जसपा, संघीय परिषद् बैठक कुम्भ मेला नभई ऊर्जा पैदा गर्ने छहरा बनोस् ।

 

काठमाडौं, फागनु २७ गते ।

जसपा, नेपालको संघीय परिषद् बैठक महाधिवेशन पछिको सबैभन्दा ठूलो अंग हो । यसको मुख्य काम भनेको नीति निर्माण गर्ने हो । यसले पार्टीको कार्यकारी अंगलाई निर्देशन दिन सक्ने क्षमता राख्छ । यो पार्टीको विधायकी अंग हो । त्यसैले पार्टीको संघीय परिषद् बैठकलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । जसपा, नेपाल निर्माण भएपछिको यो पहिलो संघीय परिषद्को बैठक हो । जसपा, नेपाल विभिन्न राजनीतिक शक्तिहरुको एकीकरण हुँदै बनेको पार्टी हो । यस पार्टीका नेता तथा कार्यकर्ताहरुको विभिन्न पृष्ठभूमि रहेका छन् । ती सबैलाई विचार र व्यवहारमा एकै ठाउँमा ल्याउन आवश्यक छ । त्यसका लागि संघीय परिषद् बैठकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । यो उसको दायित्व अन्तर्गत पर्छ । सबै भन्दा महत्वपूर्ण विचार हो । जनता समाजवादी पार्टीको विचारको बारेमा पार्टीमा पर्याप्त छलफल हुन पाएको छैन । विचारको समृद्धिकरणका लागि पार्टीभित्र बहस र छलफल भएका छैनन् । संघीय परिषद् बैठक नै त्यसका लागि महत्वपूर्ण थलो हो । यो बैठक हप्तौँ बसेर विचारको बारेमा निक्र्यौलमा पुग्नु पर्ने हो । तर, परिस्थितिका कारण यो बैठक विचार केन्द्रित हुने देखिँदैन । यो बैठक आसन्न निर्वाचन केन्द्रित हुने भएको देखिन्छ । तरपनि विधायकी अंग भएकाले विचारको बहसका लागि यसले ढोका खुल्ला गर्नुपर्छ ।

आगामी विधान अधिवेशनका लागि बहस र छलफलको प्रस्थानबिन्दु हुनु पर्छ यो बैठक । जसपा, निर्माणको मुख्यु ध्येय भनेकै नेपालमा वैकल्पिक शक्ति निर्माण गर्नको लागि हो । त्यो शक्ति निर्माण गर्ने विचार आधुनिक र उन्नत हुनुपर्छ । जसले परम्परागत राजनीतिलाई बेदखल गर्न सकोस् । विचारको आधारमा व्यवहार निर्माण गर्ने अर्को चुनौति छ । विचार सही भएर मात्रै हुँदैन, व्यवहार पनि उन्नत र उदाहरणीय हुनुपर्छ । पुरानै ढर्राका आधारमा नेता तथा कार्यकर्ताले व्यवहार गर्ने हो भने जनताले पत्याउँदैनन् । विचार उत्कृष्टताको पूष्टी व्यवहारबाटै गर्नुपर्छ । त्यसका लागि पार्टीका आम नेता तथा कार्यकर्ताहरुको पार्टी जीवन निश्चित गरिनुपर्छ । नेता तथा कार्यकर्ताहरुको राजनीतिक जीवन व्यवहारका आधारमा जनताले पत्याउँछन् । कुरा ठूला गर्ने तर व्यवहार कनिष्ठ हुने नेपाली राजनीतिको समस्या हो । त्यो समस्या जसपाका नेता तथा कार्यकर्ताहरुमा पनि देखिएको छ । जसपा, संघीय परिषद् बैठकले आजसम्म पार्टीले भोग्नु परेको समस्याको बारेमा समीक्षा पनि गर्नुपर्छ । को र केले समस्या पैदा गरे ? तिनीहरुको एकमुष्ट चिरफार गरिनुपर्छ ।

पार्टीभित्र देखिएको जातीय अन्धताको भण्डाफोर गर्नुपर्छ । त्यसैगरी क्षेत्रीय अन्धवादलाई पनि धक्का दिनुपर्छ । गुटीय अभ्यासलाई घन ठोक्न सक्नुपर्छ यो बैठकले । नेपाली जनता राजनीतिक रुपमा सचेत भइसकेका छन् । विगतमा जस्तो नाराका आधारमा पत्याउँदैनन् । सम्बन्धित पार्टीका नेता तथा कार्यकर्ताहरुको विश्वसनीयताको परख गर्छन् । उनीहरुले निर्वाह गरेको भूमिकाको सम्परीक्षण गर्छन् । जसपाले मधेश प्रदेशमा सरकार सञ्चालन गरिरहेको छ । त्यो सरकारले मधेसमा के गर्न सक्यो वा सकेन भनेर निष्पक्ष विश्लेषण गर्नुपर्छ । संघीय सरकारका मन्त्रीहरुको पनि मूल्याङ्कन गर्नुपर्छ यो बैठकले । पार्टीका नेताहरुले सत्ता सञ्चालन गर्न अवसर पाएका छन् । तर, उनीहरुको फरफरमेन्स्बाट जनतामा परेको प्रभाव के हो भन्ने स्पष्ट गरिनुपर्छ । नारा र भाषण धेरै ठूला गर्ने तर सत्ताको जिम्मेवारी सम्हाल्ने कुरामा भने कनिष्ठ हुँदा जनताले यस्तो पार्टीप्रति विश्वास गर्दैनन् । पार्टीभित्र कार्यशैलीको प्रश्न पनि उठ्ने गरेको छ । कार्यशैलीप्रति किन पटक–पटक नेताहरुमा प्रश्न खडा भइरहेका छन् भन्ने प्रश्नको जवाफ खोज्न संघीय परिषद् बैठक सफल हुनैपर्छ । अन्ततः बैठकले पार्टीका आम नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुमा नयाँ जोश र जाँगर प्रदान गर्न सक्नुपर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *