काठमाडौं, षौष २३ गते ।
यार्सागुम्बा अर्थात् जीवन बुटीलाई तिब्बती भाषामा यार्साकुन्भ भनिन्छ । ‘यार’ को अर्थ वर्षा, ‘सा’ को अर्थ घाँस र ‘कुन्भ’ को अर्थ हिउँदे कीरा अर्थात वर्षामा घाँस र हिउँदमा कीरा भन्ने हुन्छ । यसको वनस्पती नाम ‘मोर्चेला’ हो । नेपालका डोल्पा, हुम्ला, मुगु, मनाङ, गोरखा, ताप्लेजुङ्ग लगायतका उच्च हिमाली जिल्लाहरुमा पाइन्छ । यार्सागुम्बा उच्च हिमाली भेगमा पाइने जीव र वनस्पतीको मिश्रित रुप हो । समुन्द्र सतहबाट लगभग ५/६ हजारको उचाइमा बढी मात्रामा पाइन्छ । नेपालका उच्च हिमाली भेगमा हिउँदभर हिउँले ढाकेको हुन्छ भने वैशाख महिनाको सेरोफेरोमा हिउँ पग्लिन्छ ।
हिउँ पग्लेपछि स–साना घाँस र बिरुवाहरु उम्रिएर फुल्छन् । फुलेका ती फूलहरुमा एक विशेष प्रकारको पुतलीले फुल पार्छन् । बिरुवाको फूलमा पुतलीले पारेको फुल लार्भाको रुपमा विकसित भई भुईमा खसेपछि त्यसले वनस्पतिको रुप धारण गर्छ । झुसिलकिरा रुपमा रहेको त्यस लार्भाको टाउकोबाट एक किसिमको ढुसी पलाउँछ । त्यो ढुसी वनस्पतीको रुपमा विकसित हुँदै जाँदा त्यो झुसीलकिरारुपी लार्भाaको मृत्यु हुन्छ । यस प्रकारले जीवले वनस्पतीको रुप धारण गर्छ । यो जीव र वनस्पतीको मिश्रण यार्सागुम्बालाई जेठ–असार महिनामा खनेर निकालिन्छ ।
विश्वका लगभग ३ सय प्रजातिका यार्सागुम्बा मध्ये नेपालमा १० प्रजातिका पाइने कुरा यससँग सम्बन्धित विशेषज्ञहरु बताउँछन् । यार्सागुम्बा जमिनमुनि र जमिन बाहिर गरी दुई भागमा फरक–फरक रङमा हुन्छ । जमिन भित्र पहेंलो रङमा हुन्छ भने जमिन बाहिर खैरो रङमा हुन्छ । त्यसलाई खनेर निकाल्दा नरम र दुधिलो प्रकृतिको हुन्छ । सुकेपछि यो कडा हुन्छ । यसलाई शक्तिवद्र्धक औषधीको रुपमा पनि लिइन्छ । रक्तचाप असन्तुलन, ब्रोङ्काइटिस लगायतका समस्याको समाधान गर्न यसको प्रयोग गरिन्छ । यसको नियमित प्रयोगले जीवनशक्ति बढाउने, अनुहारमा चमकता ल्याउने जस्ता फाइदाहरु हुन्छन् ।