नेपालको राजनीतिमा कार्यशैली मात्रै होइन कार्यक्षमता र कार्यकुशलताको पनि कुरा गर्नु पर्छ ।

 

काठमाडौं, पौष ३ गते ।

नेपालको आजको प्रमुख समस्या भनेको जनताको जीवनमा तात्विक परिवर्तन नहुनु हो । त्यो भनेको जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा उल्लेखनीय सुधार नहुनु हो । विगतमा व्यवस्था परिवर्तनका लागि ठूला–ठूला संघर्ष भए । व्यवस्था परिवर्तन पछि अवस्था परिवर्तन गर्ने दौडमा नेपालको राजनीति फेल भयो । परिणामतः गरिबी कायमै छ । बेरोजगार युवाहरु विश्वका विभिन्न देशमा श्रम बेच्न बाध्य छन् । भ्रष्टाचार संस्थागत भयो । पुँजीगत खर्च न्यून छ । गैरपुँजीगत खर्चमा बढोत्तरी भएको छ । व्यापार घाटा उच्च छ । शोधानान्तर घाटा उच्च छ । राष्ट्रिय पुँजीको विकास हुन सकेन । नुनदेखि सुनसम्म आयात गर्नुपर्ने अवस्था छ । परम्परागत सामाजिक सम्बन्धहरुमा उल्लेखनीय सुधार आउन सकेको छैन । सांस्कृतिक उन्नयन नहुँदा परम्परागत मूल्य र मान्यतामा नेपाली समाज चल्न बाध्य छ । भाग्यवादी समाज अझै यथार्थवादी समाजमा पूर्णतया रुपान्तरण हुन सकेको छैन । नेपालको राजनीतिमा व्यवस्था परिवर्तनका लागि युगीन प्रकृतिका संघर्ष भए । व्यवस्था परिवर्तनको आन्दोलन सफल पनि भए । जहानीय राणा शासनको अन्त्य भयो । राजतन्त्रकै अन्त्य भयो ।

निरंकुश पञ्चायती शासन व्यवस्थाको अन्त्य भयो । देश गणतन्त्रात्मक भयो । संघात्मक पनि भयो । समावेशी जस्ता कुराहरुपनि समेटिए । जनताका प्रतिनिधिहरुले गणतान्त्रिक संविधान पनि बनाए । यी उपलब्धीहरु सामान्य हुँदै होइनन् । मुख्य उपलब्धी प्राप्त भइसकेका छन् । युगको आवश्यकता अनुसार थप उपलब्धीका लागि नेपालको राजनीतिले संघर्ष गर्नु त छँदैछ । तरपनि देशको हालत त सुध्रिएको छैन । राजनीतिमा जेल बस्नुलाई राजनीतिको योग्यता बनाइयो । दशकौँ पार्टीको झण्डा बोक्नुलाई क्षमता बनाइयो । गुट बनाएर राजनीतिको सिँढी चढ्नुलाई कुशलता ठानियो । व्यवस्था बदल्न सफल भएको राजनीति जनताको अवस्था बदल्ने कुरामा भने असफल भयो । असफल हुनुमा थुप्रै कारणहरु जिम्मेवार छन् । सबैभन्दा महत्वपूर्ण कुरा भनेको डेलिभरी गर्न सक्ने क्षमता नेपालको राजनीतिले निर्माण गर्न सकेन । ठूलो मिहिनेत गरेर मन्त्री र सांसद हुने तर जिम्मेवारी सम्हाल्नै नसक्ने अवस्था पैदा भयो । कार्यक्षमताको अभावकै कारण उनीहरुले काम गर्न सकेनन् । त्यसैले नेपालको राजनीतिमा डेलिभरी बेसिस राजनीति खड्कियो । अत्यन्तै न्युन क्षमता भएका मान्छेले राजनीतिक जिम्मेवारी सम्हाले ।

आज मन्त्री भनेकै आले दाई भएका छन् । अरु मन्त्रीहरुको त नामै सुनिँदैन । पार्टीमा ठूलो नेता भन्नेहरुपनि मन्त्री छन् । तर, उनीहरुले काम गर्न सकेका छैनन् । आज नेपालको राजनीतिक बहसमा कार्यशैलीको कुरा चलिरहेको छ । राजनीति गर्ने मान्छेमा कार्यशैलीको अभाव भएपछि त्यसले काम गर्न सक्ने कुरै रहेन । राजनीतिक नेतृत्व प्रतिस्पर्धाका आधारमा चयन गरिनुपर्छ । टिका लगाएर प्रमुख नेतृत्व त झनै चयन गर्नु हुँदैन । प्रमुख पदहरु खुला प्रतिस्पर्धाबाट निर्वाचित गरिनुपर्छ । सहायक पदहरुमा मात्रै समावेशी अभ्यास गर्नुपर्छ । टिका लगाएर प्रमुख नेतृत्व चयन गरेपछि कार्यशैली लोकतान्त्रिक नहुने भइहाल्यो । जातीय र क्षेत्रीय पृष्ठभूमि भएको मान्छेले त कार्यशैली सुधार्ने कुरै हुँदैन । कार्यशैलीको मात्रै कुरा गरेर हुँदैन । कार्यक्षमताको पनि कुरा गरिनुपर्छ । कार्यक्षमता नभएको मान्छेलाई राजनीतिक जिम्मेवारीबाट हटाउनु पर्छ ।

कार्यक्षमता नभएको मान्छेले न पार्टी चलाउन सक्छ न अरु कुनै काम नै गर्न सक्छ । नेपालको राजनीतिमा कार्यक्षमताको कुरै गरिँदैन । पार्टी निर्माण र सञ्चालनमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई कसरी डेलिभरी गर्न सक्ने बनाउने भन्ने सम्बन्धमा कुनै योजना नै हुँदैन । नेपालको राजनीतिमा अर्को नउठ्ने गरेको कुरा भनेको कार्यकुशलता हो । राजनीति भनेको प्रतिस्पर्धा हो । प्रतिस्पर्धामा अब्बल हुन कार्यकुशलता जरुरी हुन्छ । कम समय, मिहिनेत र पैसाबाट उल्लेखनीय परिणाम निकाल्नु नै कार्यकुशलता हो । त्यसको बारेमा नेपालको राजनीतिमा कुनै कुराकानी समेत भएको पाईँदैन । नेताले राम्रो काम गर्न सकेनन् मात्रै भनिन्छ । नेपालको राजनीतिमा कार्यशैली, कार्यक्षमता र कार्यकुशलतालाई अभ्यासको विषय बनाउनु पर्छ । आज पार्टीभित्र कार्यशैली ठिक भएन भन्ने सुनिन्छ । त्यो भनेको कुत्तिको बाटो जाँदा राँची पुगिएन भने जस्तै हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *