समाज विकासको प्रक्रियामा समाजको व्यवस्थापन गर्न स्वतः विकसित दर्शन राजनीति हो ।

 

काठमाडौं, कार्तिक ३० गते ।
राजनीतिलाई सबै नीतिहरुको माउ नीति भन्ने गरिन्छ । राजनीति समाज व्यवस्थापनका लागि गरिन्छ । समाजलाई सही दिशा प्रदान गर्न राजनीति चाहिन्छ । राजनीति ठूला–ठूला विद्धानहरुले ठूलठूला बहस, छलफल, सेमिनार गरेर निर्माण गरेको चिज होइन । राजनीति समाज विकासको प्रक्रियामा स्वतः स्फूर्त रुपमा विकसित भएको हो । जुन दिन मान्छे जंगली थियो, अव्यवस्थित थियो, स्थायी रुपमा बसोबास गर्दैन थियो त्यस बेला राजनीतिको आवश्यकता परेन । जब मान्छे समूहमा बस्न थाले पारिवारिक र सामाजिक जीवन जीउन थाले त्यो सँगै समस्याहरु पनि देखिन थाले । समाजमा अव्यवस्था हुन थाल्यो । विकृति पैदा भयो । ठूलाले सानालाई थिचोमिचो गर्न थाले त्यसबेला स्वतःस्फूर्त रुपमा न्यायको खोजी हुन थाल्यो । हो त्यही बिन्दूबाट राजनीतिको प्रारम्भ भएको मान्न सकिन्छ । राजनीतिलाई सरल रुपमा बुझ्दा समाज व्यवस्थापन र सञ्चालनको साधन हो । जब समाज विकसित हुँदै गयो राजनीतिका विभिन्न प्रारुपहरु पनि विकसित हुन थाले । विभिन्न विद्धानहरुले देश, काल र परिस्थितिको जगमा भिन्न–भिन्न प्रकृतिका राजनीतिक प्रारुप प्रस्ताव गरे ।

विभिन्न ठाउँमा विभिन्न प्रकृतिका राजनीतिक अभ्यास भए । शुरुको चरणमा गणराज्यको विकास भयो । त्यो भनेको समूहमा समूह नाइके छान्ने र उसकै नेतृत्वमा समूहको व्यवस्थापन र सञ्चालन गर्ने प्रणाली हो । त्यो अवस्था विकसित हुँदै राजतन्त्रको तहमा पुग्यो । समूह नाइकेबाट राजतन्त्रको नाइके राजसम्म पुग्दा राजालाई देवत्वकरण गरियो । राजालाई देवतासरी ठान्न थालियो । अरु बाँकी सेवक भए अथवा प्रजा भए । वर्ग भेद भयो । राजा, राजपरिवार र उसका आसेपासे कलीन वर्गमा परे । राजतन्त्रले सबैलाई समेटेन । उसका विरुद्धमा पुँजीपति र भूमिपतिले राजनीतिको नेतृत्व गरे । उनीहरुले पुँजीहीन र भूमिहीनलाई राजनीतिबाट टाढा राखे । तिनै पुँजीपति र भूमिपति राजनीतिका हकदार र सञ्चालक भए । राजनीतिका हकदार र सञ्चालक भएका तिनै पुँजीपति र भूमिपतिलाई कुलीनवर्ग भनिन्छ । यसले विश्वका विभिन्न देशमा शासन ग¥यो । यो वर्ग विभेदकारी र शोषणकारी बन्यो । कतिपय देशमा राजतन्त्र बाँकी थिए । कतिपय देशमा कुलीनतन्त्र चलिरहेका थिए ।

राजतन्त्र होस् वा कुलीनतन्त्र दुबैले आम जनतालाई शोषण गरे । त्यसका विरुद्ध जनताले विद्रोह गरे । राजतन्त्र र कुलीनतन्त्रलाई ढाले । ढल्न नसकेको ठाउँमा रुपान्तरण गरे । त्यसपछि विश्वमा लोकतन्त्रको लहर चल्न थाल्यो । आज शुद्ध राजतन्त्र र शुद्ध कुलीनतन्त्र विश्वमै प्रायः छैनन् । यद्यपि आजको विश्व राजनीतिमा राजतन्त्र र कलुीनतन्त्रका बलिया अवशेष बाँकी छन् । तिनीहरु लोकतन्त्रसँग जोडिएर टिकेका छन् । विश्वमा आज प्रायः सबै देशहरुमा आम जनताले सहभागिता जनाएको देख्न सकिन्छ । प्रतिस्पर्धी र क्षमतावान व्यक्ति पनि राजनीतिक नेतृत्वमा पुग्न सकेका छन् । आज विश्वमा लोकतन्त्रको बहस छ । लोकतन्त्रको विकल्प लोकतन्त्र भनिन्छ । कुलीनतन्त्रको बारेमा अरस्तुले समेत उल्लेख गरेका छन् । उनले सार्वजनीक पदाधिकारीहरुको निर्वाचन तथा सार्वजनिक नीतिहरुको निर्धारणमा नागरिकहरुको केही संस्थाको मात्र हात रहने प्रणालीलाई कुलीनतन्त्र भनेका छन् । कुलीनतन्त्र भनेको कुलीन वा सम्भ्रान्त वर्गको शासन हो । समकालीन विश्व राजनीतिमा लोकतन्त्रको नाममा यो वर्ग अझै हावी छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *