शासकहरूको दमन र अत्याचारको कारण फिडेल क्यास्ट्रो क्रान्तिकारी आन्दोलनतर्फ हुत्तिनु भयो ।

 


काठमाडौं, मंसिर ६ गते ।
फिडेल क्यास्ट्रोको जन्म सन् १९२६ अगस्ट १३ तारिखमा क्युबाको एक धनी किसान परिवारमा भएको हो । उहाँ विश्व कम्युनिष्ट आन्दोलनका नेताका रूपमा चर्चित हुनुहुन्छ । तत्कालीन शासकहरूको दमन र अत्याचारको कारण उहाँ क्रान्तिकारी आन्दोलनतर्फ हुत्तिनु भयो । हवाना क्याथोलिक स्कुलमा पढ्दापढ्दै साम्राज्यवादी र तानाशाहहरूको विरुद्ध उत्रनु भयो । सन् १९४५ मा हवाना विश्वविद्यालयमा भर्ना भएपछि माक्र्स, एंगेल्स र लेनिनको पुस्तकहरू प्रशस्त पढ्नु भयो । हवाना विश्वविद्यालय क्रान्तिकारी विद्यार्थीहरू अध्ययन गर्ने विश्वविद्यालयको रूपमा चर्चित छ । सन् १९४७ मा शत्रुपक्षको आक्रमणको कारण उहाँ सवार डुङ्गा समुद्रमा पल्छेपछि लगभग ३ माइल पौडी खेलेर आफ्नो ज्यानलाई मृत्युको मुखबाट बचाउनुभयो । हवाना विश्वविद्यालयमा युवा र विद्यार्थीहरूको नेताको रूपमा चर्चित हुनुभयो ।

कानुनमा स्नातक गरेपछि कानुन व्यवसायी भई जनताको सेवा गर्नुभयो । सन् १९५३ मा सैनिक ब्यारेकमा युवाहरूको समूहले गरेको हमलाको नेतृत्व गर्नुभयो । उहाँलाई १५ वर्षको जेल सजाय सुनाइयो ।सन् १९५५ मा आम माफीमार्फत् जेल मुक्त हुनुभयो । त्यसपछि उहाँ मेक्सिको गई चे ग्वेभारालगायतका क्रान्तिकारीहरूसँग भेटघाट गरी सशस्त्र संघर्षको तयारी गर्नुभयो । सन् १९५६ मा समुद्री बाटो हुँदै क्युवा फर्किनु भयो र १९६५ मा सशस्त्र संघर्ष प्रारम्भ गर्नुभयो । लामो संघर्षपश्चात् सन् १९५९ मा उहाँको नेतृत्वमा क्रान्ति सम्पन्न भयो । सन् २००८ सम्म क्युबाको राष्ट्रपति हुनुभयो । अमेरिकाको कडा आर्थिक नाकाबन्दीको सामना गर्दै राज्य सञ्चालन गर्नुभयो । पटक–पटकको हत्या प्रयासबाट बाँच्न सफल हुनुभयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *