काठमाडौं, मंसिर २४ गते ।
प्रधानता मिडियाले शनिबार काठमाडौंमा ‘नेपालको राजनीति, निर्वाचन परिणाम र जनताको राजनीतिक प्रवृत्ति’ विषयक विश्लेषणात्मक छलफल कार्यक्रम सम्पन्न ग¥यो । उक्त कार्यक्रममा विभिन्न सवालहरु उठान गरिएका थिए ।
१. वंश परम्पराको राजनीति गर्नेलाई जनताले के भने ? २. सत्ता/निर्वाचनको राजनीतिमा दलीय सीमारेखा कति मिचियो वा मिचिएन ? ३. जनता राजनीतिक दलहरुको पञ्जाभित्र रहेछन् कि स्वतन्त्र निर्णय गर्दा रहेछन् ? ४. आन्दोलनको राजनीति भन्दा जनताले डेलिभरीको राजनीति खोजेका हुन् कि होइनन् ? ५. निर्वाचन राजनीतिमा बाह्य वा भित्री चलखेल त्यस्तो केही देखियो ? ६. क्षेत्रीय राजनीति के हुने भयो ? ७. वैकल्पिक राजनीतिको संकेत मत परिणामले देखायो त ? ८. अर्कै क्षेत्रमा बनेको लोकप्रियता राजनीतिक सफलताको मानक बन्छ र ? ९. धर्मका आधारमा गरिने राजनीतिप्रति जनताको के प्रतिक्रिया देखियो ? १०. पुराना राजनीतिक दलहरुको जरा उखेल्न खोजियो कि झन जरा गाडियो ? ११. भोट हाल्दा जनताले विचार/एजेण्डा कि दैनिक सरोकारका विषयलाई ध्यान दिए ? १२. नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकास वा रुपान्तरण हुने भयो त ? १३. निर्वाचन परिणामले संस्थापन राजनीतिलाई चुनौति खडा ग¥यो वा गरेन ? १४. जातीय राजनीति के हुने भयो ? १५. जनताले पुराना पार्टीहरुप्रति आक्रोश कसरी व्यक्त गरे ? कि गरेनन् ? १६. युवा जनमत कतै सस्तो लोकप्रियताको शिकार त भएन ?
कार्यक्रम पूर्वमन्त्री कल्पना धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । विभिन्न पार्टी र क्षेत्रका व्यक्तित्वहरुले उठान गरिएका सवालहरुमा केन्द्रित रहेर आफ्नो भनाई राख्नु भयो । नेपालको राजनीति कति परिपक्व भयो त ? भन्ने सवालमा वक्ताहरुले आ–आफ्नो निष्कर्ष प्रस्तुत गर्नु भयो ।
कल्पना धमला
पूर्वमन्त्री तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य कल्पना धमलाले राजनीतिक दलहरुले व्यवस्था परिवर्तन गर्न गरेको योगदानको अनुभूति जनतालाई गहिरोसँग गराउन नसकेको बताउनु भयो । देशको व्यवस्था परिवर्तन गर्नेहरुले नै अवस्था बदल्न सक्छन् । फेसबुक लगायतका सामाजिक सञ्जालमा गालीगलौज गर्नेहरुलाई भोट दिने हो भने राजनीतिले गलत बाटो लिन्छ । राजनीति भनेको निरन्तरताको विषय हो । निर्वाचनको बेलामा मात्रै उठेर राजनीति हुँदैन । गैरराजनीतिक मान्छेको हातमा राजनीति जान दिनु गलत हो । जनताले भोट हाल्ने बेलामा आक्रोश मात्रै व्यक्त गर्ने होइन कि विवेक पनि प्रयोग गर्नुपर्छ । राजनीतिमा युवा पुस्ता आउनुपर्छ । तर, युवापुस्ता पनि बहकाउमा पर्नु हुँदैन । युवाहरुलेपनि राजनीतिमा अनुभव संगाल्नु पर्छ । राजनीतिक युवाहरुलाई राजनीतिमा स्थान दिनु पर्छ । गैरराजनीतिक युवाहरुलाई छान्नु हुँदैन । राजनीतिमा असंगठित मान्छेहरुको प्रवेशले परिणाम दिँदैन । दश वर्षे जनयुद्धले ल्याएको परिवर्तनलाई नजरअन्दाज गर्नु गम्भीर गल्ती हुन्छ । राजनीतिक दल, राजनीतिकर्मी र जनता सबैले आ–आफ्नो ठाउँमा सही भूमिका खेल्नुपर्छ । राजनीतिक दलहरुले नयाँ पुस्तालाई पर्याप्त ठाउँ दिँदै जानुपर्छ । निर्वाचन परिणामलाई हेर्दा राजनीति परिपक्व हुन अझैँ बाँकी रहेछ । नागरिक समाजको भूमिका पुगेको छैन ।
बाबुराम कोइराला ‘बासु’
नेपाली कांग्रेसका नेता बाबुराम कोइराला ‘बासु’ ले वंश र धर्मको आधारमा गरिने राजनीतिले समस्या पैदा गर्ने बताउनु भयो । संसदमा त्यस्ता मान्छेहरुको बाहुल्यता भएमा प्राप्त उपलब्धीहरु गुम्ने खतरा हुुन्छ । धर्म, वंश, क्षेत्र र जातलाई आधार मानेर गरिने राजनीतिले लोकतान्त्रिक व्यवस्थालाई क्षति गर्छ । ठूला र पुराना दलहरुले जनताको मनोभावना र देशको अवस्थालाई ध्यान दिएर राजनीति गर्नुपर्छ । राजनीतिक दलहरुबीच सकरात्मक व्यवहार र चिन्तन हुँदै जानु राम्रो हो । गठबन्धनको बारेमा सही ढंगले जनतालाई बुझाउन नसकेका कारण अपेक्षित परिणाम आएन । त्यसमा दलहरु चुके । युवाहरुलाई रोजगारी दिने कुरामा स्पष्ट भिजन सहितको कार्ययोजना जरुरी छ । कर्मचारीतन्त्रलाई जनमैत्री बनाउन पनि राजनीतिक दलहरु चुकेका छन् । भ्रष्टाचारलाई नियन्त्रण गर्न नसक्दा राजनीतिक दलहरुप्रति जनताको वितृष्णा बढेको हो । आज र भोलिका युवा पुस्तालाई लक्षित गरेर राजनीतिक दलहरुले काम गर्न सक्नुपर्छ । पाँच वर्षमा एक दिन भोट माग्न आउने भन्दै जनताले आक्रोश व्यक्त गर्ने गरेका छन् । दलहरु यस सम्बन्धमा सचेत हुनुपर्छ । अग्रजहरुको मार्गदर्शनका आधारमा युवाहरुलाई राजनीतिमा संगठित गर्नुपर्छ । व्यवस्था बदल्ने राजनीतिक दलहरुलाई विस्थापित गर्ने कुनै सम्भावना छैन । आजको राजनीतिक उपलब्धीलाई ध्यानमा राखेर युवा पुस्ताले पनि भूमिका निर्वाह गर्नुपर्छ । क्षेत्रीय र जातीय राजनीतिको भविष्य छैन । दलहरुले जातीय र क्षेत्रीय विषयलाई ठिक ढंगले सम्बोधन गर्न नसक्दा समस्या देखिएका मात्रै हुन् ।
देवेन्द्र पराजुली
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य देवेन्द्र पराजुलीले राजनीतिक दलहरुभित्र भएका विकृति र विसंगतिकै कारण जनतामा वितृष्णा पैदा भएको बताउनु भयो । राजनीतिक दलहरुप्रति जनताको गुनासो छ । उनीहरु राजनीतिक दल र उनीहरुको नेताहरुलाई राम्रो भनिरहेका छैनन् । व्यवस्था बदल्ने संघर्षमा अब्बल ठानिएकाहरु जनताको अवस्था बदल्ने काममा भने चुकेकै हुन् । त्यसलाई सुधार गर्नुपर्छ । निर्वाचन परिणामले सोही आक्रोशलाई देखाएको छ । संस्कार सहितको राजनीति गरिनुपर्छ । तिकडम र छलकपटको राजनीतिले जनता आक्रोशित छन् । राजनीतिक स्थिरता जनताको चाहना हो । तर, झनै राजनीतिक अस्थितरता बढ्ने संकेत देखिन्छ । अबको बाटो समाजवादकै हो । देशलाई सोही दिशामा लैजानुपर्छ । पुराना नेताहरुले बिदा लिनुपर्छ । एउटै मान्छे पटक–पटक चुनावमा उठ्नु हुँदैन । सबै पार्टीका शीर्ष नेताहरुले ठाउँ ओगटी रहनु हुँदैन । सधँै मन्त्री र प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने प्रवृत्तिले जनतामा वितृष्णा पैदा भएको छ । त्यसैले जनताले गैरराजनीतिक व्यक्तिरुलाई भोट हालेका हुन् । देशको विकास र समृद्धिका लागि राजनीतिक स्थिरता जरुरी छ । अस्थिर राजनीतिले झनै जनतामा वितृष्णा पैदा गर्छ । जनताको व्यवहारिक समस्यासँग राजनीतिलाई जोड्नुपर्छ ।
अमृत पुरी
नेपाल समाजवादी पार्टीका नेता अमृत पुरीले राजनीतिक दलका नेताहरुले हेलचेक्राई गरेकै कारण जनतामा वितृष्णा पैदा भएको बताउनु भयो । गाउँमा जनताले सरसल्लाह गरेर मात्रै मतदान गरेको देखियो । तर, शहरमा भने हल्लाको भरमा मतदान गरेको पाइयो । कठिन संघर्षबाट आएका नेताहरुले धरातल छोडेकै कारण राजनीतिमा समस्या पैदा भयो । ०७ सालदेखि भएका विभिन्न आन्दोलन र संघर्षमा धेरैले सहादत प्राप्त गरे । जेलनेल भयो । जनताले महशुस गर्नेगरी विकासका काम नहुँदा दलहरुप्रति जनता नकारात्मक भएका हुन् । राजनीतिमा डनवाद र धनवाद हावी हुँदा राजनीति विकृत भयो । साँचो अर्थमा राजनीतिलाई समाजवादको दिशामा लैजानुपर्छ ।
राम कुमार पुरी
नेपाल समाजवादी पार्टीका नेता राम कुमार पुरीले समाज विकास पूर्ण रुपमा नभएका कारण दलीय रेखा पूर्ण रुपमा नमिचिएको बताउनु भएको छ । जनतालाई दलीय पञ्जाबाट बाहिर निस्कन समय लाग्छ । निर्वाचनमा भित्री चलखेल भएको बताउनु भयो । क्षेत्रीय राजनीतिलाई जनताले स्वीकार्दैनन् । वैकल्पिक राजनीति जनताले खोजेका छन् । पुरानो तरिकाले हुँदैन । अन्य क्षेत्रको सफलता राजनीतिक सफलताको मानक बन्दैन । धर्मको आधारमा राजनीति गर्नेहरु सफल हुँदैनन् । पुराना राजनीतिक दलहरुले नै देशको समृद्धिको नेतृत्व गर्न सक्छन् । जनताले विकल्प खोजिरहेका छन् । युवाहरु राजनीतिमा आएपनि सुझबुझका साथ आएका छैनन् ।
महेन्द्र शाही
नेपाल समाजवादी पार्टीका नेता महेन्द्र शाहीले मध्यपन्थी, वामपन्थी र हामपन्थी छुट्टिनुपर्ने बताउनु भयो । जनतामा राजनीतिक दलहरुप्रति आक्रोश पैदा भएकाले मत अन्यत्रै गएको हो । आक्रोशको अभिव्यक्तिलाई आधार मानेर राजनीति पूरै बिग्रियो भन्न मिल्दैन । जनताका समस्याहरुको सम्बोधन गरिनुपर्छ । पुराना पार्टीहरुले आफूलाई सच्याउँदै लगेमा उनीहरुप्रति जनता सकारात्मक हुन्छन् । जनताले आफ्नो दैनिक सरोकारको विषयलाई मात्रै ध्यान दिन्छन् । जनता सचेत हुँदै गएका कारण स्वनिर्णय गर्न सक्ने अवस्थामा विस्तारै पुग्दैछन् । जातीय र क्षेत्रीय राजनीतिले दीर्घकालीन रुपमा फाइदा गर्दैन । वैकल्पिक राजनीतिको आधार स्पष्ट देखिएको छैन । वंश पराम्पराको राजनीतिको भविष्य छैन ।
लालध्वज नेम्वाङ
नेपाल समाजवादी पार्टीका नेता लालध्वज नेम्वाङले राजनीतिक उपलब्धीहरु पूर्ण रुपमा संस्थागत भइनसकेका कारण राजनीतिमा अस्थिरताको खतरा पैदा भएको बताउनु भयो । जनताले विचारको बहसभन्दा पनि विकासका कुरालाई नै ध्यान दिएको पाइयो । युवा पुस्ता विचार र एजेण्डा भन्दापनि सामाजिक सञ्जालको भरमा चलेका छन् । दलहरुले जनसरोकारका विषयलाई राजनीतिक एजेण्डा बनाउनुपर्छ । मुख्यतः दलहरु सुध्रिनुपर्छ । राजनीतिक दल र नेताहरुले विगतमा के गरे भन्दा पनि आज के गरे भन्ने प्रमुख कुरा भएको छ । युवाहरुलाई राजनीतिमा व्यवस्थित ढंगले ल्याउनुपर्छ ।
डीबी लिम्बू
नेपाल समाजवादी पार्टीका नेता डीबी लिम्बूले पुस्तान्तरणको विषयलाई जोडतोडका साथ उठाउनु भयो । पुस्तान्तरण सहज नहुँदा राजनीतिमा समस्या पैदा भएको हो । राजनीतिमा आएका नयाँहरुले हिन्दू राज्य खोजेको आभास हुन्छ । पार्टीका शीर्ष नेताहरुले अन्य नेताहरुलाई स्थान खाली गरिदिनुपर्छ । धेरै बोल्ने र रिसाउनेहरु यो निर्वाचनमा धेरैले हारे । जनता आज राजनीतिक दलहरुको पञ्जामा नभई स्वतन्त्र निर्णय गर्न थालेका छन् । गठबन्धनका दलहरुको भोट घण्टीले पायो । महानगर र उपमहानगरका जनता राजनीतिक रुपमा बढी सचेत भएकाले स्वतन्त्र रुपमा निर्णय गरेका छन् ।
श्रीराम खाइजु
नेपाल समाजवादी पार्टीका नेता श्रीराम खाइजुले सक्षम युवाहरु राजनीतिमा आउनुमा वंशको राजनीतिको कुनै सम्बन्ध छैन भन्नु भयो । बोल्नेको पिठो बिक्छ भने जस्तै सही कुरालाई जनताको बीचमा लैजान सक्नुपर्छ । संघीयताको विषयलाई व्यवस्थित ढंगले बहसमा लैजानुपर्छ । व्यक्तिको दोष व्यवस्थालाई लगाउनु गम्भीर गल्ती हो । देशमा केही भएन भनेर अतिवाद प्रकट गर्नु गल्ती हो । जे प्रगति भएको छ त्यसलाई स्वीकार्नु पर्छ । नभएको कुरालाई नभएको भन्नुपर्छ । पश्चगामीहरुले केही भएन भनेर हौवा फैलाएका छन् । त्यो ठिक होइन ।
राजकुमार कोइराला
नेपाल समाजवादी पार्टीका नेता राजकुमार कोइरालाले अन्य क्षेत्रमा क्षमता बनाएकाहरुले राजनीतिमा प्रत्यक्ष संलग्न हुनु ठिक नभएको बताउन भयो । आफ्नो विज्ञता सम्बन्धित क्षेत्रमा प्रयोग गर्नुपर्छ । एउटा क्षेत्रमा ज्ञान र अनुभव बनाएकाले राजनीतिमा सफलता हासिल गर्छन भन्ने छैन् । मतदाताहरुले मतदानको बेला उच्चतम् बिबेक प्रयोग गर्नु पर्छ । मतदाताले ठिक बेठिक छुट्याउन सक्नुपर्छ । आक्रोश र आग्रहको ठाउँमा विवेकको प्रयोग गर्नुपर्छ ।
रेवती दाहाल
नेकपा माओवादीका नेता रेवती दाहालले राजनीतिक दलहरुले डेलिभरी दिन नसकेकै कारण जनता रिसाएका बताउनु भयो । व्यवस्था बदल्न संघर्ष गरेको माओवादीले विकास र समृद्धिको नेतृत्व गर्नु पर्ने हो । उ पनि यसमा चुकेको छ । राज्यका अंगहरु परिणामुखी हुने गरी क्रियाशील छैनन् । भ्रष्टाचार र बेतिथि व्याप्त छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा व्यापक सुधारको खाँचो छ । जनताको दैनिकीसँग जोडिने राजनीति गरिनुपर्छ । वैकल्पिक शक्ति अझै आएको छैन । युवा पुस्ता सुझबुझका साथ राजनीतिमा आउन जरुरी छ ।
तेज श्रेष्ठ
नेपाल सामाजवादी पार्टीका नेता तेज श्रेष्ठले वंश परम्पराको राजनीति अब सम्भव नभएको बताउनु भयो । राजनीतिक दलहरुले परिणाममुखी काम गर्न नसक्दा र सत्तामा पुगेकाहरु मोजमस्तीमा बसेका कारण जनताले वंश आधारित राजनीति नै ठिक हो कि भनेका मात्रै हुन् । आजको दुनियाँ वंश आधारित राजनीतिको कुनै भविष्य छैन । दलभित्र सिण्डिकेट छ । दलहरु सुध्रिएको खण्डमा राजनीति सफा हुँदै जान्छ । जनतालाई चिढ्याउने खालको राजनीति बन्द गर्नुपर्छ ।