काठमाडौं, भदौ १६ गते ।
आर्थिक रुपमा दोश्रो महाशक्ति राष्ट्रको रुपमा उदाएको चीन आज अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली बन्दै गएको छ । वर्तमान राष्ट्रपति र प्रधानमन्त्रीले चीनलाई पहिलो आर्थिक महाशक्ति राष्ट्र बनाउन सकिने भन्दै आर्थिक अभियानलाई तिव्र बनाएका छन् । विश्व समुदायमा गम्भिर ढङ्गले प्रस्तुत हुने चीनको इतिहास पनि कम रोचक छैन । चीनको इतिहासमा डा. सनयात्सेन, माओत्सेतुङ र देङस्याओपिङलाई त विश्वले आ–आफ्नै ढङ्गले चिनिरहेको छ । चीन कम्युनिष्ट शासन प्रणाली भएको मुलुक हो । चीनको राजनीतिमा परिपक्व नेतृत्व जन्माउन योजनाबद्ध कार्य गरिन्छ । दश, पन्ध्र वा बीस वर्षपछिको नेतृत्वका तयारी वर्तमानबाटै तयारी गरिन्छ । परिणामतः योग्य नेतृत्व देशले प्राप्त गर्छ । निश्चित समयको योगदानपछि रिटायर्ड भएका नेताहरुले पर्दा पछाडी बसेर नयाँ र जिम्मेवारी प्राप्त नेतृत्वलाई सहयोग गरिरहेका हुन्छन् ।
चीनमा राजनीति गरेको समय र जेल जीवन बिताएका जस्ता विषय राजनीतिक क्षमताका मापक बन्दैनन् । विशिष्ट राजनीतिक क्षमता निर्माण गरेका व्यक्तिहरु मात्रै राज्य सञ्चालनका लागि योग्य हुन्छन् । विश्वका प्रजातान्त्रिक भनिने मुलुकका अवकाशप्राप्त राजनीतिज्ञहरुले सामाजिक क्षेत्रमा विभिन्न ढङ्गले योगदान पु¥याई रहेका छन् । चिनियाँ राजनीतिमा कम्युनिष्ट पृष्ठभूमि छ भने आर्थिक क्षेत्रमा उदारीकरण छ । त्यसैले यो मुलुक राजनीतिक रुपमा नियन्त्रित नै छ । कम्युनिष्ट र कम्युनिष्ट पृष्ठभूमिको राजनीतिमा नियन्त्रित समाजकै वकालत गरिन्छ । अवकाश प्राप्त नेता अनुभवका हिसाबले राष्ट्रका नीधि नै हुन् । समाज सेवा र कुटनीतिक क्षेत्रमा तिनीहरुको सहयोग राष्ट्रलाई आवश्यक भई रहन्छ । चीनको राजनीतिमा अवकाशप्राप्त नेताहरु अन्य मुलुकका जस्तै खुलेआम अन्तर्राष्ट्रिय जगतमा विचरण भने गर्दैनन् ।