काठमाडौं, फागुन १ गते ।
प्रकृतिको अनुपम सिर्जनामा पवित्र, उच्च र सुन्दर शिखर सगरमाथाको नाम नसुन्ने मान्छे बिरलै हुन्छन् । विश्वका असंख्य विद्यार्थीले क्विज प्रतियोगितामा सगरमाथाको नाम बताएकै आधारमा प्रतियोगिता जितेका छन् । लगभग २ सय भन्दा बढी देश भएको यस पृथ्वीमा नेपाल नाम थोरैले सुनेका र जानेका हुन्छन् भने सगरमाथाको नाम धेरैले सुनेका र जानेका हुन्छन् । अर्थात नेपालभन्दा सगरमाथाको कद बढी भएको आभास हुन्छ । न्यूजिल्याण्डका प्रख्यात पर्वतारोही सर एड्मण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले यो गौरवशाली चुचुरोमा पहिलो मानव पाइला राख्न पुगे । यी २ जना पर्वतारोही त्यस्ता भाग्यमानी मानिस भए जसलाई विश्वले युगाँैयुगसम्म सम्झिरहनेछ । सर्वोच्च शिखर सगरमाथा नेपालीको निम्ति भौगोलिक गौरवको प्रतीक हो । यो सर्वोच्च शिखरको नाम नेपाली इतिहासकार बाबुराम आचार्यले राखेका हुन् । सगर अर्थात आकाशै छुनसक्ने शिखर हो भन्ने अर्थमा उनले यो नाम जुराएका हुन् । यो सर्वोच्च शिखरलाई अंग्रेजीमा माउण्ट एभरेष्ट भनिन्छ भने चिनियाँहरुले चोमोलोङ्मा भन्छन् । तत्कालिन ब्रिटिस भारत सरकारका नापी विभागका सर्भेयर भूगर्भविद् कर्णेल जर्ज एभरेष्टको सम्मानमा सन् १८६५ मा बेलायतको ‘रोयल जियोग्राफिकल सोसाइटी’ ले उक्त चुचुरोलाई माउन्ट एभरेष्ट नामाकरण गरेको हो । उनले उक्त शिखरको सर्भे गरेका थिए । यद्यपी त्यसको पुरा काम उनका उत्तराधिकारी एन्ड्रयु वागले गरेका हुन् । उक्त रोमाञ्चकारी शिखरमा बेलायती झण्डा फहराउन बेलायत सरकारले जर्ज म्यालोरी र एन्ड्रयु इर्भिनलाई पठाएकोमा शिखरमा नपुग्दै मृत्यु भयो । ति दुवै पर्वतारोहीको शव ७५ वर्षपछि सगरमाथाको उत्तरी मोहडामा फेला प¥यो ।
सन् १९२४ जुन ८ का दिन उनीहरुको मृत्यु भएका कारण बेलायतले अरु पर्वतारोहीलाई तत्कालका लागि पठाउन चाहेन । उक्त गौरवको प्रतीक सर्वोच्च शिखरमा सन् १९५३ मे २९ का दिन न्यूजिल्याण्डका सर एड्मण्ड हिलारी र नेपालको तेन्जिङ्ग नोर्गे शेर्पाले पहिलो पाइला राखेर किर्तिमान कायम गरे । नेपाली भुगोलमा अवस्थित यो शिखरको उत्तरी मोहडातर्फ चीन पर्छ । तत्कालीन अवस्थामा चीनले सगरमाथालाई आफ्नो हो भनेर कुटनीतिक पहल समेत गरेको थियो । नेपालका तत्कालिन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला चीन भ्रमणमा जाँदा यो प्रसंग चलेको थियो भनिन्छ । त्यस्तैगरी भारतले पनि त्यो शिखरप्रति कुनै न कुनै रुपमा आशक्ति देखाएको बुझिन्छ । तेन्जिङ्ग नोर्गे शेर्पालाई भारतका नागरिक हो भन्ने अवस्थाको सिर्जना हुनुमा सगरमाथा प्रतिको आकर्षणको प्रतिक नै हो । यो सर्वोच्च शिखर नेपालमा हुनु नेपालीका लागि बहुआयामिक लाभको विषय हो । एउटा पक्ष यसले नेपालको नामलाई विश्वबजारमा लैजान सहयोग गरेको छ भने अर्को तर्फ नेपालको पर्यटन प्रवद्र्धन मार्फत आर्थिक विकासमा टेवा पुगेको छ । प्रत्येक वर्ष सयौंको संख्यामा पर्वतारोहीहरु सगरमाथा चढ्न लाइनमा बसेका हुन्छन् । सरकारले उनीहरुबाट लिने रोयल्टीले मात्रै पनि नेपालको अर्थतन्त्रमा टेवा पुग्छ । राजनीतिक अस्थिरता र बेइमानीको कारणले मात्रै समस्या आएको यो मुलुकमा सगरमाथाले ठूलो आर्थिक सहयोग पु¥याएको छ । हिमाली क्षेत्रका जनताको आर्थिक स्थिति ह्वात्तै उक्सेको छ । त्यो क्षेत्र अत्यन्तै उपेक्षित र विकट क्षेत्रको रुपमा रहेकोमा आज आइपुग्दा सम्पन्न भएका छन् त्यहाँका शेर्पा जातिका मानिस । उनीहरु अन्तर्राष्ट्रिय जगतसँग साक्षात्कार गर्न सक्ने भएका छन् । सगरमाथा, माउण्ट एभरेष्ट र चोमोलोङमा नामले चिनिने यो सर्वोच्च शिखर नेपाल र नेपालीको गौरवको प्रतिक हो ।