर सम्मेलनमा मात्रै सीमित राख्न बाध्य हुन्छ । यसले यस क्षेत्रका देश र त्यहाँका जनताको कुनै हित हुन सक्दैन ।