काठमाडौं, मंसिर १७ गते ।
जीवन र जगतलाई अर्थात् विश्वलाई हेर्ने मुख्य दुईवटा दृष्टिकोण छन् । पहिलो भौतिकवादी दृष्टिकोण जसको आधार कारण र परिणाम हन्छ । तथ्य र प्रमाणमा आधारित हुन्छ । जसको कुनै तथ्य नै हुँदैन त्यसलाई स्वीकार्दैन् । दुनियाँलाई हेर्ने यो एउटा दार्शनिक खेमा हो । अर्को दार्शनिक खेमा आदर्शवादी दृष्टिकोण हो । जसले तथ्य र प्रमाणको आवश्यकता महशुस गर्दैन् । जे छ दैवी शक्तिले भएको भन्छ । दुनियाँ कुनै अदृष्य शक्तिले सञ्चालन गरेको छ भन्ने विश्वास गर्छ । भगवान, देवीदेवता, भूतप्रेत, पिशाचको कमाल ठान्छ । जसलाई आजसम्म दुनियाँले देखेको छैन् । जसलाई कसैले देखेको छैन त्यसैको उपस्थिति, अस्तित्व र प्रभावलाई स्वीकार्छ । त्यो दृष्टिकोणलाई आदर्शवादी दृष्टिकोण भनिन्छ । हो त्यही आदर्शवादी दृष्टिकोणको एउटा दृष्टिकोण ढाँचालाई प्रेरणावाद भनिन्छ । प्रेरणावाद ज्ञानको रहस्यवादी दृष्टिकोण हो । अर्को शब्दमा भन्दा धार्मिक आदर्शवादी दृष्टिकोण हो । यसले सत्यको खोज गर्दैन । सत्यलाई विश्वास पनि गर्दैन । विवेकसम्मत् बुझाईलाई स्वीकार्दैन ।
तार्किक दृष्टिकोणबाट टाढा रहन्छ । यसले स्वभाविक प्रमाणजन्य कुरालाई स्वीकार्दैन । यसले एक्कासी हुने, पत्यारै नलाग्ने, अदृष्य शक्तिबाट परिचालित हुने प्रेरणात्मक विचारबाट उत्पन्न हुन्छ । यो दुनियाँमा जे भएको छ एक्कासी भएको छ । पत्यारै गर्न नसक्ने क्षमता र शक्तिबाट उद्घाटित भएको छ भन्ने विश्वास गर्छ । यो मानिस भन्दा माथि छ । मानिसले न नियन्त्रण गर्न सक्छ, न बदल्न सक्छ, न इच्छा अनुकुल प्रयोगमा ल्याउन सक्छ । रहस्यमय शक्तिका सामू मान्छे निरिह हुन्छ । जे छ त्यसलाई भोग्न र सहन गर्न बाध्य हुन्छ । त्यस्तो रहस्यमय शक्ति वा दैवी शक्तिमा विश्वास गर्छ । त्यो आदर्शवादी दृष्टिकोणको दुनियाँलाई हेर्ने र बुझ्ने एक ज्ञान शाखा हो । यसलाई तथ्यले प्रेरणा दिँदैन् । यसलाई रहस्यले प्रेरणा दिन्छ । यसमा अतर्कवुद्धिवाद समावेश हुन्छ । मान्छेका प्रेरणाका स्रोत अनेक हुन्छन् । कपिपयले तथ्यलाई प्रेरणाको स्रोत बनाउँछन् । जसको कुनै प्रमाण नै हुँदैन, जसको कुनै भौतिक अस्तित्व नै हुँदैन त्यसलाई स्वीकार्दैन । यो दुनियाँमा यस्ता खालका मान्छेहरुपनि हुन्छन् जसको प्रेरणाको स्रोत रहस्य हुन्छ । विवेक, तर्क र सत्यको कुनै गुञ्जायस हुँदैन । जो वस्तुवादी छैन् । जसले विज्ञानलाई विश्वास गर्दैन ।
धार्मिक आदर्शमा बाँधिन्छ । धर्मका आधारमा निर्माण भएका संस्कार, मूल्यमान्यता र संस्कृतिलाई मान्छ । प्रेरणावादको एक प्रमुख स्रोत धार्मिक आदर्शवाद हो । धर्मलाई मान्नु र त्यसलाई अभ्यासमा ल्याउनु नै उसको प्रेरणाको स्रोत हुन्छ । धर्मग्रन्थमा भनिएका कुराहरुले उसलाई प्रेरणा प्रदान गर्छ । धार्मिक ग्रन्थमा जे गर्नु भनिएको छ, त्यो गर्न उत्प्रेरित हुन्छ । जे नगर्नु भनिएको छ त्यो गर्दैन । उसलाई यो दुनियाँको सच्चाईसँग कुनै मतलब हुँदैन । उसको लागि धर्मग्रन्थका भनाई मात्रै अन्तिम सत्य हुन्छ । त्यही बुझाईबाट व्यक्ति प्रेरित हुन्छ । प्रेरणावादको अर्को उत्पेरक रहस्य हो । चट्याङ पर्दा त्यसलाई रहस्यको रुपमा बुझ्छ । त्यसको कारणको कुनै खोजी गर्दैन । कारणद्वारा प्रेरित हुँदैन् । चट्याङ परेको कमालद्वारा प्रेरित हुन्छ । भूकम्प जाँदा जमीनमा आएको कम्पनको कारणसँग कुनै मतलब राख्दैन । भूकम्पलाई रहस्यको केन्द्रमा लगेर प्रेरित हुन्छ । मान्छेको चेतना र बुझाई भन्दा पर जे छ त्यो रहस्य हो । मान्छेको चर्मचक्षु र ज्ञानचक्षुले नदेखेको नभेटेको विषय रहस्य बन्छ । रहस्यको त्यही बिन्दुमा गएर मान्छे रहस्यमयी बन्छ । प्रेरणावादको स्रोत नै त्यो रहस्य हुन्छ । त्यसैले प्रेरणावाद मूलतः आदर्शवादी दृष्टिकोण हो । मुख्यतः रहस्यमय र धार्मिक दृष्टिकोण हो ।