राष्ट्रीय हितको सम्बन्ध राष्ट्रले आर्जन गरेको आर्थिक र सामरिक शक्तिसँग जोडिएको हुन्छ ।

 

काठमाडौं, पौष ३ गते ।

राष्ट्रिय हितको संरक्षणलाई मजबुत बनाउनको लागि व्यापार र उद्योगमा व्यापक सुधार गर्दै आर्थिक रुपमा राष्ट्रिय पुँजीको विकास गरेर आफ्नो देशलाई अन्तरनिर्भर बनाउनुपर्छ । अर्कोतर्फ समान राजनैतिक विचारधारा अवलम्बन गर्ने राष्ट्रहरुसँग राष्ट्रिय हितको विषयमा सुमधुर सम्बन्ध कायम गर्नुपर्छ । राष्ट्रीय हितको सम्बन्ध राष्ट्रले आर्जन गरेको आर्थिक र सामरिक शक्तिसँग जोडिएको हुनाले आर्थिक तथा सामरिक क्षमताको विकास गर्नु पर्दछ । अर्को महत्वपूर्ण आधार भनेको सांस्कृतिक सामिप्यता हो । मानिसलाई उसको भाषा, धर्म, संस्कार र संस्कृतिले आपसमा निकट बनाउने भएकाले सांस्कृतिक रुपमा समानता भएका राष्ट्रहरुसँग सुमधुर सम्बन्ध कायम गर्नुपर्दछ । राष्ट्रिय हित प्रबद्र्धनका लागि कुटनैतिक क्षमताको महत्वपूर्ण भूमिका हुन्छ । कुटनैतिक क्षमता भन्नाले एक राष्ट्रले अन्य राष्ट्रहरुसँग नीति, नियम, परम्परा र छलफलद्धारा आफ्नो राष्ट्रको हित संरक्षण गर्ने क्षमता हो । विदेश स्थित राजदूतावास, कुटनैतिक नियोग र विभिन्न कार्यालयहरु मार्फत् सम्बन्धित राष्ट्रसँग द्धिपक्षीय तथा बहुपक्षीय सम्बन्ध विस्तार गर्ने विषय नै कुटनीति हो ।

कुटनीतिज्ञ मार्फत् कुटनीति सञ्चालन गरिने हुँदा कुटनीतिज्ञ सरकारको हात, खुट्टा, आँखा र कान हो । वर्तमान विश्व परिवेश भुमण्डलीकृत गतिविधिमा संचालित हुन थालेकाले समान विचारधारा तथा दृष्टिकोण भएका दुई वा दुईभन्दा बढी राष्ट्रहरुबीच साझा स्वार्थको आधारमा राष्ट्रिय हितको प्रर्वधन र संरक्षण गर्न सहमतिका आधारमा गठबन्धन कायम हुनुपर्छ । यसो भएमा सामूहिक स्वार्थ र चासोको विकास भई राष्ट्रको सुरक्षा कायम गर्न सहज हुन्छ । वर्तमान अन्तर्राष्ट्रिय राजनीतिमा राष्ट्रिय हितको प्रवर्धन गर्न राष्ट्रिय सवालमा राष्ट्रले उठाउने विषय महत्वपूर्ण छ । त्यसैले प्रत्येक राष्ट्रले आफ्नो राष्ट्रिय हित प्रतिकुलका सन्धि तथा सम्झौताहरुको विरुद्धमा व्यापक आवाज उठाउनुपर्छ । अर्कोतर्फ मनोवैज्ञानिक तथा राजनैतिक कुटनीति मार्फत् पनि राष्ट्रको हित संरक्षण गर्न सकिन्छ ।

राष्ट्रिय सुरक्षाको एक प्रमुख दुष्मन साम्राज्यवाद हो । उसले आफ्नो सैनिक शक्ति वा अन्य शक्तिको प्रयोगद्धारा अन्य राष्ट्रहरुमा प्रभाव र प्रभुत्व कायम गर्छ । परिणामतः उसले भूमि, पूँजी, उद्योग र व्यापारमा नियन्त्रण कायम गर्छ । अर्कोतर्फ शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि हस्ताक्षर गरी प्रत्यक्ष शासन गरी उपनिवेश कायम गर्छ । साम्राज्यवाद र उपनिवेशवादविरुद्ध राष्ट्रिय जागरणको विकास गर्नु अनिवार्य हुन्छ । राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी सरकारको मात्र नभई प्रत्येक नागरिक हो । सरकार जनताप्रति हदैसम्म उत्तरदायी र जिम्मेवार भई भ्रष्टाचार, अभाव बेरोजगारी र गरिबीको अन्त्य गरी आम जनतालाई एकताको सूत्रमा बाँधेर राष्ट्रियता सम्बन्धी जागरण फैलाउनु पर्छ । देशको सार्वभौमसत्ता र अखण्डतामा असर नपर्ने गरी जात, जाति, भाषा, धर्म र सम्प्रदायबीच सुमधुर सम्बन्ध कायम गराउनु सक्नुपर्छ । राजनैतिक दलहरुको अपरिपक्क व्यवहार, कुटनीतिज्ञहरुको कमजोर कुटनीति आदि जस्ता कमी कमजोरीहरुको अन्त्य गरी मुलुकलाई स्वाधिन, स्वतन्त्र, अखण्ड र सार्वभौम बनाई राख्नु आजको महत्वपूर्ण सवाल हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *