काठमाडौं, फागुन ७ गते ।
मल्लकालिन राजा प्रताप मल्लले लगभग ३ सय वर्ष पहिले प्रचलनमा ल्याएको एक विशिष्ट प्रकृतिको जात्रा नै गाई जात्रा हो । यो सांस्कृतिक जात्राले सामाजिक र राजनीतिक विकृति तथा विसंगतिको भण्डाफोर गर्ने भएकोले यसको सांस्कृतिक, धार्मिक, सामाजिक तथा राजनीतिक महत्व छ । व्यंग्यात्मक ढङ्गले खराब कुराको चिरफार गरी जनतालाई सुसूचित गराउने भएकाले यसको बढी महत्व छ । राजा प्रताप मल्लको छोराaको मृत्यु भएपछि रानी भावविह्वल भएकाले मृत्यु अरुको पनि हुन्छ भन्ने अनुभूत गराउने उद्देश्यले उक्त जात्रा प्रचलनमा ल्याएका हुन् ।
प्रत्येक वर्ष वर्षभरी मरेका मानिसहरुका घरबाट गाइजात्रा निकाल्ने र दरबार छेउबाटै जात्रा लैजानुपर्ने व्यवस्था मिलाइएको थियो । उक्त जात्राले मात्रै रानीलाई सान्त्वना नभएपछि जात्रालाई रङ्गीबिरङ्गी पहिरनमा हाँसोठट्टा गर्ने प्रचलन बसालियो । विस्तारै यो जात्रामा शासक प्रशासकहरुलाई व्यङ्ग्य गर्न थालियो । शोकजात्राको रुपमा रहेको गाईजात्राले हाँस्यजात्राको रुप लियो । व्यंग्यात्मक शैलीमा कटाक्ष गरिने भएकाले यसमा वाक स्वतन्त्रताको भरपुर प्रयोग हुन्छ । आजभोली गाइजात्रा महोत्सव गर्ने, पत्रपत्रिकामा विशेषांक निकाल्ने चलन समेत बढेको छ । गाइजात्रा मार्फत् कलाकारहरुले व्यंग्यात्मक शैलीमा कटाक्ष गर्ने भएकाले सामाजिक, सांस्कृतिक विसंगति विरुद्ध आवाज उठाउने जात्राको रुपमा पनि विकसित भएको छ ।