काठमाडौं, जेठ १४ गते ।
कसैले सिकाइलाई आवधिक रुपमा प्रयोग गर्छन् । फुर्सदको समयमा पढ्ने हो भन्ने मान्यता पनि छ । फुर्सदको समयलाई सिकाइमा प्रयोग गर्ने भन्नेको तप्का पनि छ । फुर्सदमा उसले किताब किन्छ वा सिकाइका साधनको प्रयोग मार्फत सिक्छ । कतिपयको सिकाई जानकारी लिनमा केन्द्रित हुन्छ । धेरै aकुरा जान्नुमा उसले सन्तुष्टि लिन्छ । कतिपयले पढाइलाई माथिल्लो कक्षा चढाइमा सिमित गर्छन् । यो टेन्डेन्सी नेपालमा व्याप्त छ । जीवनभर सिक्ने कुरा चाहिँ केहीको घरानीया चलन जस्तो रहेको पाउन सकिन्छ । नेपालका अति थोरैले सिकाइलाई जीवनपद्धति बनाएको देखिन्छ ।
नेपाली समाजमा सिकाइलाई निरुत्साहित गर्ने एक ठूलो रोग व्याप्त छ । मुख्य कुरा पैसा कमाउने हो । पढेर के हुन्छ ? पैसा भए सबैकुरा प्राप्त हुन्छ भन्ने जताततै सुन्न पाइन्छ । पैसामुखी मनोवृत्ति सिकाइको मुख्य बाधक हो । अध्ययनशील मान्छेसँग पैसाको अभाव हुने सम्भावना अधिक हुनपनि सक्छ । सिकाइसँगै पर्याप्त द्रव्यको प्राप्ति हन्छ भन्ने छैन । डेनिस विट्लेको जीवनभर सिक्नुहोस् भन्ने कुरालाई नमान्नेको ठूलो संख्या छ ।
निरन्तर सिकाई कुनैपनि क्षेत्रमा ज्ञानको न्यूनतम आवश्यकता हो । उनको अनुसार निरन्तर सिकाई मानसिक अभ्यास हो । यसले मान्छेको मानसिक क्षमतालाई बलियो बनाउँछ । त्यसैले उनले प्रत्येक क्षण सिक्न तयार हुुनपर्छ भन्ने कुरामा जोड दिएका छन् । के रात के दिन, के काम के फुर्सद, जस्तोसुकै अवस्था सिक्नको लागि मानिस तयार हुनुपर्छ भन्ने उनको जोड रहेको छ । उनको सल्लाह जीवनभर सिक्नुहोस् भन्नेमा छ । आम नेपालीहरुमा सिकाइलाई जीवन पद्धति बनाउने कुरामा जोड दिनु आजको आवश्यकता हो । सायदः हामी यही कुरामा चुकेका छौँ । त्यसको परिणाम हामी ज्ञान गंगाको यात्रामा पछाडी परेका छौँ । विट्लेको विचारलाई आत्मसात् गर्न जरुरी छ ।