वैकल्पिक राजनीतिमा समृद्धि आधारित राजनीतिको कुरा गरौँ ।

 

काठमाडौं, माघ २० गते ।

मैले विगत केही समयदेखि वैकल्पिक राजनीतिको खातिर सचेतनामूलक कलम सञ्चालन गर्दै रहको छु । मैले ०४६ सालदेखि बुझेर वा नबुझेर राजनीतिक दलको झण्डा बोकेको हो । म जस्तो फुच्चेको पनि राजनीतिक यात्रा लामै भएछ । आज फर्केर हेर्दा ३० वर्ष पूरा भएछ । मलाई क्रान्तिकारी राजनीतिको रङ् चढेको रहेछ भन्ने मेरो आजको बुझाई छ । किनकि जसले बढी उत्तेजक प्रस्तुति ग¥यो म त्यहीँ पुगेछु । कांग्रेस मेरा लागि उपयुक्त पार्टी बनेन । त्यसैगरी एमाले पनि मेरालागि फिट भएन । सत्ताधारीहरुले गल्ती गरेको आभास हुन्थ्यो । सत्ता बाहिरका दल र मान्छेहरुको भनाईमा सच्चाई लुकेको महशुस हुन्थ्यो । आजसम्मको मेरो राजनीतिक धारालाई नियाल्ने गर्छु । म सिकारु हो कि अभ्यस्त हो । म नेता हो कि कार्यकर्ता हो । मैले ठिक सोच्दै छु कि गलत । यस्ता प्रश्नहरुको बढी नै शिकार हुने गरेको छु । म आज जहाँ छु वैकल्पिक राजनीतिको खातिरमा छु । मेरो दिमागमा वैकल्पिक राजनीतिको केही तस्बिर छन् । मैले चाहेको वैकल्पिक राजनीति जस्तो मैले व्यवहारमा पाउँदिन । कतै मेरो नै पो भ्रम छ कि भनेर पटक–पटक टाउको झट्कार्छु । नेपालको सबैभन्दा पुरानो पार्टी कांग्रेस जहाँ लाखौँ मान्छेले भोट हाल्छन् । ऊ मेरा लागि प्रिय बन्दैन । किन यस्तो भयो भनेर आफैँलाई प्रश्न गर्छु । कांग्रेसप्रति किन मोहभाव जागेन र जागिरहेको छैन भनेर पनि सोच्ने गर्छु । आज मैले आफैले भोग्दै गरेको राजनीतिलाई गहिरिएर हेर्छु ।

एमाले जो आजपनि देशको सबैभन्दा ठूलो पार्टी छ । त्यसप्रति पनि मेरो मोहभाव जागेन र आजपनि जागि रहेको छैन । ऊ पनि त जनाधार भएकै पार्टी हो । उसलाई पनि त लाखौँ मान्छेले अद्यापि भोट हाल्दैछन् । फेरि मेरै पार्टी र मेरा पार्टीका नेता तथा कार्यकर्ता हेर्छु । कहिले त कन्चट तातेर आउँछ । मेरा पार्टीका मेरा विद्धान साथीहरुले कांग्रेस र एमालेलाई गाली गरेको देख्छु । आफ्नो पार्टी र आफूलाई अब्बल साबित गर्न कनिकुथी बल गरेको देख्छु । किन यसो गरेको होला भन्ने लाग्छ । पार्टीमा आबद्ध हुँदा निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गरेका होलान् भनेर चित्त बुझाउँछु । अनि कहिले काहीँ चाहिँ मेरो आफ्नै ट्र्याक त खुस्केको होइन भनेर पनि सोच्ने गर्छु । अनि लाग्छ गोबरलाई घिउ भन्दा गोबर घिउ त बन्दैन । मैले खोजेको राजनीति र मैले भोग्दै गरेको राजनीतिमा तारतम्य पाउँदिन । त्यसैले होला मलाई अलि बढी आलोचनात्मक बनाउँछ । मलाई एउटा कुरा के स्पष्टै थाहा छ भने आलोचनाका लागि गरिने आलोचनाले क्षति गर्छ । त्यो गम्भीर हुन्छ । फेरि के लाग्छ भने हैन सच्चिन र सच्याउन त आलोचनात्मक चेत नै जरुरी छ । खोजेको राजनीति र भोगेको रानजीतिबीच मेल नहुँदा मलाई औडाहा भने अवस्य हुन्छ । ३ दशकको राजनीतिक झण्डा बोकाई र आजको मेरो राजनीतिबीचको बेमेलले मलाई झनै ठूलो राँको बल्छ । त्यो औडाहा अर्थात् राँको अगुवा समक्ष सोझिन पुग्छ । त्यो पनि आफ्नै भित्रकामा सोझिन्छ । कांग्रेस र एमालेतिर सोझिएर के काम र । म र मेरो पार्टी प्रधान हो ।

मैले खोजेको राजनीति प्रधान हो । मेरो पार्टी मैले खोजे जस्तो भएन भने चुप लागेर बस्न त मिल्दैन । ५ वर्षमा १५/२० सिट जित्ने र एउटा उपप्रधानमन्त्री र तीनजना मन्त्री बन्ने मेरो राजनीतिक धार होइन । त्यो धार जातिवादी, क्षेत्रीयतावादी र धर्मवादीको हुन सक्छ । मैले खोजको त्यस्तो कनिष्ट राजनीति होइन । मैले आज खोजेको राजनीति फुच्चे राजनीति होइन । दशक–दशकमा समृद्धिको फट्का (जम्पिङ) हान्ने राजनीति हो । झोले राजनीति होइन । क्षेत्र कन्द्रित क्षेत्रीय राजनीति होइन । जाति विशेषको जातीय राजनीति होइन । धर्म विशेषको धार्मिक राजनीति होइन । मैले खोजेको समानताको राजनीति हो । आग्रही राजनीति होइन । इतिहासबाट पाठ सिक्ने राजनीति हो । उत्पीडन अन्त्यको राजनीति हो । दलित समुदाय जो छुवाछुतको मारमा छन् । उनीहरुलाई मान्छेको व्यवहार नगरेको देख्दा भने बढी नै पीडा हुन्छ । खान नपाएर छटपटाएकाहरुलाई देख्दा झनै पीडा हुन्छ । महिनामा लाखौँ पैसा कमाउने र करोडौँको सम्पत्ति कुम्ल्याएकाहरुले आफूलाई उत्पीडित भनेको देख्दा चाहिँ उदेक लाग्छ । ऊ उसको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक जीवनमा सम्मानित स्थानमा छ तर आफूलाई उत्पीडित भन्छ । कुण्ठित भई मुर्छित भइरहेको हुन्छ । त्यस्तो प्रति मेरो खेद जाग्छ । आफैँ सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रुपमा पहुँचवाला छ तर आफूलाई उत्पीडित भन्दै रोइलो गर्छ ।

म त्यस्तो उत्पीडनको नक्कली रोइलो गर्नेसँग आग्रही हुन्छु । कांग्रेस र एमालेले नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक जीवनलाई उन्नत बनाउन पटक्कै सकेनन् । मैले खोजेको समृद्धिको मुद्दा प्रधान भएको राजनीति हो । समृद्धि भन्नु सबै समस्याको हल हो । सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य हो । नक्कली उत्पीडनको होइन । असमान प्रगति अर्थात् सक्नेले गर्ने प्रगति त जहाँ जसले पनि गर्न सक्छन् । देशको आजको प्रमुख समस्या भनेको गरिबी, बेरोगजारी र सामाजिक विभेद हुन् । समाजवादको लक्ष्य प्राप्तिका लागि समृद्धि आज देशको आवश्यकता हो । त्यो यथार्थलाई वैकल्पिक राजनीतिका अगुवाहरुले व्यहारमा प्रयोग नगरेको देख्दा खपि नसक्नु हुन्छ । अर्कालाई गाली गर्ने राजनीति त हामीले खोजेको होइन । गुटको राजनीति पनि खोजेको होइन । गुटमात्रै होइन कि जातीय/क्षेत्रीय गुट बनाएको देख्दा त झन अचम्भित हुन्छु । सानो क्षेत्रमा दुई चार सिट जित्ने राजनीतिमा अगुवा रमाएको देख्दा त झनै आश्चार्यचकित भइरहेको हुन्छु । आज विश्वव्यापीकरणको युग हो । विश्वका दुई सय देशहरु आज एक गाउँ जस्ता भएका छन् । जातीय, क्षेत्रीय, धार्मिक एसिमिलेसन तीब्र रुपमा भइरहेको छ । समृद्धिका सर्वमान्य मानक बनिसकेका छन् । दुनियाँ एकातिर प्रवाहमान भइरहेको छ, वैकल्पिक राजनीतिका अगुवाहरु भने जातीय र क्षेत्रीय गुटमा आत्मरती गरिरहेको देख्दा भने आगो बल्छ । वैकल्पिक राजनीतिले समृद्धिको अगुवाई नगर्ने हो भने मसानघाटको यात्रा गर्न अवश्यम्भावी छ । आत्मरती गरेर रमाउने भए भन्नु केही छैन ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *