नेपाली राजनीतिको प्रमुख समस्या समृद्धि आधारित डेलिभरी फेलियर हो ।

 

काठमाडौं, पौष २० गते ।

मेरो राजनीतिक यात्राको बारेमा केही जानकारी दिएर विषयमा प्रबेश गर्न चाहन्छु । म कक्षा ९/१० मा पढ्दै गर्दा ०४६ सालको बहुदलीय आन्दोलन चल्दै रहेछ । खोटाङ जिल्लाको दुर्गम गाउँको एक बस्तीमा थिएँ, थाहा नै भएन । घाँस दाउरा, गोठालो खेतालो, मेलापातको बीचबाट स्कुल धाउने गर्थेँ । न रेडियो, न टिभी, न पत्रपत्रिका, न साथी संगत मैले पत्तै नपाई पञ्चायती व्यवस्थाको अन्त्य भएछ र बहुदलीय व्यवस्था स्थापना भएछ । त्यसपछि पढ्नलाई स्कुल पुग्दा विभिन्न पार्टीका कार्यक्रम देख्न थालेँ । विभिन्न पार्टीका विद्यार्थी संगठनहरुले फ्रिमा रसिद काटउँदै आ–आफ्नो विद्यार्थी संगठनमा आबद्ध गराउन थाले । म त्यसबेला दर्जनौ पार्टी समर्थित विद्यार्थी संगठनको सदस्य भएँ होला । पार्टी र विद्यार्थी संगठनका विभिन्न कार्यक्रमहरु हुन थाले । एउट शब्द सबैले बारम्बार दोहो¥याएको सुन्थेँ । त्यो थियो तीस वर्षे पञ्चायती कालरात्री । पञ्चायतले सबै बिगारेको बहुदलीय व्यवस्थामा सबै राम्रो हुने कुरा सुनेँ । मलाई पढाई भन्दा तिनीहरुको भाषण र कार्यक्रमले तान्यो । कार्यक्रममा जाने, नारा लगाउने, झण्डा समाउने काम थालेँ । अन्ततः म तत्कालीन नेकपा (माले) को स्थानीय गतिबिधिसँग जोडिन थालें । माले र माक्र्सवादीबीच पार्टी एकीकरण भई एमाले पार्टी बनेछ । म पनि एमाले भएँछु ।

बामदेव गौतमले पार्टी फुटाउँदा उनले नेतृत्व गरेको नेकपा (माले) मा लागेँ । उनी पुनः एमालेमा फर्केपछि म चाँही केही समय चुपचाप बसेँ । विश्वविद्यालयमा स्नात्तकोत्तर पढ्दा माओवादीसँग जोडिँदै गएँ । संकटकाल लाग्यो ज्यान जोगाउनु पर्ने भयो । त्यसपछि म परिवर्तन भट्टराई भएँ । आजसम्म परिवर्तन भट्टराई (कृति) भएर नेपाली राजनीतिको अभ्यास गर्दैछु । माओवादी शान्ति प्रक्रियामा आयो । ०७० सालमा उक्त पार्टीलाई परित्याग गर्दै तत्कालिन संघीय समाजवादी पार्टीमा जोडिएँ । माओवादी किन छोडेँ संघीय समाजवादीमा किन जोडिएँ कुनै दिन कुरा गरौँला । संघीय समाजवादी पार्टी, मधेसी जनाधिकार फोरम र खस समावेशी राष्ट्रिय पार्टी एकीकरण भएपछि संघीय समाजवादी फोरमको राजनीति गरेँ । ०७३ सालमा संघीय समाजवादी फोरमलाई त्यागें र नयाँ शक्ति पार्टीमा जोडिएँ । फोरम किन छोडेँ र नयाँ शक्ति पार्टीमा किन गएँ भन्ने बारेमा कुनै दिन राम्रैसँग कुराकानी गरौँला । नयाँ शक्ति पार्टी र फोरमबीच एकीकरण भयो समाजावादी पार्टी, नेपालको राजनीति गर्न थालेँ । समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएपछि आज जनता समाजवादी पार्टी, नेपालको राजनीति गर्दैछु । फर्केर मेरो राजनीतिक इतिहासलाई हेर्दा आज ३२ वर्ष भएछ । तीन दशकको राजनीतिक यात्रामा विभिन्न प्रकारको राजनीति गरेँ ।

आज आउँदा आफ्नै इतिहासलाई बढी नियाल्ने गर्छु । यसबीचमा मैले धेरै दुःख सुखका अनुभव अँगाले । थाहै नपाइ राजनीति थालेँ । चर्को राजनीतिक अभ्यास पनि गरेँ । आज बढी सोच्न मन लाग्छ । आफैँलाई हेर्छु । म आबद्ध मेरै पार्टीलाई हेर्छु । मेरो पार्टीमा आबद्ध नेता तथा कार्यकर्ताको सोच र कार्यशैली हेर्छु । अरु पार्टीलाई हेर्छु । अनि देशको अवस्थालाई हेर्छु । मेरो निष्कर्ष यो बन्छ कि देश बनाउने पार्टी नेपालमा कहाँ छ । नेपाली कांग्रेस आफूलाई प्रजातन्त्रको मसिहा ठान्छ । कम्युनिष्टहरु आफूलाई सर्वहारा श्रमीक वर्गको उत्थानको ठेक्का लिन्छन् । मेरो पार्टी जसपा, नेपालले लिम्बुवान, किरात, ताम्सिालिङ, नेवाः, तमुवान, मगरात, खसान, मधेस, थारुवान, शिल्पी पहिचान भएको राज्य निर्माण गर्ने एजेण्डा बोकेको छ । आर्य पहिचान भने छुटेको छ । त्यसलाई जोड्न बाँकी छ । किनकि जस्तो समाज त्यस्तै पार्टी र राज्य बनाउने पार्टीको एजेण्डा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र ल्याउन चाहन्छ । अन्य थुपै पार्टीहरु क्रियाशील छन् नेपाली राजनीतिमा । तर, पचासौँ लाख नेपाली युवाहरु मरुभूमिमा रगत र पसिना बगाई रहेका छन् । देश गरिबी र बेरोजगारीको चपेटामा परेको छ । राष्ट्रिय पुँजीको विकास भएको छैन । देशभित्र उद्योगधन्दा ठप्पप्रायः छन् । अन्धविश्वास आधारित संस्कार र संस्कृतिले नेपाली समाजलाई थिलोथिलो पारेको छ ।

नेपाली राजनीतिको आजको अवस्था र देशको आजको अवस्थालाई हेर्दा कहाली लाग्छ । देश बनाउने अन्ततः राजनीतिले नै हो । तर, मैले खोजको जस्तो राजनीतिको अभाव नै पाउँछु । अब के गर्ने ? गम्भीर बनाउँछ । सबै राजनीतिक दलहरुले विभिन्न खाले राजनीतिक डम्फू बजाएको देख्छु । तर, ती सबै निकम्मा र निरिह पाउँछु । सारमा सबै पार्टी एउटै ड्याङका मूला नै पाउँछु । सबैले अरुलाई गाली गर्छन् आफूलाई राम्रो भन्छन् । तर, राम्रो अर्थात् गरिखाने कुनै पनि पाउँदिन । आफ्नो पार्टी आफ्नो नेता र स्वयम् आफूलाई राम्रो भन्छन् तर राम्रो छैनन् । त्यसो भए नेपाली राजनीतिले काँचुली फेर्न जरुरी छ । त्यसका लागि के गर्ने त ? त्यसको लागि साँचो अर्थको समाजवादी विचार आधारित पार्टी जरुरी छ । त्यो पार्टीको केन्द्रीय मुद्दा समृद्धि हुनुपर्छ । त्यसका लागि पहिलो काम भनेको राज्यको संघीय राजनीतिक संरचनालाई मजबुत बनाउनु पर्छ । त्यसलाई राज्य संरचनाको समृद्धि भन्नु पर्छ । दोस्रो भनेको शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद प्रकृतिको हुनुपर्छ । त्यसका लागि राष्ट्रपतिदेखि वडा अध्यक्षसम्म प्रत्यक्ष निर्वाचिन हुनुपर्छ । त्यसलाई शासकीय स्वरुपको समृद्धि भन्नु पर्छ । तेस्रो भनेको राष्ट्रिय पुँजीको उच्चतम विकास भएको अन्तरनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्छ । त्यसलाई आर्थिक समृद्धि भन्नुपर्छ ।

चौथो भनेको सामाजिक क्षेत्रको उन्नयन गरिनुपर्छ । त्यसलाई सामाजिक समृद्धि भन्नु पर्छ । पाँचौँ भनेको सांस्कृतिक क्षेत्रको उन्नयन गर्नु पर्छ । त्यसलाई सांस्कृतिक समृद्धि भन्नु पर्छ । यी पाँच समृद्धिका क्षेत्र पूर्ण समृद्धिका पिलर हुन् । पाँचैवटा क्षेत्रको समृद्धि गर्दा पूर्ण समृद्धि हुन्छ । पूर्ण समृद्धिलाई साधारणतयाः समृद्धि भनिन्छ । नेपालका सबै राजनीतिक दलहरुको प्रमुख एजेण्डा भनेको समृद्धि हुनुपर्छ । त्यो समृद्धि मैले उठान गरे अनुसारको सेरोफेरोमा हुनुपर्छ भन्ने मेरो माग छ । समृद्धिको राजनीतिको लागि को अब्बल हुने भन्ने राजनीति गर्नुपर्छ । समृद्धिको उच्चतम् बिन्दु समाजवाद हुनुपर्छ । मैले नेपाल र नेपाली राजनीतिको संस्लेषण गरेर निकालेको निष्कर्ष हो । आंशिक रुपमा समृद्धिको कुरा आज सबैले गरेको सुन्छु । तर, पूर्ण समृद्धिको खाका कसैको छैन । अब प्रश्न उठ्छ समृद्धि त्यति सजिलै आउने कुरा हो । होइन । समृद्धि प्राप्त गर्नु कठिन र जटिल विषय हो । यसका लागि तपस्याको तहमा नेपाली राजनीतिले साधना गर्नुपर्छ । त्यो भनेको समृद्धि केन्द्रित राजनीतिक अभ्यास गर्नुपर्छ । त्यसका लागि राजनीतिक दलहरुले शास्त्रीय विचारलाई गौण स्थान दिनुपर्छ ।

आयातित विचारलाई सन्दर्भ सामग्री मात्रै बनाउनु पर्छ । आफ्नै माटो अनुकुलको विचार संस्लेषण गर्नुपर्छ । त्यसैका आधारमा एजेण्डा निर्माण गर्नुपर्छ । मुलतः नेपालको राजनीतिलाई डेलिभरी बेसिस बनाउनु पर्छ । सोही बमोजिमको शिक्षा राजनीतिक दलहरुले दिनुपर्छ । डेलिभरी दिनसक्ने नेता तथा कार्यकर्ताको उत्पादन र प्रयोग गर्नु पर्छ । नेताले भाषण गर्ने र कार्यकर्ताले ढुङुगा हान्ने तालिम लिने प्रकृतिको राजनीतिको अन्त्य गर्नुपर्छ । आन्तरिक र बाह्य राष्ट्रियतालाई मजबुत बनाउनु पर्छ । आन्तरिक राष्ट्रियता मजबुत बनाउन आन्तरिक सहिष्णुता र मेलमिलाप कायम गर्नुपर्छ । होइन भने देश द्वन्द्वमा फस्छ । बाह्य राष्ट्रियतका लागि अन्तर्राष्ट्रिय सम्बन्धलाई असंलग्नताको नीति सहित बलियो बनाउनु पर्छ । आन्तरिक र बाह्य राष्ट्रियताका आधारमा देशलाई सुरक्षित बनाएपछि डेलिभरी केन्द्रित राजनीतिक प्रतिष्पर्धा गर्नुपर्छ । उच्चतम डेलिभरीले समृद्धिको आधार तय गर्छ । त्यसो भए के नेपालको राजनीतिले मैले भने जस्तै बाटो समाउला त ? यो प्रश्न गम्भीर छ । मेरो बुझाईमा आजकै आवस्थामा नेपाली राजनीतिले यो लाइन लिने संकेत देखिँदैन । त्यसका लागि प्रत्येक राजनीतिक दलमा समृद्धिको मुद्दा संक्रमित हुन जरुरी छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *