काठमाडौं, फागुन १२ गते ।
राजनीति के हो ? राजनीति भनेको समकालीन समस्याको समाधान हो । इतिहासको आलोकमा वर्तमानमा क्रिया गरेर भविष्यको निर्माण गर्ने साधन हो । सामान्य भाषामा राजनीति सबै नीतिको माउ नीति हो । नेपालमा राजनीति ठिक ढङ्गले चलेको छैन । नेपाली राजनीतिमा विकृति व्याप्त छ । नेपालको राजनीतिमा चरम भ्रष्टीकरण छ । नेपालको राजनीतिले सात दशकसम्म व्यवस्था परिवर्तनको लागि संघर्ष ग¥यो । राणा शासन हट्यो । पञ्चायत हट्यो । राजतन्त्र हट्यो । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्यो । देश गणतन्त्रमा आउनु थियो आयो । अब गणतन्त्रको विकल्प छैन । देश लोकतान्त्रिक हुनु थियो त्यो पनि भयो । त्यत्ति मात्रै होइन देश एकात्मकबाट संघात्मक पनि भयो । मानव अधिकार, प्रेस स्वतन्त्रता आदि जस्ता उपलब्धी पनि नेपाली राजनीतिले ल्यायो । त्यसो भए नेपालको आजको समस्या के हो त ? नेपाली राजनीतिको आजको प्रमुख तीनवटा कार्यभार छन् । आर्थिक रुपमा देशलाई सम्पन्न बनाउनु । सामाजिक रुपमा नेपाली समाजको उन्नयन गर्नु । सांस्कृतिक रुपमा नेपाली जीवनलाई रुपान्तरण गर्नु । नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण नेपाली राजनीतिको आजको प्रमुख माग हो । त्यो भनेको समृद्धीकरणको माग हो । निचोडमा भन्दा नेपाली राजनीतिको आजको प्रमुख एजेण्डा भनेको समृद्धि हो ।
नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउन परम्परागत राजनीतिले सकेन । अर्थात् कांग्रेस र कम्युनिष्टहरुले सकेनन् । अन्य राजनीतिक शक्तिहरु गणना गर्ने तहमै छैनन् । नेपाली जनताको प्रतिव्यक्ति आय अत्यन्तै न्यून छ । कुल गार्हस्थ उत्पादन अति कम छ । व्यापार घाट उच्च छ । शोधानान्तर घाटा उच्च छ । राष्ट्रिय पुँजीको विकास शुन्यप्रायः अवस्थामा छ । युवा पलायन डरलाग्दो अवस्थामा छ । ब्रेनडे«न खतरनाक अवस्थामा पुगेको छ । उद्यमशील र परिश्रमीहरुको कन्तविजोग अवस्था छ । ठगी गर्नेहरुलाई चैन छ । इमान्दारहरुलाई पिडा छ । गरिबी र बेरोजगारीले देश थिलोथिलो अवस्थामा छ । यो समस्या हो कि होइन ? नेपालको राजनीति यो समस्यामा केन्द्रित हुनुपर्ने हो । तर, नेपालको राजनीतिले यो विषयलाई गहिरोसँग बुझेन र समाधान खोजेन । परम्परागत राजनीति पटक–पटक फेल भयो । भ्रष्टाचार र विकृतिको गुणात्मक न्युनिकरण गर्न सकेन । यो समस्या समाधानका लागि वैकल्पिक राजनीतिको खोजी गरिएको हो । नेपाली राजनीतिले ध्यान दिनुपर्ने अर्को क्षेत्र भनेको सामाजिक रुपान्तरण हो । नेपाली समाज विविधतायुक्त छ । भाषा, धर्म, संस्कार र संस्कृतिको अत्याधिक वहुआयामिक वाहुल्यता छ । यो नेपालको पुँजी हो ।
नेपाली समाजको यो विशिष्टतालाई कायम राख्नुपर्छ । नेपाली समाज सहिष्णु पनि छ । नेपाली समाजको विशिष्टतालाई कायम राख्दै यसको आधुनिकीकरण गर्न जरुरी छ । नेपाली समाज बढी नै परम्परावादी छ । जुनसुकै समुदायका किन नहुन् भाग्यवादी र अन्धविश्वासी छन् । मरेपछि स्वर्ग जाने आशामा धेरै धन, श्रम र समय खर्च गर्छन् । परम्परागत मूल्यमान्यताले थिचिएका छन् । आधुनिक सभ्यता निर्माण गर्न सक्ने खालको चिन्तन प्रणाली नेपाली समाजले निर्माण गर्न सकेको छैन् । नेपाली समाजको चिन्तन प्रणालीलाई व्यापक रुपमा बदल्न जरुरी छ । परम्परागत राजनीतिले नेपाली समाजको आधुनिकीकरण गर्न सकेन । दुनियाँलाई हेर्ने दृष्टिकोण नेपाली समाजले बदल्न सकेन । जति बदल्यो थोरै बदल्यो । यसले नेपाली समाजलाई उन्नत बनाउन सकेन । परम्परागत मूल्यमान्यताको संरक्षण गर्ने नाममा आफूलाई परम्परावादी बनायो । यो गलत बाटो हो, उल्टो बाटो हो । नेपाली राजनीति यसमा चुक्यो । नेपाली समाजको आधुनिकीकरणका लागि हामीले वैकल्पिक राजनीतिको कुरा गरेका हौँ । नेपाली राजनीतिको अर्को कार्यभार भनेको सांस्कृतिक उन्नयन हो । परम्परागत राजनीतिले सांस्कृतिक रुपान्तरण गर्न सकेन ।
विश्व अन्धकार भएको बेला बनेका मूल्यमान्यताको अन्ध नक्कल नेपाली संस्कृति बनेको छ । अन्धविश्वासमा आधारित सांस्कृतिक मूल्यमान्यतालाई नेपाली राजनीतिले रुपान्तरण गर्न सिन्को पनि भाँचेन । जन्म संस्कार, विवाह संस्कार र मृत्यु संस्कारलाई हेर्दा थाहा हुन्छ कि नेपाली समाजको सांस्कृतिक चेत कस्तो छ भनेर । खानपान र उठबस हेर्दा नै थाहा हुन्छ कि नेपाली समाजको सांस्कृतिक अवस्था कस्तो छ भनेर । युग परिवर्तन भएसँगै परम्परागत मूल्यमान्यता अर्थात् संस्कृतिलाई बदल्नुपर्छ । सांस्कृतिक रुपान्तरण भनेको सभ्यता निर्माणको विषय हो । विद्यमान नेपाली सांस्कृतिक मूल्यले आधुनिक सभ्यता निर्माणमा योगदान गर्दैन । नेपालको परम्परागत राजनीति यस विषयमा चुक्यो । आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण वा उन्नयनले वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनको एकैसाथ अन्त्य गर्छ । आम उत्पीडन र विभेदको अन्त्य गर्नु नै नेपालको समृद्धि हो । हो, त्यही समृद्धिको मुद्दा बोक्ने राजनीतिलाई हामीले वैकल्पिक राजनीति भनेको हो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालिन माओवादी परित्याग गरेर वैकल्पिक राजनीतिको नेतृत्व गर्ने उद्घोष गर्नु भयो । उहाँले वैकल्पिक राजनीतिको अवधारणा पनि पेश गर्नु भयो । आज उहाँ जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्को अध्यक्ष हुनु हुन्छ । आज उहाँलाई सोध्न मन लागेको छ कि वैकल्पिक राजनीतिको नेतृत्व गर्दै हुनुहुन्छ ?
राजनीतिसँग दुईवटा कुरा सँगै जोडिएर आउँछन् । पहिलो विचारको प्रश्न । डा. बाबुराम भट्टराईलाई सोध्न मन लागेको छ कि विचारको नेतृत्व गर्नु भएको छ ? नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि पार्टीमा उहाँले कुनै दस्तावेज प्रस्ताव गर्नु भएको छैन । वैकल्पिक राजनीतिको नेतृत्व गर्ने भए तपाईँको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका दृष्टिकोण भएका विचारहरु पार्टीभित्र प्रस्तुत गर्नुहोस् । त्यसैगरी राजनीतिको अर्को पाटो भनेको संगठन हो । तपाईँ संघीय परिषद्को अध्यक्ष हुनुहुन्छ । त्यो सांगठानिक पद नै होइन । त्यो आलंकारिक पद हो । त्यसले पार्टी सञ्चालन गर्दैन । पार्टी जीवनलाई कुशलतापूर्वक सञ्चालन गर्न सांगठानिक नेतृत्वको जिम्मेवारी तपाईँले लिनुपर्छ । विचार र संगठनको नेतृत्व लिएर मात्रै वैकल्पिक राजनीतिको कार्यभार पूरा गर्न सक्नु हुनेछ । होइन भने अरुको वैशाखी टेकेर वैकल्पिक राजनीतिको सगरमाथा चढ्न सक्नुहुन्न । जातीय र क्षेत्रीय मानसिकता भएकाहरुलाई पार्टीको वैचारिक र सांगठानिक जिम्मेवारी दिएर गन्तव्य चुम्न सम्भव छैन । डा. बाबुराम भट्टराई तपार्ईँले वैकल्पिक राजनीतिको नेतृत्व गर्ने कि नगर्ने ? गर्ने भए व्यवहारमा देख्न पाउँ । नगर्ने भए जवाफ दिनुहोस् ।