जनता समाजवादी पार्टी, समुन्नत संघीय समाजवाद र अर्थशास्त्रीय आयाम ।

 

काठमाडौं, चैत्र ४ गते ।

जनता समाजवादी पार्टी, नेपालको मार्गदर्शक सिद्धान्त समुन्नत संघीय समाजवाद हो । सोही सिद्धान्तको मार्गदर्शनमा यो पार्टीले आफूलाई दिशा निर्देशित गर्छ । यसका आम नेता तथा कार्यकर्ताहरु सोही बमोजिम परिचालित हुन्छन् । जसपाले आफ्नो मार्गदर्शक सिद्धान्त र यसका विभिन्न आयामहरुको बारेमा आम पार्टी पंक्ति र जनसमुदायलाई भन्न सकेको छैन । जसपाको मार्गदर्शक सिद्धान्तको बारेमा आम पार्टी पंक्ति र जनसमुदायमा स्पष्ट गर्न नसक्दा धेरैमा अलमल पैदा भएको छ । यो अलमललाई पार्टीले चाँडै हल गर्न सक्नुपर्छ । त्यसका लागि जसपाले आगामी असार १ र २ गते विधान अधिवेशन गर्दैछ । उक्त विधान अधिवेशनमा यसको स्पष्ट अवधारणा आउने अपेक्षा गरिएको छ । जसपाले आफूलाई वैकल्पिक राजनीति गर्ने राजनीतिक दल भनेको छ । वैकल्पिक हुन यसले परम्परागत राजनीतिक शक्ति र विचारहरुभन्दा फरक देखाउन सक्नुपर्छ । भन्ने मात्रै होइन व्यवहारमै पुष्टि गर्नुपर्छ ।

पार्टीको पहिलो संघीय परिषद्को बैठक र दोस्रो केन्द्रीय समितिको बैठक भर्खरै सम्पन्न भएको छ । पहिलो संघीय परिषद्को बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समसामयिक राजनीति र जसपाको कार्यदिशा नामक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उक्त प्रतिवेदन मार्फत् समुन्नत संघीय समाजवादको संक्षिप्त आँखीझ्याल प्रस्तुत गरिएको छ । देश आज स्थानीय तहको निर्वाचनमा होमिएको छ । कांग्रेस र एमालेलाई जसरी हुन्छ चुनावमा जित्नु छ । जसपालाई भने जसरी पनि आफ्नो एजेण्डा जनताकोबीचमा लैजानु छ । जसपा कस्तो राजनीतिक दल हो भन्ने चिनाउनु छ । त्यसका लागि यसको प्रस्थानबिन्दू पार्टीको मार्गदर्शक सिद्धान्त समुन्नत संघीय समाजवादको बारेमा बहस र छलफल पनि हुनुपर्छ । चुनावमा जाँदा अर्को पार्टीलाई गाली गरेर आफूलाई अब्बल देखाउने घटिया प्रकृतिको व्यवहार गर्नु हुँदैन । हुनतः वैकल्पिक भनेर मात्रै हुने होइन । त्यसका लागि व्यवहारबाट पुष्टि गर्न सक्नुपर्छ ।

जसपाका नेता तथा कार्यकर्ताहरुको पृष्ठभूमिमा व्यापक भिन्नता छ । सोही कारण बुझाईमा एकरुपता पाईँदैन । तर, अब बुझाईमा एकरुपता कायम गर्न ढिला गर्नु हुँदैन । आसन्न चुनावमा जसपाले आफ्नो पार्टीको दृष्टिकोण र त्यसका आधारमा गर्न खोजको व्यवहारको बारेमा बताउनु पर्छ । चुनावी प्रचार–प्रसारको क्रममा समुन्नत संघीय समाजवाद र यसको अर्थशास्त्रीय आयामको बारेमा पनि जनतालाई भन्नुपर्छ । नेपाल आर्थिक रुपमा कमजोर छ । नेपालको आर्थिक विकास र समृद्धिको बारेमा पार्टीको बुझाई स्पष्ट गरिनुपर्छ । यसका लागि धेरै दार्शनिक बन्न जरुरी छैन । नेपाल आर्थिक रुपमा किन पछाडी प¥यो भन्ने प्रश्नको जवाफबाट जनतासँग छलफल गर्नुपर्छ । विश्व आर्थिक मानचित्रमा नेपाल न्यून आर्थिक अवस्था भएको देश हो । पञ्चायतकालदेखि नै नेपालको पुँजीगत खर्च न्यून हुने गरेको छ । आजका दिनसम्म कुनै सुधार भएको छैन । व्यापार घाटा उच्च छ । शोधानन्तर घाटा उच्च छ ।

राष्ट्रिय पुँजीको विकास हुन सकेको छैन । रेमिट्यान्सको भरमा देशको अर्थव्यवस्था चलेको छ । अर्थतन्त्रमा बिचौलियाहरुको बिगबिगी छ । प्रतिव्यक्ति नेपालीको आय औसत आयभन्दा धेरै न्यून छ । आर्थिक रुपमा कमजोर भएकै कारण युवा बेरोजगारी बढेको छ । ब्रेनड्रेन उच्च छ । युवा पलायन उच्च छ । कृषि प्रधान भनिएको देशमा कृषि उत्पादन न्यून छ । प्रायः सबै खाद्यान्नमा परनिर्भर हुनु परेको छ । राष्ट्रिय पुँजीको विकास हुन सकेको छैन । त्यसमा तत्काल सुधार हुने कुनै छाँटकाँट पनि छैन । जसपाको मार्गदर्शक सिद्धान्त समुन्नत संघीय समाजवादको अर्थशास्त्रीय आयाममा यस्ता विषयलाई छलफलको विषय बनाएर आम पार्टी पंक्ति र जनसमुदायका बीचमा लैजानुपर्छ । देशलाई गरिबी र बेरोजगारीबाट मुक्त गर्ने स्पष्ट अवधारणा लिएर चुनावमा जनताबीचमा जानुपर्छ ।

विश्वमा विभिन्न प्रकारका अर्थशास्त्रीय ढाँचाको अभ्यास भएका छन् । खुला बजार अर्थतन्त्र र राज्य नियन्त्रित अर्थतन्त्र अभ्यासमा छन् । खुला बजार अर्थतन्त्र आजको विश्वमा प्रभावी छ । जसपाले भने बजार समाजवादी अर्थतन्त्रको अभ्यास गर्ने भनेको छ । त्यो भनेको के हो जनताबीच स्पष्ट गरिनुपर्छ । विश्व भूमण्डलीकरणमा छ । अझ वित्तीय भूमण्डलीकरणले प्रभाव पारको छ । विश्वस्तरीय संस्थाहरुले देशको आर्थिक जीवनमा प्रभाव पारेका छन् । नेपालको भूराजनीति विशिष्ट प्रकृतिको छ । चीन र भारतको भिमकाय अर्थतन्त्र टाँसिएर रहेका छन् । उक्त अर्थतन्त्रसँग नेपाली अर्थतन्त्रले प्रतिस्पर्धा गर्न नसक्दाको समस्या पनि सामान्य छैन । त्यसको सकारात्मक प्रभाव एकातर्फ छ भने अर्कोतर्फ त्यसले समस्या पनि पैदा गरेको छ । नेपाली अर्थतन्त्रलाई यस्तो जटिल अवस्थाबाट कसरी बचाउने भन्ने प्रश्न खडा छ । जसपाले प्रस्तुत गर्न खोजेको अर्थशास्त्रीय ढाँचाको बारेमा चुनावमा प्रचार–प्रसारको विषय बनाउनु पर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *