राजनीतिमा परिवर्तनशीलता रोकिएमा त्यसले राजनीति गर्न सक्दैन धर्मशास्त्र हुन जान्छ ।

 

–परिवर्तन भट्टराई (कृति)

राजनीति निरन्तर परिवर्तनशील हुन्छ । अर्थात् राजनीति भनेको बगेको खोला हो । कुनै कारणले राजनीतिमा परिवर्तनशीलता रोकिएमा त्यो राजनीतिले सही अर्थमा राजनीति गर्न सक्दैन । त्यो धर्मशास्त्र हुन जान्छ । त्यो राजनीतिले कर्मकाण्डको रुप धारण गर्दछ । कर्मकाण्डी राजनीतिले देश र दुनियाँलाई चिन्न सक्दैन । परिणामतः त्यो राजनीतिले देश र दुनियाँलाई बदल्न वा सेवा गर्न सक्दैन । त्यसैकारण राजनीतिमा विकल्पको खोजी गरिरहनु पर्छ । नेपालमा नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी हो । आज त्यो पार्टी पूरै कर्मकाण्डी भएको छ । ०७ सालको वीपीको कुरा गरेर आज राजनीति गरिरहेको छ । अत्यन्तै पुरानो राजनीतिक प्रणाली अर्थात संसदीय शासन प्रणाली अपनाउँछ । उसले सोही प्रणालीमा ठूलो राजनीति देखेको छ । ०७ सालयता दुनियाँमा ठूलो परिवर्तन भई सकेको छ । तर नेपाली कांग्रेसलाई त्यसको कुनै मतलब छैन । हिजो वीपीले के भनेका थिए त्यही कुरा बारम्बार दोहो¥याई रहेको छ । त्यस कारण नेपाली कांग्रेसको राजनीति कर्मकाण्डी राजनीति हो । उसले जानेको भनेको ५ वर्षमा आउने चुनावमा कुनै पनि हालतमा जित्नु पर्ने । त्यसका लागि आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुलाई कुनैपनि हालत र तरहले आफ्नो पकडमा ल्याइरहने । बारम्बार चुनावमा जित्ने । राज्यको स्रोतको दोहन गरिरहने । आफूलाई राजनीतिको केन्द्रमा राखिरहने । नेपाली कांग्रेसको राजनीति भनेको अत्यन्तै पछौटै अवस्थामा छ । उसको राजनीतिमा सत्ता हावी छ । केही प्रक्रिया मार्फत सत्तामा पुग्ने र मृत्युपर्यन्त सत्तामा रहिरहेन बाहेकका उसको कुनै राजनीतिक एजेण्ड देखिँदैन । त्यसैले नेपाली कांग्रेसको राजनीति भनेको पुरातन राजनीति हो । उसको राजनीतिले आजको देश र जनताको आवश्यकता र चाहनालाई पूरा गर्न सक्दैन । त्यसैगरी कम्युनिष्ट राजनीति पनि पूर्णतः असान्दर्भिक वा आउटडेटेड भइसकेको छ । साम्यवादको परिकल्पना गरेको देखिन्छ । त्यो साम्यवादको कल्पना आजको दुनियाँको लागि के काम ? कम्युनिष्ट राजनीति गर्नेहरुले राज्यविहीन, मुनाफाविहीन, व्यक्तिगत स्वामित्वविहीन जस्ता मान्यताहरुको सपना देखेका हुन्छन् । त्यो असम्भव कुरा हो ।

त्यसलाई आदर्श मानेर आफ्नो जीवन त्यही आदर्शलाई सुम्पेका हुन्छन् । त्यो दृष्टिकोणको अन्धनक्कल गर्नेहरु विश्वबाटै पत्तासाफ भएका छन् । आफूलाई कम्युनिष्ट भन्ने जसले आफ्नो राजनीतिलाई संसदीय लोकतान्त्रिक अभ्यासमा ल्याए उनीहरु नक्कली आवरणमा टिकिरहेका छन् । नेपालको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट पार्टी होइन । त्यो नाममा मात्रै कम्युनिष्ट हो । कम्युनिष्ट आदर्श र मूल्यमान्यताबाट पूर्णतः च्युत भइसकेको छ । अन्य कम्युनिष्ट नामका घटकहरुपनि असली कम्युनिष्ट होइनन् । उनीहरुको कथनी र करनीमा आकाश जमीनको फरक छ । राजनीतिक आदर्श एउटा लिने तर अभ्यास भने अर्कै आदर्शको गर्ने हो भने त्यसको के काम ? नेपालका राजावादी, क्षेत्रीयतावादी, धर्मवादी लगायतका दलहरु त राजनीतिक मूल्य गुमाएका अवस्थामा छन् । त्यसकारण नेपालको राजनीतिमा नविनताको जरुरी छ । नयाँ आदर्श र मूल्य भएको राजनीतिको जरुरी छ । नेपालका परम्परागत राजनीतिक दलहरुबाट वैकल्पिक राजनीतिको अलिकति पनि अपेक्षा गर्न सकिँदैन । त्यसकारण नेपालको विद्यमान राजनीतिको विकल्प खोजिनु जरुरी छ । विकल्पको अर्थ नयाँ पार्टी भनेको होइन । राजनीतिमा नयाँपन हो । हो त्यो नयाँपन नेपालको राजनीतिलाई जसले दिनसक्छ त्यसलाई नेपाली जनताले शासन गर्ने जिम्मेवारी दिनेछन् । केही नयाँ पार्टीहरु स्थापना भएका छन् । तर तिनीहरुको राजनीतिक आदर्श र मूल्य तथा मान्यतामा सामान्यपनि नयाँपन छैन । त्यसैले नयाँ तर नयाँपन नभएको राजनीतिबाट यो देशको विकास तथा समृद्धिको सपनालाई साकार रुप दिन धेरै कठिन छ । अब वैकल्पिक राजनीतिको सन्दर्भमा बहस चलाउन जरुरी भइसकेको छ । नयाँ निर्माणको लागि पुरानो हतियारले काम गर्न सक्दैन । नयाँ हतियार चाहिन्छ । नेपालको राजनीतिमा पनि त्यसको खाँचो छ । होइन भने समृद्धिका सपनाले साकार रुप लिन सक्दैन ।
काठमाडौं, कार्तिक ६ गते

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *