पशुहत्या गरेर देवतासँग फल माग्ने मान्छे महामुर्ख हो जसले आधुनिक समाजलाई जिस्काउँदै छ ।

 

काठमाडौं, असोज २८ गते ।
नेपाली समाज सहिष्णु छ । अतिथि देवोः भवको संस्कार पनि छ । विभिन्न धर्म र ती धर्म आधारित संस्कार र संस्कृतिले नेपाली समाजलाई सभ्य बनाएको पनि छ । तर, कतिपय यस्ता प्रथा र परम्परा कायम छन् जसले यही समाजमाथि प्रश्न चिन्ह खडा गरेका पनि छन् । आजको हाम्रो चासो भनेको संस्कृतिलाई झनै उन्नत बनाउने हो भने संस्कृतिको नाममा अभ्यासमा रहेका विकृतिको भण्डाफोर गरेर त्यसको अन्त्य गर्ने हो । हामी आज दशैँ मनाई रहेका छौँ । यसमा हामीलाई खुसी छ । आम नेपालीहरु प्रफुल्लित छन् । यसमा केही प्रतिक्रिया जनाउनु आवश्यक छैन् । दशैँ जसलाई हिन्दू धर्मावलम्बीहरुको ठूलो चाड भनिन्छ । झनै यसलाई महान् चाडको संज्ञा पनि दिने गरिएको छ । ठूलो वा महान् दुवैको अर्थ हुन्छ महत्व बढी दिनु । महान् भनिएको दशैँमा बलिप्रथा अभ्यासमा छ । यसलाई संस्कृति भन्ने वा विकृति ? यो प्रश्नले मलाई विगत देखिनै झकझक्याइरहेको छ । बलिप्रथाका पक्षमा तर्क गर्नेहरुको मत पनि मैले विगत देखिनै सुन्दै आएको छु । तर उनीहरुको बलिप्रथाको पक्षमा गरिएका तर्कबाट म सन्तुष्ट हुन सकेको छैन । यही विषयलाई मैले यो लेखमा मन्थन गर्न खोजेको हुँ । मेरा केही तर्क पेश गर्न खोजेको छु । बलिको सिधा अर्थ हत्या हो । एक हो.. दुई हो.. तीन हो.. । यसमा धेरै तर्कवितर्क नगरौँ भन्ने लाग्छ । बलि हत्या नै हो भने यो अपराध नै हो । जुन कुरा अपराध हुन्छ भने हिन्दू लगायतका कुनैपनि धर्महरुले विरोध गर्छन् । त्यसो भए बलि अर्थात् हत्या किन गरिन्छ ? आफ्नो मनोकामना शिद्ध होस् भनी देवता (आजसम्म नदेखेको र अनुभव गर्न नपाएको) लाई खुसी बनाउनको लागि बलि दिएको भनिन्छ । दशैँको बेलामा त झनै हजारौँको संख्यामा पशुबली गरिन्छ । पशुको रगतको आहालमा रमाएर दशैँ चाडको उत्सव मनाइन्छ । आखिर हो यो के ?

पशुबलीका कारण मनोकामना पूरा भएको भन्ने आजका दिनसम्म मैले एकैजना मान्छे भेटेको छैन । तरपनि आँखा चिम्लेर पशुबली गरेको पाइन्छ । पशुबली पढ्न नजानेको मान्छेले गरेको भए ज्ञानको अभावका कारण भन्न सकिन्छ । तर यथार्थ त्यस्तो छैन । जुन मान्छे धनको हिसाबले धनी छ । जानेमानेको हिसाबले जानकार नै छ । देशविदेश घुमेको र डुलेको हसाबले अनुभवी नै छ । यस्ता मान्छेहरुले पशुहत्या गरेर मनोकामना पूरा गर्नको लागि देवतासँग हात थापेको देख्दा चाहिँ धिकार्न मन लाग्छ । जसले जे तर्क गरोस् पशुहत्या गरेर देवतासँग फल माग्ने मान्छे महामुर्ख हो । यसमा त्यति तर्कवितर्क गर्नु जरुरी नै मैले देखेको छैन् । एक प्राणीको हत्या गरेर अर्को प्राणी (मान्छे) को मनोकामना पूरा हुनै सक्दैन् । ज्ञानविज्ञानको क्षितिज यतिधेरै बढेको वा खुलेको आजको दुनियाँमा पशु हत्या गरेर भाकल पूरा गर्ने मान्छेलाई मेरो प्रश्न छ कि ऊ कुन दुनियाँमा छ ? कुन युगमा छ ? बलिप्रथा मलाई लाग्छ सतिप्रथा जतिकै जघन्य अपराध हो । सतिप्रथाको पक्षमा धेरै मान्छे थिए भनेको सुन्नमा पाइन्छ । पतिको मृत्युमा पत्निले देह त्याग गर्नुलाई तत्कालिन समाजले संस्कृति वा चलिआएको चलन नै भनेको हुनुपर्छ भन्ने मेरो बुझाई छ । होइन् भने पतिको मृत्युमा देहत्याग गर्न नचाहने महिलालाई ढुंगाले हानेर मार्ने, बाधेर आगोमा फालेर जलाउने र विभिन्न माध्यामबाट मारिन्थ्यो ? आजका हामीले रगतको आहालमा पर्व मनाउने चलनको खुलेरै अन्त्य गर्नुपर्छ । होइन भने आफूलाई सभ्य मान्छे भन्नुको कुनै तुक नै छैन् । राज्यले यो विकृतिको विरुद्धमा खुलेर अभियान चलाउनुर्छ । जनताले पनि आफ्नो तहबाट यो खराब चलनको विरुद्धमा आवाज उठाउनुपर्छ । होइन भने देश गरिब भयो वा पछौटे भयो भन्न मिल्दैन, पाईँदैन । नराम्रो काम गर्ने तर राम्रो परिणाम खोज्ने कुरा नै गलत हो । बलिप्रथाको विरुद्धमा खुलौँ र खुलेर लागौँ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *