‘लिभिङ प्लानेट रिपोर्ट’ का अनुसार विश्वभर दुई तिहाई जीवजन्तु मासिएका छन् ।

 


काठमाडौं, फागुन १३ गते ।
विगत् ५० वर्षमा बासस्थान र आहारको अत्याधिक दोहनका कारण विश्वभर माछा, चरा, स्तनधारी, उभयचर र शरिसृप लगायतका जीवजन्तुको सङ्ख्यामा ६८ प्रतिशतले गिरावट आएको एक अध्ययनले देखाएको छ । डब्लूडब्लूएफले सार्वजनिक गरेको ‘लिभिङ प्लानेट रिपोर्ट’मा उक्त तथ्य सार्वजनिक गरिएको हो । जङ्गलमा डढेलो लाग्दा माछा मारिँदा जीवजन्तुको आश्रयस्थल विनाश गरिँदा जस्ता कारणले जीवजन्तुको ठूलो मात्रामा विनाश भएको देखाएको छ । डब्लूडब्लूएफले जुलोजिकल सोसाइटी अफ लण्डनसँगको सहकार्यमा गरेको अध्ययनले उक्त तथ्य सावृजनिक गरेको हो । उक्त प्रतिवेदन ‘लिभिङ् प्लानेट इन्डेक्स’ र ‘इकोलोजिकल फूटप्रिन्ट’ मा आधारित भएर तयार पारिएको छ । प्रतिवेदनमा सन् १९७० देखि २०१६ सम्म विश्वभरबाट वन्यजन्तुको संख्या ६८ प्रतिशतले घटेको उल्लेख छ ।

यो प्रतिवेदन ४ हजार ३ सय ९२ प्रजाति र २० हजार ८ सय ११ वटा जीवहरुको तथ्याङ्कलाई आधार मानेर प्रकाशित गरिएको हो । स्वच्छ पानीमा पाइने जीवहरुको संख्या ८४ प्रतिशतले घटेको छ । अस्ट्रेलियामा मात्रै केही प्रजातिहरुको संख्या ९७ प्रतिशतले घटेको पाइएको छ । वन फँडानी, जैविक विविधतमा ह्रास, वन्यजन्तुको अवैध व्यापार जस्ता कारणले संक्रमक रोगहरुको उदय हुन थालेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्राकृतिक स्रोतमाथि मानवीय अतिक्रमण हुँदा जैविक विविधतमा ठूलो मात्रामा ह्रास आएको भन्दै चिन्ता व्यक्त गरिएको छ । प्रकृतिमाथि मानिसको अतिक्रमणका कारण वैज्ञानिकहरुले नयाँ भौगर्भिक समय ‘एन्थ्रोपोसिन’ शुरु भएको बताएका छन् । विगत सय वर्षदेखि पृथ्वीको पारिस्थितिकीय प्रणालीमा परिवर्तन आएको बताएका छन् । अहिलेसम्म भएको विनाशको पूर्तिका लागि सन् २०३० सम्म प्राकृतिक वासस्थानलाई पुनरुत्थान गर्न प्रतिवेदनले सुझाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *