गुल्मी, जहाँ रगतले लेखेको इतिहास छ, त्यहीँबाट बलिदानको चेतना जन्मियो

 

चन्द्र भण्डारी (नेता, नेपाली कांग्रेस)

त्यही कांग्रेस हुँ, तर… आज ? आन्तरिक सहमतिको लागि सात बुँदा ! जनताको अधिकारका लागि लड्दा बाइस वर्षका युवालाई निर्दयतापूर्वक मारिएको इतिहास बोकेको कांग्रेस । जनताको पक्षमा उभिएको अपराधमा मोतिराज भुसाललाई पोखरीको मौलामा बाँधेर नाक–कान–गाला काट्दै नुनचुक लगाएर हत्या गरियो । टिकाराम धिमिरेलाई जिउँदै खाडल खनेर पुरियो—चार दिनसम्म जिउँदै हुँदा पनि निकाल्न सकिएन । सम्सेरबहादुर खत्रीको टाउको काटेर “कांग्रेस बनेको यस्तै हुन्छ” भन्दै जिल्लाभरि घुमाइयो । रणबहादुर थापा, गंगाबहादुर थापा, १५ सालका माननीय निलाम्बर पन्थीलगायत थुप्रै योद्धाहरूले पारिवारिक सुख त्यागेर अधिकारका लागि संघर्ष गरे । भाइ फणिन्द्र भण्डारी ०४६ सालको आन्दोलनमा सुरक्षाकर्मीबाट यति निर्ममतापूर्वक कुटिए कि त्यो घटना अन्तर्राष्ट्रिय समाचार र चासोको विषय बन्यो । जब डा. देवेन्द्रराज पाण्डे, शम्भुनाथ ज्ञवाली, डा. दुर्गा भण्डारी, नरहरि आचार्य, डा. मथुरा श्रेष्ठ, विश्वकान्त मैनाली र म लगायतलाई केन्द्रीय कारागार चलान गरियो, फणिन्द्र भण्डारी, सुरेन्द्र अधिकारीलगायत साथीहरू त्यहीँ थिए । कुटाइका कारण उनको शरीरमा छाला झन्डै बाँकी थिएन, तर उत्साह र प्रतिबद्धतामा कुनै कमी थिएन ।

त्यही गुल्मी—जहाँ रगतले लेखिएको इतिहास छ, जहाँबाट बलिदानको चेतना जन्मिएको हो । त्यही प्रेरणाले म पन्ध्र वर्षको उमेरमै अधिकारका लागि थुनिएँ । कस्टडी र ठेडुकामा दिन बिताएँ । लामो समय जेललाई पनि संघर्षको पाठशाला ठानेर खुशी मनले स्वीकारेँ । आज ती दिन सम्झँदा पीडा हुन्छ । आजका धेरै नेताहरू आफ्नो लक्ष्यको बाटोबाट विचलित भए । सत्ताको स्वार्थका लागि इतिहास भुलियो, देशभन्दा परिवारको मोह ठूलो बनाइयो । स्वार्थै–स्वार्थको द्वन्द्वले राजनीतिलाई घोडा चढायो । दुर्भाग्य, आज पनि त्यो स्वार्थको लफडा कायमै छ । अब दिगो समाधान आवश्यक छ । त्यो समाधान अरू कसैको हातमा होइन—हाम्रो आफ्नै हातमा छ । यदि पहल–कदमी समयमै र पर्याप्त गम्भीरताका साथ पहिले गरिएको भए, बोलाइएको विशेष अधिवेशनलाई मिलनको साझा माध्यम बनाउन सकिन्थ्यो । जसरी ८८ गिरिजा प्रसाद कोइराला ८८ ले बोलाएको भेलामा एन.पी. साउद र मैले तत्कालीन सभापति ८८ कृष्णप्रसाद भट्टराई ८८ लाई सहभागी गराई सहमतिको विन्दु खोजेका थियौं । त्यो समयमा कृष्णजी कार्यवाहक सभापति र गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसरी नै गिरिजाबाबु र शेरबहादुर देउवा बीचको संवाद चक्र वास्तोलाको निवासमा—कसैलाई नदेखाउने सर्तसहित गरिएको थियो । सहमतिको कागज आज पनि मसँग सुरक्षित छ ।

त्यस समयमा गिरिजाबाबु पार्टी सभापति र देउवाजी प्रधानमन्त्री हुनुहुन्थ्यो । यस्ता ठोस मिलनका उपाय हुँदाहुँदै पनि स्वार्थका पुजारीहरूले परिस्थितिलाई अनावश्यक रूपमा अर्कै मोडतर्फ धकेले । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्कासन गर्ने विकल्प रोजेर अरु विकल्प खोजेको भए पार्टी र लोकतान्त्रिक संस्कृतिले यो मूल्य चुकाउनु पर्ने थिएन । अन्ततः गगन थापाको सभापतित्वमा विशेष अधिवेशन सम्पन्न मात्र भएन—निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत वैधानिकता प्राप्त गर्‍यो । यसअघि कांग्रेसमा देउवाजी प्रधानमन्त्री हुँदा उहाँलाई पार्टीबाट निष्कासन गरिएको थियो, र त्यसपछि उहाँकै नेतृत्वमा नयाँ पार्टी गठन भएको थियो । आजका धेरै नेताहरू त्यही समयमा देउवाजीको साथमा थिए । कांग्रेसको सकारात्मक पक्ष यही हो—यति धेरै तिक्तताबीच पनि संवादका ढोका पूर्ण रूपमा बन्द भएका छैनन ्। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग वर्तमान सभापति र उपसभापतिबीच एकल तथा सामूहिक सरसल्लाह जारी रहनु, र सत्तापक्षबाट एकताको सातबुँदे प्रस्ताव औपचारिक रूपमा पठाइनु—यी सबै मिलनको सम्भावना जीवित छ भन्ने संकेत हुन् । अब सम्बन्धित पक्ष एजेन्डामा केन्द्रित भई पारदर्शी ढंगले संवाद सुरु गर्नुपर्छ । कुराकानी बुँदागत रूपमा हुनुपर्छ । के गर्ने, के नगर्ने—सबै समाधान कोठाभित्रै खोज्नुपर्छ । सबै गुमिसकेपछि धेरै काइकुइ गर्नु राम्रो हुँदैन ।

मेरो भनाइ — सन्दर्भ र यथार्थ वर्तमान क्षणमा नेपाली कांग्रेस मिले–नमिलेको बहस देश र जनताको तत्कालीन प्राथमिक चासो नहुन सक्छ । तर पार्टीभित्र ती असंख्य शुभचिन्तक छन्, जसले नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि आफ्नो जीवन र जवानी अर्पण गरेका छन् । त्यसैले मिलन जनताभन्दा पहिले ती शुभचिन्तकहरूको आत्मशान्तिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । विगतलाई पढ्दा नेपाली कांग्रेस कुनै साधारण संगठन होइन—यो त्याग, संघर्ष र स्मृतिहरूले निर्माण भएको संस्थागत इतिहास हो । त्यसैले पार्टीभित्र देखिने असहमति केवल शक्ति–सन्तुलनको प्रश्न होइन; यो इतिहासप्रतिको उत्तरदायित्व र भावी पुस्ताप्रतिको जवाफदेहिता पनि हो । हाम्रो पुस्ता विगतका कमजोरीहरू आत्मसात गर्दै नेपाली जनतासँग क्षमा याचना गर्दछ । हामी स्पष्ट प्रतिबद्धता व्यक्त गर्छौँ— यो मुलुक कसैको व्यक्तिगत स्वार्थका लागि नाङ्गो नाच नाचिने नाचघर होइन । हामी अपराधसँग सम्झौता गरेर इतिहासलाई अपमान गर्नेछैनौं । हामी क्षमा माग्छौँ—तर अन्यायलाई क्षमा गर्दैनौं । हामी कुनै दाग बोक्दैनौँ, न दाग बोकेको उत्तराधिकार छोड्छौँ । न्याय, नैतिकता र लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता अविचल छ । महान् नेताहरूलाई सम्मान गर्दै महान् सहिदहरूको सपना पूरा गर्ने हाम्रो अडान स्पष्ट छ । यो हाम्रो अडान हो । यो हाम्रो घोषणा हा े। जय नेपाल !

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *