गोबरलाई खिर भन्दैमा खिरको बासना आउँदैन, रचनात्मक र आलोचनात्मक बन्नुहोस् ।

 

काठमाडौं, माघ ११ गते ।

राजनीतिलाई सबै नीतिको माउ नीति भनिन्छ । किनकि यसले सबै नीतिलाई निर्देशित गर्छ । नेपालको राजनीति माउ नीति बन्न सकेन । किनकि यसले नेपाली समाजको उन्नयन गर्न सकेन । नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनलाई राजनीतिले सही मार्गमा डो¥याउन सकेन । डो¥याउन सकेको भए देशको हालत आजको जस्तो हुने थिएन । गरिबी कायम छ । बेरोजगारी उत्कर्षमा छ । छुवाछुत अद्यापि कायम छ । लाखौँ युवा विदेशी भूमिमा रगत र पसिना बेच्न बाध्य छन् । सरकारले पुँजीगत खर्च गर्न सक्दैन । भ्रष्टाचार कायम छ । बेतिथि उस्तै छ । सामाजिक विभेद कायम छ । व्यापार घाटा उच्च छ । शोधानान्तर घाटा उच्च छ । राष्ट्रिय पुँजीको विकास शुन्यप्रायः छ । उत्पादन न्यून छ । वितरण प्रणाली अन्यायपूर्ण छ । मानव अधिकारमाथिको प्रश्न खडा छ । आर्थिक तथा सामाजिक विकासका सबै सुचकाङ्क नकारात्मक छन् । कांग्रेस, एमाले र माओवादीले सरकार पटक–पटक सञ्चालन गरिसके । जसपा पनि हाल गठबन्धन सरकारमा छ । साना पार्टीको त के कुरा गर्नु र । आखिर देशको अवस्था त सुधार हुँदैन त ? कुन पार्टी र कुन नेताले देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ला ? त भन्ने प्रश्न छ । जुन आएपनि उस्तै हुने हो भने निकास के हुन्छ । सबै पार्टीका आ–आफ्ना तर्क छन् । आफू सरकारमा हुँदा सबै राम्रो मात्रै भन्छन् । सरकार बाहिर हुँदा के नै गरौँला जस्तो गर्छन् । जब सरकारमा पुग्छन्, सिन्कै भाँच्दैनन् । हैन राजनीति केका लागि हो ?

राजनीतिको मक्सद के हो ? अर्कालाई गाली गर्ने र आफूलाई अब्बल भन्नु मात्रै राजनीति त पक्कै होइन । आफूलाई ठूलो हुँ भन्नेहरु सबै सत्ताधारी भइसके । गरेको खै त ? अनेक तर्क वितर्क गरेर आफूलाई चोख्याएर हुन्छ भन्या ? चोरको दाउ अनेक जस्तो मात्रै गरेर त हुँदैन । राणा शासनका कारण देशको विकास भएन भन्थे । राणा शासन हट्यो । देश त उस्तै अवस्थामा छ । पञ्चायतका कारण देश बनेन भने । पञ्चायत हट्यो । देश त उस्तै छ । विकासका लागि राजतन्त्र बाधक भयो भने । राजतन्त्र हट्यो । देशको अवस्था त दयनीय नै छ । देश आज गणतन्त्रमा छ । जनताका प्रतिनिधिहरुले निशंकोच देश सञ्चालन गर्न पाएका छन् । खै त देशको अवस्थामा सुधार भएको ? आफूलाई अब्बल, बाठो र ठूलोठालू मात्रै भन्छन् । काम चाहिँ पटक्कै गर्न नसक्ने । यो भएन र उ भएन मात्रै भन्छन् । विदेशिएका युवाहरुले रेमिट्यान्स नपठाउने हो भने देशले साधारण खर्च धान्न नसक्ने अवस्था छ । अब के गर्ने ? समस्या जटिल छ । नेपालको राजनीतिमा राजनीतिक गोबर थुप्रियो । नेपालको राजनीतिमा योग्यता र क्षमताको कुनै मापन भएन । फाईँफुट्टे भाषण गर्न जान्नेहरु नेता भए । विवाद र झगडा गर्न सिपालुहरुले राजनीतिमा स्थान लिए । अर्को पार्टी र नेतालाई गाली गर्नुलाई राजनीति ठाने । आफू लद्दु छ तर अब्बल भएको ढ्वाङ पिटे । पार्टी भित्र गुट बनाउन जाने । राजनीतिमा खेलो फट्को गर्नुलाई राजनीतिक सफलता ठाने ।

राजनीति सबै नीतिको प्रमुख नीति भएकाले राजनीतिमा अब्बल मान्छे आउनु पर्छ भन्ने वातावरण बन्न दिएनन् । ठग्न जान्ने, झुक्याउन सिपालु, ठुलो पल्टिने र कपटीले नेपालको राजनीतिमा पहुँच बढाए । अब्बल र इमान्दारलाई राजनीतिमा आउने वातावरण बन्नै दिएनन् । अब्बलहरु डाक्टर बनेर बिरामीको उपचार गर्न थन्किए । इन्जिनियर बनेर नक्सा कोर्न फसे । अब्बलहरु कुनै प्राविधिक विषय लिएर आफूलाई रोजगारीमा सीमित बनाए । नेपालको राजनीतिमा उत्कृष्ट क्षमता भएका मान्छे आउँदै आएनन् । जो आए सानो घेरामा खुम्चिएका आए । आफ्नो जात, क्षेत्र, लिङ्ग, वर्ण, वर्ग, नश्ल, धर्म, सम्प्रदाय जस्ता टुटेफुटेका एजेण्डा बोक्दै राजनीति गर्न आए । उनीहरुले देशको बहुआयामिक समस्याको पहिचान गर्नै सकेनन् । आँखा देख्न नसक्नेले हात्ती छाम्दा विभिन्न अनुभूति भए जस्तै खण्डित र आंशिक अनुभूति भएका मान्छे राजनीतिमा हावी भए । यहाँ यो पार्टी राम्रो त्यो पार्टी नराम्रो भन्ने नै भएन । सबैले आफूलाई राम्रो भन्छन् तर राम्रो भने कुनै हुँदैनन् । असक्षम मान्छे राजनीतिमा प्रबेश गर्नु नै नेपाली राजनीतिको दुर्भाग्य भयो । राजनीतिकर्मीले जब जिम्मेवारी पाउँछ उसले जनतालाई डेलिभरी गर्न सक्नुपर्छ । किन डेलिभरी गर्न सकेन त ? किनकि उ सक्षम छैन् । कण्ठ पारेर केही भाषण गर्न जानेको बाहेक उ सँग कुनै क्षमता नै भएन ।

नेता भयो, मन्त्री पनि भयो । काम भने गर्न सक्दैन । त्यसैले मैले पटक–पटक भन्ने गरेको कुरा के हो भने राजनीतिमा कार्यशैली, कार्यक्षमता र कार्यकुशलता अभिवृद्धि गर्न पात्र प्रवृत्तिको अभ्यास गरौँ भनेको हो । त्यो भनेको के हो भने डेलिभरी गर्न सक्ने क्षमता भएको राजनीतिक मान्छेको निर्माण गरौँ भनेको हो । मन्त्री हुन एउटा मान्छेले तिसौँ, चालिसौँ वर्ष राजनीति गरेको हुन्छ । त्यस अवधिमा उसले जनप्रतिनिधि अर्थात् मन्त्री भएपछि कसरी डेलिभरी गर्ने भन्ने सिकोस् र अभ्यास गरोस् भनेको हो । गुट बनाउने सिप सिकेको मान्छेले डेलिभरी कसरी गर्छ ? अरुलाई गाली गरेर आफूलाई अब्बल साबित गर्न खोज्नेले कसरी डेलिभरी गर्छ ? छलछाम र धोकाधडी गर्न सिकेको मान्छेमा डेलिभरी क्षमता कसरी विकास हुन्छ ? आखिर गोबरलाई खिर भन्दैमा खिरको बासना आउँदैन । नेपालको राजनीतिमा खिर उत्पादन गर्न रानजीतिक दलहरुले ध्यान दिएनन् । गोबर उत्पादन गरे र त्यही गोबरलाई खिर भन्दै पस्किए । अन्ततः गोबरले आफ्नो स्वभाव प्रकट गरिहाल्छ । कुन पार्टीलाई राम्रो भन्ने हो ? कुन नेतालाई राम्रो भन्ने हो ? मेरो जात मिलेकाले भन्ने कि ? मेरो क्षेत्र मिलेकाले राम्रो भन्ने कि ? मेरो धर्मसँग मिलेकाले राम्रो भन्ने कि ? मेरो नश्लसँग मिलेकाले राम्रो भन्ने कि ? मेरो पार्टीको भएकाले राम्रो भन्ने कि ?

मेरो नाता परेकाले राम्रो भन्ने कि ? मेरो बुझाईमा नेपालको राजनीति ठिक ढङ्गले चलेकै छैन् । नेपाली राजनीतिमा गलत अभ्यास हाबी छ । परिणाम सही खोज्न हामी आतुर छौ । राँची जान कुत्तिको बाटो हिँडी रहेका छौँ । नेपालका रानजीतिक दलहरुले आफ्ना नेता र कार्यकर्ताहरुको डेलिभरी क्षमता विकास गरेनन् भने देशको समृद्धिको चाहना पूरा हुँदै हुँदैन । व्यवस्थालाई दोष दिने, संविधानको प्रावधानलाई आरोप लगाउने, विचार र एजेण्डालाई कारण बनाउने मात्रै राजनीतिले ठिक ठाउँमा पु¥याउँदैन । किनकि समस्या अर्कै छ । त्यो भनेको नेपालको राजनीतिमा क्षमता निर्माणको अभ्यास नै छैन् । कुनैपनि राजनीतिक दलहरुले त्यसमा चासो पनि राखेका छैनन् । जीवनभर राजनीति गर्ने अनि मन्त्री हुने । मन्त्री भएपछि सचिवसँग तालिम लिनेले देशको विकास र समृद्धिको कार्यभार पूरा गर्ने सम्भावना छैन, हुँदैन । नेपालको राजनीति विचारमुखी भयो । एजेण्डामुखी भयो । आन्दोलनमुखी भयो । विद्रोहमुखी भयो । व्यवहारमुखी भएन । रचनात्मक भएन । विकासमुखी भएन । उन्नत भएन । समस्या आधारित राजनीति भएन । अन्यन्तै उरन्ठेउलो राजनीतिक अभ्यास भयो । त्यसैले देशको हालत आजको अवस्थामा छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.