मस्तिष्क विज्ञान अनुसार पलेँटी मारेर ढाड सिधा पारेर अध्ययन गरेमा उसको मस्तिष्क अधिक क्रियाशील हुन्छ ।

 

काठमाडौं, असोज ९ गते ।
मस्तिष्क मानिसको अत्यन्तै संवेदनशील अंग हो । यो एक विशिष्ट प्रकारको मांशपेशीबाट बनेको हुन्छ । यो सम्पूर्ण शरीरको कन्ट्रोलर हो । यसमा केही गडबढी हुने वित्तिकै सम्पूर्ण शरीर अस्तव्यस्त हुन्छ । जिउनुको सार्थकता नै समाप्त हुन्छ । यसलाई चिन्न र सही अर्थात उच्चतम प्रयोग गर्न सकेमा जीवन जीउनुको सार्थकता स्थापित हुन्छ । सबैभन्दा पहिले मस्तिष्कको कन्सस र सबकन्सस खण्डको जानकारी राख्न जरुरी हुन्छ । सोही आधारमा त्यसको उच्चतम उपयोग गर्न सकिन्छ । यसको विस्तृत जानकारी टेक्निकल विषय हो । आम मानिसले बुझ्ने र प्रयोगमा ल्याउने कुराहरुलाई मात्रै यहाँ समेट्न कोशिस गरिएको छ । मस्तिष्क मानिसको जन्मदै प्राप्त हुने शरीरको एक अंग हो । त्यसैले यसको कम्पोजिसन र क्षमता सँगै प्राप्त भएको हुन्छ । त्यस सम्बन्धमा व्यक्तिले केही गर्न सक्दैन । आफूले जन्मदा प्राप्त मस्तिष्कमा व्यक्ति सन्तुष्ट हुनु उसको बाध्यता हुन्छ । कसैको मस्तिष्क तीक्ष्ण हुन्छ भने कसैको सुस्त हुन्छ । जे जस्तो अवस्थामा होस् त्यसको उच्चतम् उपयोग गर्नमा ध्यान दिनुनै बद्धिमानी हुन्छ । त्यसको लागि निम्न विषयहरुलाई समेटिएको छ ।
१. दैनिकी मस्तिष्कमैत्री हुनपर्छ ।
मस्तिष्कको उच्चतम् प्रयोग व्यक्तिको दैनिकीले निर्धारण गर्छ । व्यक्तिले २४ घण्टाको अवधिलाई कसरी प्रयोग गर्छ भन्ने कुराले निर्धारण गर्छ । निद्रालाई कसरी लिन्छ र अभ्यासमा ल्याउँछ । बिहान उठ्ने वित्तिकै के गर्छ । दिनको समय कसरी गुजार्छ । कोसँग सम्पर्क गर्छ वा संगत गर्छ । एक दिनमा उसले गरेको क्रियाकलाप नै व्यक्तिले मस्तिष्कलाई कुन तहमा प्रयोग गर्न सक्यो भन्ने निर्धारण गर्ने आधार हो ।
२. खानेकुरा, हावा र पानीको सन्तुलित उपभोग ।
धेरैले खानेकुरालाई सौखिन विषय बनाउने गर्छन् । अधिकांशले स्वादलाई महत्व दिन्छन । ठूलो संख्याका मान्छेले खानेकुरालाई संस्कृतिसँग जोड्ने गर्छन् । यी सबै कुरा गलत हुन् । खानेकुराको सम्बन्ध मन, मस्तिष्क र शरीरसँग हुन्छ । खानेकुरालाई पिउनुपर्छ भन्ने कुराको ज्ञान जरुरी हुन्छ । पानीलाई निल्नुपर्छ भन्ने कुराको पनि जानकारी जरुरी हुन्छ । मस्तिष्कको खुराक हुने खानेकुरा खानुपर्छ । पानी पिउने कलाको जरुरी हुन्छ । प्राणीको लागि अक्सिजन वा हावाको झनै ठूलो मूल्य हुन्छ । अक्सिजन मस्तिष्कको खुराक हो । त्यसैले मस्तिष्कलाई पर्याप्त अक्सिजन दिन सक्नुपर्छ । त्यसको लागि आवश्यक कला र जानकारी जरुरी हुन्छ । यी तीन कुराको सही र सन्तुलित प्रयोगले मस्तिष्कको क्षमता र उपयोगमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
३. सिकाइमा एकाग्रताको आवश्यकता ।
सिकाई भनेको ज्ञान आर्जन गर्ने माध्यम हो । अस्तव्यस्त वा असन्तुलित मस्तिष्कले सिकाइलाई प्रभावित गर्छ । त्यसैले सन्तुलित मस्तिष्क एकाग्रताको आधार हो । त्यसको लागि व्यक्तिले योग, ध्यान र प्राणायमलाई जीवन साथी बनाउन सक्नुपर्छ । जहाँ र जस्तो अवस्थामा पनि यसको प्रयोग गर्नुपर्छ वा गर्न सक्नुपर्छ । किनकि यी तीनै कुरा निःशुल्क प्राप्त हुन्छन् । त्यसको साथै चिन्तन प्रणालीमा व्यापक सुधार गर्नुपर्छ । जीवनशैलीलाई व्यवस्थित र सन्तुलित बनाउनुपर्छ ।
४. अध्ययनलाई खोज र आविष्कारको तहमा लैजाने ।
अध्ययनलाई कक्षा चढाइमा सीमित गरिएमा मस्तिष्कको अधिकतम उपयोग सम्भव छैन । त्यसैगरी जागिर प्राप्तिमा मात्रै सीमित गरिएमा पनि सो सम्भव हुँदैन । अध्ययनलाई खोज अर्थात् अनुसन्धानको तहमा प्रयोग गरिएमा मस्तिष्कले बढी अभ्यास गर्ने अवसर पाउँछ । त्यसो भनेको मस्तिष्कको अधिकतम उपयोग गर्ने अवसर हो । अध्ययनको लागि अध्ययन गर्ने हो भने मस्तिष्कको क्षमता वृद्धि पनि हुँदैन र सार्थक उपयोग पनि हुँदैन ।
५. आसनले मस्तिष्कको क्रियाशीलतामा प्रभाव ।
मस्तिष्कको क्रियाशीलतामा आसनले ठूलो प्रभाव पारेको हुन्छ । घोप्टो परी सिरक ओडेर पढ्ने धेरैको बानी हुन्छ । कसैले उत्ताने परेर पढेको पाइन्छ । कतिपयले भित्तामा अडेस लागेर पनि पढ्ने गर्छन् । यी सबै गलत तरीका हुन । मस्तिष्क विज्ञान अनुसार पलेँटी मारेर ढाड सिधा पारेर अध्ययन गरेमा उसको मस्तिष्क अधिक क्रियाशील हुन्छ । मस्तिष्कको अधिकतम प्रयोगको लागि आसन अति महत्वपूर्ण कुरा हो । यसलाई सामान्य ठानेको पाइन्छ । त्यो भनेको लापरबाहीको पराकाष्ठा हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published.