श्रीराम खाइजु
आरम्भ
राष्ट्र बिग्रेकोमा चासो र चिन्ता आम बिषय हो, कसैको ब्यक्तिगत वा समुहगत मात्र होइन । बनाउने दायित्व पनि एक्लैको होइन सामुहिक र संस्थागत प्रयाशबाटै बन्ने हो । तर हामीकहाँ आलोचना र आत्मालोचनाको बिधि विकास भएझैं लाग्दैन । किनकि यदि उक्त बिधिको विकास हुँदो हो त यति ध्वंसात्मक आलोचना र गैर जिम्मेवार गालिगलौज हुँदैनथ्यो । पुलिसले कमजोरी गर्छ नेतालाई दोष ! कर्मचारीले घुस खान्छ, नेतालाई दोष ! अदालतले ढिलासुस्ती गर्छ नेतालाई दोष ! कोही डुकुलण्ठू भएर हिड्छ नेतालई दोष ! कोही भट्टीमारा हुन्छ नेतालाई दोष ! कसैको बाख्रो कुखुरो जे हराएपनि नेतालाई दोष दिने परम्परा नै बस्यो । यहाँ त यतिसम्म डरमर्दौ भईसक्यो कि कसैको छोरी बुहारी प्रेग्नेन्ट नहुँदापनि नेतालाई दोष दिएला कि भन्ने चिन्ता लागिसक्यो । किनकि हामी हिन्दु संस्कारमा जीउँछौं जसले परिश्रमीको परिश्रमद्धारा उत्पादित अन्न खाँदा वा प्रयोग गर्दा देउताको नाममा पहिले चढाउँछौं, वा सप्रेको जस भगवानलाई दिन्छौं बिग्रेको दोष चैं श्रमिकलाई दिन्छौं । जसको कारणले श्रम गर्ने श्रमिक, त्याग तपस्या र योगदान गर्ने समाजसेवी आदिले दोषै दोषको भारी बोक्दै हैरान हुने र नयाँ पुस्तामा त्यो योगदान र त्याग गर्न कोही तयार नहुने अवस्थामा पुगेको छ । त्यसैले यसको साँगोपाँगो विवेचना आजको खाँचो बन्न पुगेको छ ।
कारक के ?
यस्तो किन हुन्छ ? यसका मूल त दुई कारण प्रमूख मानिन्छ, पहिलो भौतिक वा बस्तुगत पक्षः दोश्रो आध्यात्मिक वा साँस्कृतिक पक्ष ।भौतिक पक्षको सवालमा धेरै चर्चा गरिरहनु जरुरी छैन किनकि सवैलाई थाहा छ, हाम्रो भूगोल, वातावरण, खानी खनीज, बन पैदावार, आदिले बिश्वको सम्मुन्नत देशहरुमा दरिन पुग्ने परिस्थिति हामीसंग बिध्यमान छ । तर हामी प्रयोग गर्दैनौं ! जव कुनै वस्तुलाई सकारात्मक प्रयोग गर्दैनौ, त्यसको रुपान्तरणमा ज्ञान बिज्ञान र कलाको संयोजन गर्दैनौं तव त्यो वस्तु जतिसुकै नयाँ बनेपनि मानव उपयोगी हुँदैन वा भएपनि न्यूनतम मात्र हुन्छ अधिकतम हुँदैन । तर जव त्यसको रुप वा सारको परिवर्तनमा ज्ञान बिज्ञान वा कला कौशलको बिधिसम्मत प्रयोग गछौं तव उक्त वस्तुले गक्ष र दक्षता अनुसार अधिकतम मानवउपयोगी संसाधनको रुपमा आफुलाई ढाल्छ । जस्तै जंगलको एउटा रुख ढल्यो वा काटियो … यदि त्यो रुख दाउरेको हातमा पर्दा चिरेर दाउरा बनाउँछ र बालेर खरानी ! त्यही रुख सिकर्मीको हातमा पर्दा झ्याल ढोका, निदाल, दलिन वा आवश्यक फनिचरका सामाग्री ! त्यही रुख एउटा कलाकारको हातमा पर्दा बिभिन्न मूर्ति, मकुण्डो, आलौकिक नमुनाहरु व साधारण मानिसले कल्पना नगरेका सजावट तयार गरिदिन्छन् । र कसैकोपनि हातमा परेन भने बर्षौ बर्ष घाम पानी माटोले त्यसलाई धमिराले खाएर नष्ट हुन्छ । त्यसैले हाम्रो समाज ब्यवस्थालाईपनि अधिकतम मानवउपयोगी बनाउन कस्को कस्तो नेतृत्व प्रदान गर्ने भन्ने कुराले अहम भूमिका निर्वाह गर्छ । तर हामी संधै भौतिकवाद होइन अध्यात्मवाद समात्छौं, कामलाई होइन कुरालाई बिश्वास गछौं, काम गर्नेमाथि दोषै दोष मात्र देखाएर अल्छि ठगलाई मौका दिइरहन्छौं । अर्थात “काम गर्ने कालु मकै खाने भालु” गरिरहन्छौं । दोष दिने बेलामा चैं “धान खाने मुसा चोट पाउने भ्यागुता” गरिरहन्छौं ।
नाच्न जान्दैन आँगन टेढो
देशको रुपान्तरणपनि यही हो । हामीसंग पानी छ, खेर जान दिन्छौं, कुलो कुलेसावाट सिञ्चाईमा ध्यान दिंदैनौं, बिजुली निकालेर त्यको अधिकतम सदुपयोग गर्न रुचाउँदैनौं । ढुँगा छ, त्यसलाई सदुपयोग गरि अनेकौं कला कृति र वस्तु निर्माणमा प्रयाग गर्दैनौं । खानी र खनिजहरु छन् त्यसको उत्खनन् प्रत्सोधन र जीवन उपयोगी तत्वमा रुपान्तरण गर्दैनौं वरु त्यसको बदलामा बिदेसी सामानको खपतमा पाईलैपिच्छे कमिसन मागेर ब्यावसायीलई हैरान पार्छौं । तर लोकतन्त्रले यो परम्परालाई पूर्ण रुपमा निषेध गर्न नसकेपनि थोरैमात्र भएपनि तोड्ने ढोका खोलेको छ । तैपनि उक्त छेकवार तोड्न कत्तिपनि साथ नदिने तर गक्ष अनुसार तोडेर नयाँ निकाश निकालेकोलाईपनि खाली पूर्ण नभएको मा खाली दोष मात्रै थोपरेर आफु साखुल्ले पल्टंदै आएको छ । आफुले साथ र योगदान नदिने, तर समाज रुपान्तरणमा चैं पूर्णता खोज्ने !
किनकि हामी बिज्ञानमा होइन बिकृत अध्यात्मको नाममा बिस्कुन जतिकै पसारीएका सामाजिक कुरितिहरुमा विश्वास गछौं । जसले हामीलाई अधिक जाडो वा गर्मीले टाउको दुख्दा झार फुक गर्न सिकाउँछ । फोहर बासी तासी खाना खाएर पेट दुख्दा जुठो चुरोटको खरानीले झारेको पानी खान वा कुचाले निधारदेखि पैतालासम्म झारेर फुक्न(झार फुक) गर्न सिकाउँछ । भोक वा कुपोषणले अथवा अन्य दिर्घ रोगले बाल बालिका बिकलाँग होस् वा रुञ्चे लागोस् अथवा हरियो बाँसको साहारा खोजोस् ! त्यस्तै खोरका गाई वस्तुले दुध नदिंदा होस्पल्लो वा सेत्तै आँखा पल्टार मुन्टो बटारोस् गाउँका निर्धा आईमाईलाई “बोक्सीको आरोप” लाउन सिकाउँछ । त्यसैले हामी सत्य देख्दैनौं, बोल्दैनौं वा मनमा गुन्नै सक्दैनौं, देखेपनि हजार संका काट्छौं र देखेको सत्यपनि काकताली परेर झुठो भईदिए हुन्थ्यो… भन्ने मन मनै कल्पना गछौं ! तर असत्य चैं आँखा चिम्लेर पत्याउँछौं र असतको पुजारीको एक बचनमा मसानमा सुत्न तयार हुन्छौं ।
बिज्ञान ले के भन्छ ?
बिज्ञानले जहाँ समस्या छ, त्यहीँ बिधिसम्मत उपचार गर भन्छ । अर्थात सामाजिक समस्याको हल अस्पतालमा ! शारिरिक समस्याको हल चोक चौतारोको कचहरीमा ! राजनीतिक समस्याको हल मठ मन्दिरमा ! नीति नैतिकता र आदर्शमा देखिएको समस्याको हल भट्टीपसल वा डान्स बारमा ! खोज्न सिकाउँदैन । जहाँको समस्या हो, त्यहिँ समाधानको उपाय खोज ! त्यो अधिकाधिक बैज्ञानिक र वस्तुवादी होस् भन्ने सिकाउँछ । तर अध्यात्म नामका कुरितीको भारी बोकेको मस्तिस्कले सत्य स्विकार्न तयार हुँदैन, आफुले आफैमाथि आत्मालोचना र समिक्षा गर्न तयार हुँदैन । बरु आफ्नो अकर्मन्यता, अज्ञानता वा अन्य प्रकारका कमजोरी अर्काको टाउकामाथि खन्याउन पाउँदा सन्तोषको आत्मरति लिन्छौं । किनकि हामी नेपाली हौं । र अझ ८३ पर्सेन्ट हिन्दु हौं ।
राष्ट्रनिर्माण कसरी हुन्छ ?
के यसरी नै राष्ट्रनिर्माण हुन्छ ? हुँदैन …..। ७ वा ८ दशकको अनुभवले त्यही बताउँछ । पटकैपिच्छे असफल बिधि, र बिधानमाथि चक्कर मार्दा निकास नभेट्ने जगजाहेर हुँदा हुँदै किन चक्कर मार्दै छौं त ? किनकि हामीलाई विकास चाहिएकै छैन ….। हामीलाई त … धर्म संस्कार संस्कृतिको तान्द्रो तान्नु छ । बिरासतको बिँडो धान्दै एकले अर्कालाई शब्दको पैटारोले हान्नु छ । देशी बिदेशी दान दक्षिणाको मर्म मुताविक कर्म गर्नु छ । शोषक सामन्त, दलाल नोकरशाह, तस्कर र माफियाहरुको हित रक्षार्थ दरभानी र कुल्ली गर्नु छ । देश जहाँसुकै पुगोस् आ–आफ्नो आग्रह र पुर्वाग्रह ओकलिएका शब्दको मर्म धान्नु छ । त्यो भन्दा धेरै आपसी खुट्टा ताना तान गर्दा पछाडि सरेको ईतिहासको चक्रको ईन्ची नाप्दै एकार्कामा टुप्पी गन्नु छ । त्यसैले हामी राष्ट्रनिर्माणको नाममा गालीखेति गर्छौ, शब्दकोष रित्तिनेगरी फुँदा गाँस्दै त्यसमा मल जल गर्छाैं ताकि .. अर्कौ पाली फेरी धारेहात लाउँदै बिपक्षीको कन्सिरी ठडिनेगरी गालीको गोली बर्षाउन सकौं । र यसैको नाममा हामी कमाउ धन्दा गर्छौ त कसैले यसैलाई “राष्ट्रनिर्माण” बुझ्दै हाम्रो अन्ध भक्त बन्न आउँछन् त हामी के गरौं ? थोडि हाम्रो दोष हो र ?
अनि राष्ट्र निर्माण के हो त ?
पृथ्वी नारायण शाहले गोर्खा राज्य बिस्तार गरेकै हुन्, नेपाल बनाएका होइनन् । उनले गण्डकी र कोशी बीचका राजा महाराजाहरुको गैर न्यायिक हत्या वा नरसंहार गरेर आफ्नो अधिनमा स्थानीय जनसमुदायलाई रैति बनाएका हुन्, दाशत्व स्वीकार्न लगाएका हुन्, नागरिक बनाएका होइनन् । त्यही काम उनको छोरा बहादुरशाहाले पुर्वमा कोशी पारी देखि तिष्टा र काँगडा सम्म आधिपत्य जमायो । पश्चिममा गण्डकी पारी देखि सतलजसम्म पुगे … अर्थात पृथ्वी नारायण शाहले भन्दा करिव चार वा पाँच गुना भूगोल बढी जोडिदिए । रजौटाको हत्या गरेर आफ्नो अधिनस्थ बनाउनेलाई राष्ट्रनिर्माता भन्ने हो भने बहादुर शाहलाई राष्ट्रनिर्माता भन्नुपर्ने हो, तर उनलाई राष्ट्रनिर्माता भनिएन बरु उनलाई दिगर्चा युद्धमा आर्थिक हिनामिना गरेको आरोप लाउँदै देश निकाला ग¥यो ।
यहाँपनि हाम्रो साँस्कृतिक बिरासतको पहलुको दृश्य देखिन्छ ! किनकि हामी हिन्दुत्वको प्रभुत्वशाली संस्कारमा हुर्कियौं । जसले काम गर्नेलाई जस कहिल्यैपनि दिन जान्दैन । बल्कि उसमाथि हजारौं दोष थोपर्दै उसलाई अपराधि नै सावित गराउने र काम चोर फटाहा लुच्चालाई देवत्वकरण गर्दै समाजलाई गतिहिन, निस्कृय, अल्छि, कुपमण्डुकहरुको झुण्ड बनाइरहेका हुन्छौं । त्यसैले त यो समाजले बाँचुञ्जेल आमा बाउलाई भुईमा सुताउँछ र चिसोले मरेका आमा बाउलाई चिसो नलागोस् भनेर “टुप्पि बाजे”लाई “पलङ्ग डसना दान” दिन सिकाउँछ । अर्थात “काम जान्ने दाश, कुरा जान्ने देव !” संस्कारमा छौं । जसले हामीलाई तथ्यको आधारमा सत्य खोज्न होइन, तथ्य लुकाएर असत्य आलौकिकता देखाउने कुतर्कको खोजी सिकाउँछ ।
सत्यको खोजी के हो ?
बिभिन्न धर्मले जति ढाँटेर आलौकिकताको बखान गरेपनि हामी लौकिक दुनियाँमा छौं । उनीहरुको सुन्दर बखानले ईह लोक वा परलोकको निम्ति श्वर्ग नर्क, बखान गरेपनि आजको दुनियाँ आकाश पातलको खोजीमा होइन, ग्रह उपग्रह, तारा र नक्षत्रहरुको खोजी र अनुसन्धानमा लाग्छन् । किनकि त्यहाँ जिवनको तथ्य छ, जगतको सत्य छ । त्यसैको खोजीले मात्र मानवीय आवश्यकताको आधुनिक श्रोत र साधनको जोह गर्न, त्यसको सम्वर्दन गर्न र मानवउपयोगी ढंगले सुसंस्कृत बनाउन सकिन्छ । स्वर्ग नर्क, वा आकाश र पातलको खोजीमा थुप्रै कथा हाल्न सकिएला, कुथुङ्ग्री कथेर एउटा समुदायले अर्को समुदायको मर्म माथि बचन बाण प्रहार गर्न सकिएला तर मानवउपयोगी ज्ञान बिज्ञानशोधन र प्रत्सोेधन गर्न सकिन्न । त्यसैले हामी भ्रममा बाँच्ने भए स्वर्ग नर्कको खोजीमा लाग्दै ब्रम्ह बिष्णु महेश्वर देखि महिशासुर जस्ता अनेकौं असुरहरुको कथ्यौरी हालौं र यमलोकको अकाट्य बाटोमा जाँदा परलोक सुधार्न बिभिन्न दैंत्यासुरहरुको बिपक्षमा उभिंदै ब्रम्हा बिष्णु महेश्ररको भक्त बनौं । होइन, हामी साँच्चैनै अघिल्लो पुस्ताको दुख दर्दको कदर गर्दै पछिल्लो पुस्ताको भविश्यलाई उज्वल बनाउने हो भने राष्ट्रनिर्माणको सवालमा नक्कली विम्वलाई देवत्वकरण गर्दै सक्कली राष्ट्रनिर्माण र राष्ट्रका जननी जनतालाई अपमान नगरौं । उनीहरुको श्रम र सिपलाई कदर गर्दै अझ सिर्जनसिल, अझ परिश्रमी, र अधिकतम सकृयताकासाथ लागौं, देश बिकास हुन्छ ।
श्रमिकको कदर नै विकास हो
यो देश पृथ्वी नारानले बनाए भन्नेहरुवाट जवाफ पाउँउनले पहाड बनाए ? हिमाल बनाए ? खोला खोल्सी र नदि बनाए ..?न त तराईका हरिया फाँट वा उपत्यका सन्दर बनाओट नै बनाए ….? पृथ्वी नारायणले बनाए चैं के ? जे छ त्यो प्रकृतिको देन हो, कसैको बाहुवलीवाट बनाएको वा बनाउन सक्ने जिनिस होइन । पुर्वदेखि पश्चिम सम्मका परम्परा, संस्कृतिक बिरासत, चालचलन्, ऐतिहासिक धरोहर के बनाए उनले ? उनले बनाए चैं के ? तैपनि उनको अन्धभक्तीले साँच्चीकै राष्ट्र निर्माता नेपाली जनताको खसोखास अपमान र अबमूलयन गरेको छ । कृर्तिम देवी देवताको मान गर्दै गर्दा प्रकृतिक श्रमसिलहरुको अपमान भएभैंm पृथ्वी नारायणलाई राष्ट्र निर्माता भन्दै गर्दा यहाँको संस्कृति निर्माण गर्ने आदिवासी जनजाति, कला कौशलको जगेर्णा गर्ने कलाकार, बाध्यवादक, सिर्जनाकार, मुर्तिकार वास्तुकला, काष्ठकला, मुर्तिकला, मात्र होइन अन्न उमार्ने किसान, जुत्ता, लुगा बनाउने शिल्पी, कालिगड, लगायत हजारौं वस्तु उत्पादनका श्रमिकहरु जसले यो देशको रुपान्तरणमा यहाँसम्मको भूमिका निर्वाह गरे र अझैपनि उनका सन्तान दरसन्तानले हर क्षणमा राष्ट्रिनिर्माणका खातिर आफ्नो तर्फवाट योगदान गरिरहेका हुन्छन् । लगायत हजारौं अवयवका वास्तविक प्राधिकारीहरु अपमानको घुट्को पिईरहेका हुन्छन् । सवैलाई थाहा छ पिडाको आँसु बगिरहँदा ओठमा मुस्कान छाउँदैन, श्रमिकको अपमान हुँदा हुँदै नयाँ सिर्जना सम्भव छैन ।
बजारशाष्त्रको ज्ञान हुने सवैलाई थाहा छ जव श्रमले मूल्य पाउँदैन तव उत्पादन ओरालो लाग्छ । राष्ट्रनिर्माताको रुपमा पृथ्वी नारायणलाई देवत्वकरण गर्दै गर्दा साँचो राष्ट्रनिर्माता अपमान र हिनताबोधको सिकार बन्नपुग्छ र देशले दुर्दशा भोग्छ । करिव २५० वर्ष मध्युगिन बर्वरताको साँचो कथा यही हो । त्यस्तै जनयुद्धको आँधिमय रुपान्तरण यत्रालाई पनि अवमूल्यन गर्याै र त्यसको उपलब्धिहरुलाई हलुका सस्तो मस्तो ठान्ने प्रबृत्तिले देशको स्वाधिनता र समृद्धी आउने बाटोमा काँडे तगारोको काम गर्ने र पाईलैपिच्छे कोतर्ने घोच्ने बिजाउने हुँदै अवरोध मात्र सिर्जना गर्ने कुरा नबिर्सौ । तर हामी नेपाली र अझ हिन्दुत्वनै हाम्रो संस्कार भएकोले नशा नशामा ‘‘काम गर्ने दाश र कुरा गर्ने देव” बनाउने चलन छ । किनकि हामी श्रमसिल कुमारलाई तिरस्कार गर्दै अल्छि, ठग, कामै नलाग्ने गफाडी गणेशलाई पुज्ने संस्कारमा हुर्केका छौं ।
भ्रष्ट नैतिक धरातल नै अविकासको कारक
देश बिकासको अर्को बाधक तत्व भ्रष्टाचार हो । भ्रष्टाचारको सैद्धान्ति र प्रशासनिक बिवेचना पछि गरौंला यहाँ साँस्कृतिक विवेचना गरौं । हिन्दु समाजश्रममा भन्दा भन–सुन र स्तुतिगानमा बिश्वास गरिन्छ । काम सफल भएपनि श्रम गरेर सफल भएको नमानी भगवानको प्रताप मानेर धुप दिप र नैबेद्य देउताको नाममा खर्चने ! अथवा काम सुरु गर्नु भन्दा अगाडिपनि सुरुमै भाकल गर्र्दै मठ मन्दिर धाउने प्रचलन छ । अर्थात लौकिकश्रममा भन्दा धर्मको नाममा आलौकिक दुनियाँको झुठमुठको दुनियाँ शयर गराउने र त्यसवाट दान दक्षिणा लिने प्रचलनले हिन्दुत्व धानेको छ । अर्थात यति काममा दैवको प्रताप भएमा म कालो बोका, भाले, हाँसको वा कुखुराको जोडी अण्डा चढाउँछु, भन्दै भगवानलाई समेत घुस ख्वाउने प्रचलन नै हिन्दुत्वको मर्म हो । अनि हाम्रो समाजमा भ्रष्टाचारको अन्त्यको परिकल्पना कसरी सम्भव हुन्छ ?जव हामी यो सत्यओकल्छौं तव धर्म संस्कार भत्काएको आरोप खेप्नु पर्छ । धर्म संस्कार जोगाउने नाममा मध्ययुगिन बिपन्नता भोग्न कति कति लालायीत भएका छौं ?
दान दक्षिणा नामको घुसका पनि परिकार
उनीहरुको दान दक्षिणाका पनि छुट्टै मेन्यू छ । मृत्यु कर्ममा पढिने गरुडपुराणमा त्यसको आधिकारिक विवरण पाईन्छ । थोरै दान दिंदा के हुन्छ ? धेरै दान दिंदा के हुन्छ ? भाँडा कुँडा, वडने ओक्ष्याउने, खाट दराज, सुन दान वा भूदानको गाथा राम्रै ब्याख्या गरेको छ । भागवत गीता वा अन्य धर्मग्रन्थका धेरै ठाउँमा ब्रम्ह बिष्णु महेश्रवरको पुजा बिधि र त्यसको महत्वको बिषयमा उल्लेख छ । के के हुँदा ब्रम्हालाई सम्झने वा पुजा गर्ने ? के के गर्नको निम्ति बिष्णुलाई सम्झने वा पुजा गर्ने ? के के को निम्ति महेश्रवरको आराधाना वा पुजा गर्ने भन्ने साँस्कृतिक नालिवेलीहरु छन् । यि सवैले समाजलाई श्रममा दत्तिचित्त भएर कर्म गर्न भन्दा झुठ मुठको कथ्यौरी कथ्ने पुरेतलाई दानदक्षिणा जानेगरि कथित धर्म गर्न सिकाउँछ ।
यसो गर्दा जव मानिसले आफ्नो लक्ष हासिल गर्दैन, सोचेको कामना पुरा हुँदैन, तव फेरी दिन दशा र भाग्यफल हेर्ने ज्योतिष वा त्यस्तै ठगहरुको कमाउ धन्दाको चक्करमा पर्छन् । एकाध माना चामल, केही फलफुल थोरै धेरै दक्षिणा राखेर भाग्य रेखा खुट्याउन भौतारिन्छन् । यसरी आफ्नो काम पुरा गर्नको निम्ति भगवानको नाममा समेत घुस खाने वा खुवाउने प्रचलन बोकेका हामी कसरी चुट्कीको भरमा भ्रष्टाचारमुक्त सफेद बन्न सक्छौं ?
हामी सक्तिपुजक कि सत्य ?
त्यसमापनि हाम्रो संस्कार सत्य पुजक होइन शक्ति पुजक बनाएको छ । त्यसैले यो संस्कारले हामीलाई निष्ठामा आधारीत नवनाइकन भनसुन र पाहुँचमा आधारित न्याय प्रणालीको जग बसालेको छ । जस्तै हामी हिन्दुत्वको छत्र छायाँमा छौं, हिन्दुत्वको आराध्यदेव जम्मा तीनजना हो । १. ब्रम्ह, २. बिष्णु, ३. महेश्वर सवैलाई याद छ, ब्रम्ह सृष्टिकर्ता जसको एउटैपनि मूर्ति पाउँदैनौं कतै कथ्यौरीहरुमा चत्रुमुखी भनिएको बाहेक त्यसको वास्तवीक आकृति कसैलाई थाहा छैन, कतै मूर्तिपनि राखिएको छैन । त्यस्तै बिष्णुलाई पालनकर्ताको रुपमा हामीलाई बुझाईयो । तैपनि उनको वास्तविक मूर्ति कहिँ पनि पाउँदैनौं । भएको ठाउँमा पनि बिष्णुको रुपान्तरीत अवतारको मूर्ति पाउँछौं, कतै राम कतै कृष्ण, कतै नृसिं, कुतै पिपलको रुख, तुलसीको मठ वा नारायणथान आदि आदि विष्णुको वास्तविक मुर्ति कहिँपनि दखिँदैन ।
तर महेश अर्थात महादेवको मूर्ति जतासुकै पाउँछौं किनकि उनी संहार कर्ता हुन् उनी नंदी भृंगी, भूत प्रेत पिचासगण सहित लिएर हिड्छन् । उनको तेश्रो आँखा मात्र खुल्नेबित्तिकै सवै भष्म गर्न सक्थे । त्यसैले उनको रौद्र रुप देखेर देव दानव भूत प्रेत नंदी भृंगी सवै थर्कमान हुन्थे । उनको आग्रहाई तिरस्कार गर्न नसक्ने कोही थिएन, उनको आज्ञा सिरोपर नगरेको बहानामा गोमा ब्राम्हणीले दुख पाएको मात्र होइन, दक्ष प्रजापतिले बोकाको टाउका भिरेर हिड्नुपरेको दृष्टान्त दिन्छन् । त्यसैले उनको तागतको सामु नतमस्तक हुँदै उनैलाई सर्वमान्य बनाउँदै आजसम्मपनि उनको मूर्ति जतासुकै पाईन्छ । त्यसमापनि उनको टाउकाको होइन, जिउको होइन, खुट्टाको पनि होइन, उनको तुरीको मूर्ति यत्र तत्र पाईन्छ र त्यसैमा दुनियाँले ढोग्ने संस्कार बनेको छ ।
त्यस्तै नेपाल र नेपालीले मान्दै र मनाउँदै आएको महान, बडा वा बिजया भन्दै राज्यले जवर्जस्त थोपर्दै आएको दशैं पनि सत्यमा आधारित चाड नभई शक्तिपुजामै आधारित चाड हो । त्यहाँ पुजिने ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मि, त्रिपुरासुन्दरी नौवटै पिठहरु सत्यपिठ होइन शक्तिपिठहरु हुन् । तिनिहरुका असामाजिक कुकृत्यहरुको विवेचना पछि गरौंला । आजलाई यत्ति गरौं कि हिन्दुत्वको अस्तित्व बिभेदकारी अत्याचारलाई कायम गर्न शक्ति र जालझेलमै टिकेको छ ।अर्थात हाम्रो संस्कृति सत्यमाथि होइन शक्तिमाथि भरोसा वा बिश्वास गर्ने परम्परा साँस्कृतिक रुपमा नै बस्दैआएको छ । त्यसैले जहाँ सत्य पुजीँदैन, तथ्यमाथि ध्यान नदिइ झुठ मुठको बकवासमै रमिता मान्दछ, त्यस्तो देशमा वस्तुगत आवश्यकता मुताविकको परिवर्तन धेरै गाह्रो छ ।
र अन्त्यमा …
त्यसैले ….. विकास एकाध ब्यक्तिहरुको हुट–हुटीको विषय होइन । त्यो अमुक मान्छेको ब्यक्तित्व दर्शाउने स्टण्टवाजीपनि होइन । वा त्यो कुनै भवानको कृपावाट पाईने चमत्कारपनि होइन ! विकास त दुनियाँको लागि दुनियाँ नै लागेर त्यहाँ भएको आत्मगत र वस्तुगत औचित्यमुताविकको पुरानोको ठाउँमा नयाँको प्रतिस्थान हो । जो अघिल्लो भन्दा उन्नत र सवल हुन्छ । तर हाम्रो साँस्कृतिक बिडम्वना यहाँपनि देखिन्छ, हामी महान त्यगत पस्या र अनुसन्धानको बलवाट आएको चिजलाई वरदान वा चमत्कारिक रुपमा सित्तै पाईयो भन्ने सम्झन्छौं भने श्रम गर्ने सिप भर्ने र त्याग तपस्याको विरासत बोक्नेलाई बिनासित्तैमा समय खर्चेको, सामाग्री खर्चेको वा नगद–जिन्सीको सत्यानाश गरेको भन्दै सत्तो सराप गर्न तल्लिन हुन्छौं । जसको कारणले श्रमिकले श्रमको मूल्य नपाउने र नयाँ उपार्जन गर्ने जाँघर नचल्ने हुँदै आएको छ । यसको रुपान्तरण गरि तथ्यको आधारमा सत्य खोज्ने, र तथ्यलाई सिर्जनशिल उन्नति र विकास गराउन ईमान्दार ईच्क्षाशक्ति देखाउने र त्यसलाई दृढताकासाथ अगाडि बढाउने हिम्मत भएकाले मात्र देशको स्वाधिन सवल र सम्मुन्नत बनाउन सक्छ । किनकि राष्ट्रोन्नती कुनै अमुक कोठामा गरिने चियागफ होइन । यो ब्यवहार पद्धति र सिद्धान्तको सार्थक प्रयोग हो । यो अदृश्य संकेत वा ईसारा होइन दिन दहाडै देखिने भौतिक रुपान्तरणको प्रकृया हो ।दृश्यभौतिकता छोडेर अदृश्य आलौकिकताको खोजी केवल समय कटाउने मेसो हो, जीवन र जगत परिवर्तन गर्ने मार्ग होइन । हामी काल्पनिक श्वर्ग र नर्कको खोजीमा जीवन निस्कृय, बेकामी वा कलुषित बनाउनु भन्दा बाँचुञ्जेल सिर्जनशिल, सार्थक श्रममा लाग्दा नै राष्ट्रोन्नतीको मार्ग खुल्छ, धर्म संस्कार वा चाल–चलनको नाममा हामी पछाडि होइन अगाडि बढौं, बिकास समृद्धी र स्वाधिनताको मार्गमा अघि बढ्न सकिन्छ ।
धन्यवाद