कसले हाँक्ला अलकायदाको भावी नेतृत्व ? यस्ता छन् जवाहिरीका सम्भावित उत्तराधिकारी

 

एजेन्सी
कायरो, १७ साउन

अतिवादी समूह अलकायदाको नयाँ प्रमुखमा सेफ अल–अदेल चयन हुन सक्ने अनुमान गरिएको छ । अल कायदाका नेता आयमान अल जवाहिरीको हत्यापछि उनको उत्तराधिकारीमा अदेलको सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जवाहिरी अमेरिकी ड्राेन हमलामा अफगानिस्तानको राजधानी काबुलमा मारिएका थिए । मिडल इस्ट इन्स्टिच्युटका अनुसार सेफ अल–अदेले अलकायदाको नेतृत्व हाँक्ने सम्भावना छ । अमेरिकी गुप्तचर एजेन्सीहरूका अनुसार इजिप्टका पूर्वसैन्य अधिकारी अदेल अल कायदाका संस्थापक सदस्यसमेत हुन् । सन् १९८० को दशकमा उनी पूर्वअतिवादी समूह मक्ताब अल–खिदमतमा संलग्न थिए ।

उनले सो अवधिमा बिन लादेन र अयमान अल–जवाहिरीलाई भेटे र उनीहरूको समूह इजिप्टियन इस्लामिक जिहाद (ईआईजे)मा सामेल भएका थिए । उनले सन् १९८० को दशकमा अफगानिस्तानमा रुसी सेनासँग पनि लडेका थिए । अदेल कुनै समय ओसामा बिन लादेनका सुरक्षा प्रमुख पनि थिए । उनी सन् २००१ देखि एफबीआईको मोस्ट वान्टेड सूचीमा छन् । अमेरिकाले उनको बारेमा जानकारी दिनेलाई १० मिलियन डलर पुरस्कार घोषणा गरेको छ । जवाहिरी अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका थिए  । अमेरिकी कारबाहीमा जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।

इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए । उनी अमेरिका मा सेप्टेम्बर ११ को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो । सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए । त्यसपछि  उनले अलकायदा समूहलाई हाँकेका थिए । अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो ।यसैबीच, जवाहिरीको हत्याको अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले स्वागत गरेका छन् । दोषीलाई न्याय मिलेको ओबामाले टिप्पणी गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *