गठबन्धन र अग्रगामी राजनीति

 

श्रीराम खाइजु

आरम्भ,
संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत् देशले दोश्रो पटक स्थानीय निकायको निर्वाचन यही बैशाख ३० गते सम्पन्न हुनेगरी पाएको छ । त्यसैमा आज सम्पूर्ण राजनीतिक वा गैरराजनीतिक क्षेत्रसमेत आ–आफ्नो क्षेत्रवाट होमिएको छ । निसन्देह निर्वाचन लोकतन्त्रको महत्वपूर्ण सौन्दर्य हो, यसको सकारात्मक प्रयोगले समाजको अग्रगामी चेतनाको सम्प्रेशेणमा नेतृत्वको कार्यकुशलताको मापनपनि गराउँछ । त्यसैले आवधिक निर्वाचनलाई एकप्रकारको निर्णायक संघर्षकोे रुपमा पनि हेरिन्छ । सामाजिक राजनीतिक संघर्ष केवल तर्कको खेति, एकान्त कोठाको बुद्धिबिलास मात्र पनि होइन, यो त अनेकौं सामथ्र्यहरुको समाजउपयोगी बिधि र प्रकृयाहरुको कुशल प्रयोगपनि हो । जसलाई समाजमा बिद्यमान सवै बर्गहरुले परिणाम आफ्नो पक्षमा पार्नको निम्ति तानातान गरिरहेका हुन्छन् । त्यस अर्थमा यो एक प्रकारको बर्गसंघर्षपनि हो । यद्यपी माक्सीय परिभाषामा दुनियाँको हालसम्मको ईतिहासनै वर्गसंघर्षको ईतिहास हो । जो हरेक पलपलमा हरेक स्थान र विषयैपिच्छे शोषक वा शोषितको पक्षमा तानातान भईरहेको हुन्छ । त्यसमध्य निर्वाचन जनचेतना मापन गर्ने एउटा महत्वपूर्ण अवसर पनि हो ।
सिंगै मानव समाजमा तीन प्रबृत्ति जवर्जस्ती देखिन्छ । पहिलो ज्ञान सिद्धान्तको आधारमा सत्य तथ्यको पक्षपोषण, दोश्रो श्रोत साधन र शक्तिको आधारमा गरिने तथ्य र तर्कको पक्षपोषण, तेश्रो जता मल्को उता ढल्को अर्थात् माहोल जताको तिव्र छ उतै ..! यो केवल निर्वाचनको बेलामा मात्र होइन, हरेकप्रकारको सानादेखि ठूलासम्म संघर्ष, वैचारिक तथा तार्किक वहसहरुमा समेत देखापर्ने आम प्रवृत्ती हो । वस्तुगत जगतमा सत्य वा असत्यपनि निरपेक्ष हुँदैन सापेक्ष हुन्छ, एकपटकको लागि पुर्ण वा सत्य सावित भएको प्रशंग समयको अन्तरालमा आँसिक सत्य वा आँसिक पूर्ण हुँदै अन्त्यमा अपूर्ण र औचित्यविहिन ईतिहास बन्न जान्छ । त्यसैले सत्यको निकट कम सत्य, पूर्णको निकट कम पूर्ण हुँदै अपुर्णसम्मको यात्रामा अग्रगामी शक्तिले अधिकाधिक जनउपयोगी बनाउन प्रयत्न गर्नु नै अग्रगमन हो । त्यसलाई अधिकाधिक खेर फाल्नु वा जनउपयोगी बन्नवाट रोक्नु प्रतिगमन हो ।
वर्तमान परिवेशमा लोकतान्त्रिक आन्दोलन पश्चात प्राप्त उपलब्धिहरुलाई जन–उपयोगी बनाउने कि त्यसलाई ध्वस्त पारेर पुरानै पुरातन एकल जातीय नश्लवादी केन्द्रीकृत शासन कायम गर्ने भन्ने दुई वाटो नै हालको अग्रगमन वा प्रतिगमनको मानक हो । समाजका हरेक पक्ष वा विपक्षसंग आफुलाई पुग्दो तथ्य र तर्क हुने गर्दछ र त्यसमापनि केही छठ्ठुहरुले छेउ टुप्पा जोडेर रमाईलो किस्सासहित पेश गर्दा निम्न बुर्जुवा तथा ब्यवहार कुशलतावाट च्यूत भएका आलाकाँचाहरुलाई सत्य जस्तै लाग्नु स्वभाविकै छ । तर दुईधार्नी सावुन खर्चिदैमा गधा गाई नवनेको यथार्थको पर्दा खुलुञ्जेल समयले नेटो काटिसकेको हुन्छ । त्यसैले आजको वर्गसंघर्षको नेतृत्व मुखले नभई ब्यवहारले नै गर्ने हो भने गठबन्धनको विकल्प छैन ।
गठबन्धन रहर कि बाध्यता ?
आफ्नो तुजुक देखाउन जसले जतिसुकै एक्लै लड्छु भनेपनि बर्गीय स्वार्थको खोसाखोसको यो अवस्थामा कोहीपनि एक्लै छैनन् । सरकारी पार्टीहरु तर्फवाट घोषित गठबन्धन बन्यो त्यसको ईमान्दारीताको परिक्षण समयले गर्ला, सत्ता ईत्तरका मूख्य पार्टीहरुपनि आफ्नो बर्गस्वार्थ मिल्नेहरुसंग आवश्यकताअनुसार तालमेल गर्ने भनिरहेका छन् । र साना दलहरु वा क्षेत्रीय दलको उपनाम पाएका दलहरुपनि आफ्नो अनुकुलको वातावरण बनाउन सवैपक्षसंग सौदावाजीको पर्खाइमा रहेको कसैको नजरवाट छिपेको छैन ।
जहाँसम्म काँग्रेस र कम्युनिष्टहरुको सिद्धान्तसंग जोडेर गरिएको बेमेलपनाको कुरा छ, “मन नपर्नेको स्वासै गन्हाउँने मनपर्नेको पादै वास आउने !” भनेजस्तै हो । किनकि बहुदलीय ब्यवस्थाको आगमनपछि आफ्नो अनुकुल सवैले सवैसंग एउटा न एउटा प्रशंगमा तालमेल, मोर्चावन्दी, वा सहकार्य गरेका छन् । जहाँसम्म सिद्धान्तको सवाल छ, देशमा बिद्यमान कुनैपनि पार्टीले रणनीतिक रुपमा भन्दै आएको सिद्धान्त जिवन ब्यवहारमा अंगिकार गरेका छैनन् । काँग्रेसले पुँजीवादी भएरपनि समाजवादी भनाउन पाउँदा गर्व गर्छ, कम्युनिष्टहरु समाजवादी भैकनपनि आपूmभित्र पूँजीवादपनि छ भन्न पाउनुमा गर्व गर्छन् । अर्थात पुँजीवादीहरुले सुद्ध पुँजीवादी भन्न लजाउने, समाजवादीहरुले सुद्ध समाजवादी भन्न हिच्कीचाउने प्रबृत्तिनै हालको राजनीतिको मूल पद्धति बन्दै आएको छ । त्यसैले कसले कोसंग के उद्देश्यकोलागि समिकरण बनाउँदैछ भन्ने मात्र हो । यो निरपेक्ष दिर्घकालिन रणनीतिमा नभई तत्कालिन कार्यनीतिले दिर्घकालिन रणनीतिलाई जोड्ने मामला मात्र हो ।
अर्को कुरा यो गठबन्धनलाई अस्विकारेर एक्लै लडेर जितिएमा ताजा ताजै कम्युनिष्टले समाजवादको झण्डा फहराउने र काँग्रेसले पुँजीवादको सामाजिक सम्रचनाले चकाचक गरिहाल्ने हो ? के सामाजिक सम्रचनाको फेरवदल निर्वाचनले वा संघर्षको एउटै झोक्काले निर्णायक अवस्थामा पु¥याउँछ ? यस्ता निर्वाचन वा संघर्षको लामेताँतीको कैयौंन पेचिला कुहिनेटा काटेर नै सामाजिक विकास र रुपान्तरणको फड्को मार्ने गतिशिल प्रकृयाको बिरुद्ध हिलो क्ष्याप्नु, आ–आफ्नो झण्डा, निर्वाचन चिन्ह वा राजनीतिक लिगेसीको मायाँको नाममा गरिने अतिवादी तर्कहरु केवल सामाजिक दुर्गति चाहाने प्रतिगामी स्वार्थ सिद्ध गर्ने मूलवाटो मात्र हो भन्दा अत्यूक्ति हुँदैन ।
मूलतह हालको समिकरण लोकतन्त्र, मानवाधिकार, समानुपातिक समावेशी सहितको संघीय प्रणाली, धर्म निरपेक्षता र युगान्तकारी गणतन्त्रलाई सार्थक बनाउने मामलामा एकमतहरु र लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सहितको संघीयतालाई समाप्त पारी पुरानै सामन्ती अर्थव्यवस्थामा फर्कन चाहाने दुई प्रबृत्ति बीचको मोर्चाबन्दी मात्र हो । निश्चयपनि यो दिर्घकालिन नहुनपनि सक्छ । समयअनुसार यसको स्वरुप मुद्धाअनुसार बदलिनपनि सक्छ, तर हालको लागि यो नै सार्थक विकल्प हो ।
हेपाई चेपाई र सार्थक निकाश
प्रतिगमनलाई नजिकवाट नियालेका प्रमूख शक्तिहरु, प्रतिगमनको वास्तविक असर र दुश्परिणामलाई नजिकवाट नियाल्ने मुख्य शक्तिहरु प्रारम्भदेखिनै गठबन्धनको पक्षमा थिए । तर आफ्नो जुनसुकै तवरको ताकतलाईपनि अस्वभाविक दम्भ देखाउने यथार्थको दृष्टीगोचर गर्न नसक्ने, नेपाली राजनीतिमा धेरै परिपक्व मानिएका नेताहरुको समेतपनि यो मामलाई नित्तान्त अपरिपक्वता पस्कंदै हिंडेको देखियो । “काँग्रेसले आँैला नदिए अलपत्र पर्ने !” “लाउँला र खाउँला भनेर आसे नजर लाउने !” “आफ्नो सामथ्र्यमा बिश्वास नभएका !तर काँग्रेसको मतले मालिक बन्ने सपना साँचेका !” कसै कसैले सिद्धान्तको सभ्यतालाई बेमौसमी ढंगले जिस्क्याउँदै “जयनेपाल कामरेड ?! कम्युनिष्टको भोटले काँग्रेस जिताउने !” पनि भन्ने गरेका छन् । तैपनि प्रतिपक्षि एमालेलाई केही फरक नपर्ने अनुमान सँच्दै “क्वीन्टलको ढकसंग एक एक किलोको ढक !” जस्ता निम्नस्तरमा झरेर समेतपनि अपमान गर्न पछि परेनन् । भर्खर सत्ताच्यूत भएको जोशमा मात्र होइन, सत्ताच्यूत गर्न एकै कित्तामा उभिएका गठबन्धन दलकै नेताहरुसमेत प्रतिगामी भनिएको पूर्व प्रमकै पछि पछि लागेर समिकरण जोगाउन वर्कि फर्कि गरेका जिम्मेवार नेताहरुबिरुद्ध जथानाम बोल्दै खुईल्याउँदै हिड्ने नेतहरु देख्दा लाजलेपनि शरर्मले शिर न्यू¥याउने परिस्थिति बन्यो । के नेताहरुमा तनिक मात्रपनि दुरदृष्टी चाहिँदैन ? १५ मिनेटपछि हात मिलाउनु छ, भने त्यसको वातावरण ठाउँ कुठाउँमा सत्तोसराप र हुँदो नहुँदो निहुँ खोजेर हुन्छ ?
एकातिर ठूला मानिएका बाम शक्ति सवै टुक्रा टुक्रामा बिभक्त बनेको बेला, अर्कोतिर माओवादी नेताहरु एमालेमा टाँसीने, तर एमाले नेताहरु छुट्टै अस्तित्वकासाथ बस्ने गर्दा माओवादी शक्ति घटेको अनुमान लगाउने, त्यस्तै अर्कोतिर गठबन्धनकै अमुक नेताहरुपनि यसरी गठबन्धन नभत्कियोस् भन्ने पवित्र भावनाकासाथ हिड्दा त्यसैको खुट्टा काट्दै तेजोबध गदै हिड्दाको परिणाम शुभ ननिस्कने गम्भिर परिस्थिति समेत बन्दै गयो । नेपाली काँग्रेस एक्लै लड्दा अत्याधिक उपलब्धि हातालागी हुने सम्भावना देखाउँदै अधिक प्रभावशाली नेताहरुले क्याम्पिङ्ग चलाउँदै गरे । जसको परिणाम गठबन्धन मात्र होइन सिंगै लोकतन्त्र नै धरापमा पर्ने सम्भावना प्रवल बन्यो । तर आफुलाई अब्बल लोकतन्त्रवादी भनाउन रुचाउने शक्तिहरुले आफ्नो पार्टी, समुह वा गुट जोगाउने स्वार्थ साँचेर कथिएका सिद्धान्तको आदर्श, राजनीतिका लिगेसी, दर्शनको दिशा आदि सवैभन्दा महत्वपूर्ण सवाल अधिनायकवादी प्रहारवाट लोकतन्त्रलाई जोगाउने सवाल नै प्रमूख हो । दर्शन, सिद्धान्त, राजनीतिको बहस हामी नीति बनाउने बेलामा गरौंला .. जो सत्ता सञ्चालनको अवधिमा नीति निर्माण तहमा गरिन्छ, ब्यवस्थापिका, कार्यपालिका, र न्यायपालिकामार्फत ब्यवहारमा ल्याउँला । त्यसैले यो अवधिमा काँग्रेस कम्युनिष्टको आदर्श सिद्धान्तको झमेलामा पारेर प्रतिगमनबिरोधी मोर्चा कमजोर नवनाउँ ।
चुनौतिका चाङ्ग
भ्रममा बाँचेकाहरु एमाले (खासगरी बामाले अहिले रामाले) लाईपनि लोकतन्त्रकै सम्वर्धक मानिरहेका छन् । उनलाई दिनु र गठबन्धनका कुनैपनि पार्टीलाई दिनुमा अन्तर नरहेको भनिरका छन् । उनीहरु छाँदा खाँदाको संबिधान मास्ने र संबिधान बचाउने एकै देख्छन् । लोकहितमा संघीयता समानुपातिक समावेशीलाई प्रयोग गर्ने वा त्यसलाई बिटुलीकरण गर्नेहरु बीचमा समानता देखिरहेका छन् । शिक्षा स्वास्थ्य जस्ता सामाजिक जीवनका अपरिहार्य बिषयलाई ब्यापारिकरण गर्ने वा त्यसलाई लोकहितमा राज्यको दायीत्वभित्र पार्ने बीचमा तादम्यता देखिरहेका छन् । राष्ट्रिय उन्नती र प्रगतिको निम्ति विकास निर्माणलाई राज्यको दायित्व र नागरिकको अधिकारको रुपमा संस्थागत गराउन चाहाने र विकास निर्माणलाई केही माफिया, आसेपासे कालावजारिया, दलाल तथा नोकरशाहीहरुको स्वार्थमा कमिसनमुखी विकास गराउन चाहानेहरु उस्तै उस्तै हुन् भनेर भ्रम छरिरहेका छन् । स्वदेशी पूँजीको उत्पादनमुखि प्रयोगद्वारा देशलाई आत्मनिर्भरताको दिशा दिई वस्तुगत विकाश नागरिकको अधिकारको रुपमा स्थापित गराउन चाहाने र त्यसलाई सत्यानाश गरी राष्ट्रिय पूँजी सर्वाङ्गीण रुपमा ध्वस्त बनाउँदै बिदेशी रकममा लोभि नजर लगाउने बीचमा खासै भिन्नता नभएको ब्याख्या गर्न ब्यस्त छन् । तर……
यी सवै बिकृतिहरुको बिरुद्ध आक्रमण गर्ने मनसुवा सहित बनेको गठबन्धन जोगाउन खासै भूमिका नखेल्ने तर जोगिएपछि आफ्नो भाग रक्षा गर्ने बाहेक अन्य चिन्ता नबोकेका स्वनामधन्य समुह वा माछा आए भित्र हात सर्प आए बाहिर हात गर्ने ब्यक्तिहरुद्धारा पुनह गठबन्धन धरापमा पर्ने वा गठबन्धन बेकामी हुने अवस्थामा आउन सक्छ । यदि यसो भएमा ब्यक्तिगत वा समुहगत स्वार्थको सपना त पुरा होला तर देशको स्वाधिनताको सपनामा अर्को नयाँ तगारो देखापर्ने चैं निश्चित छ ।
यसमा मूख्यतया तीन प्रबृत्ती हावी छ । पहिलोः नेपाली काँग्रेसले माओवादी बाहेक अन्यलाई पार्टी नमान्ने, पार्टी मानेपनि शक्ति नमान्ने अहमतावादी चिन्तन, माओवादीमापनि प्रतिगमनबिरोधि आन्दोलनदेखी यहाँसम्म नै आफ्नो मूख्य भूमिका भएकोले कमजोर बन्न नचाहाने मनोबृत्ती, त्यस्तै नेकपा एस मा पनि उनकै त्यागले यो सरकारी समिकरण बनेकोमा घमण्ड गर्दै त्यसको मूल्य माग्दा काँग्रेसलाई अपच भएको साँचो हो । त्यस्तै जसपा र राजमोको मागमा पनि काँग्रेस अप्ठेरो मानिरहेको साँचो हो । तर सवैले के सोचौं भने थोर बहुत भाग नमिले पछि मिलाउँदै गरौंला तर हालको लागि समग्रमा संबिधान बिरोधि तत्वसंगको पैठाजोरी मूख्य हो । यतिखेर पार्टी, चिन्ह भन्दा मूख्य कुरा प्रतिकृयावादको पूर्ण पतन हो ।
अव के गर्ने ?
हामी निर्वाचनको मुखैमा छौं, एकप्रकारको रण–मैदानमा छौं, जहाँ हामी भिन्न भिन्न ठाउँवाट, भिन्न भिन्न, आदर्शवाट,भिन्न भिन्न स्कुलिङ्गवाट जम्मा भएका छौं । त्यसैले आ–आफ्नो लिगेसी मुताविकको सोच शैली र बानी ब्यवहार पनि होला, तर सवैभन्दा मुख्य देश र लोकतन्त्र जोगाउने कुरा छ । आफुले बोकेको अडानले पार्टी वा चिन्हप्रतिको ममताले लोकतन्त्र जोगिने भए फरक प्रशंग हो, तर ओलीमार्गी अराजकतावादवाट भ्रष्ट, अनैतिकता र दुराचार र पापाचारवाहेक केही आशा गर्न सकिन्न भने आफु भित्रको अहमताको कारणले उनलाई जिताउने मार्ग किन बनाउने ?

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *