दुई दृष्टिकोणमा टेक्नु वा मान्नु भनेको एक व्यक्ति दुई डुङ्गामा सवार गर्नु जस्तै हो ।

 


– परिवर्तन भट्टराई (कृति)

नेपालमा हाल कम्युनिष्ट पार्टीले शासन गरिरहेको छ । कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका खेलिरहेको छ । नेपालको राजनीतिमा यी दुई दललाई पुराना र परम्परागत भन्ने गरिएको छ । उनीहरुले आफूलाई अब्बल ठान्छन् । उनीहरुको राजनीतिसँग सहमत नहुनेहरुले बुढो रुखको रुपमा चित्रित गर्छन् । यी दुई दल विश्व शीतयुद्धमा भएको बेला जन्मेका हुन् । विश्वनै उपनिवेश विरुद्ध लडिरहेका बेला बनेका दल हुन् । हाल ती दलका विकल्पमा वैकल्पिक राजनीति गर्ने भन्दै नेपालमा नयाँ दलहरु सक्रिय छन् । विकल्प दिन बनेका नयाँ दल चिन्तन र व्यवहारका आधारमा कहाँ वैकल्पिक छन् ? यो प्रश्नको जवाफ जनताले खोजेका छन् । नयाँ दलका नयाँ मुद्दा अवस्य छन् । तर कुरा चिन्तन र व्यवहारको हो ।

चिन्तनका हिसाबले दुई खाले विश्वदृष्टिकोण छन् । एउटा चैतन्यवादी विश्वदृष्टिकोण हो । यसले संसारको निर्माण र सञ्चालन अलौकिक र अदृष्य चेतनतत्वले गरेको विश्वास गर्छ । कर्मकाण्ड, रहस्यवाद, रुढीवाद, अन्धविश्वास, भाग्यवाद, पूर्वजन्म र पुनर्जन्म यसका विशेषता हुन् । दोस्रो द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण हो । यस दृष्टिकोण अनुसार प्रकृति स्वयम् आदि तत्व हो । यसको सञ्चालन आफैंभित्रको द्वन्द्वले उत्पन्न गतिद्वारा भएको ठान्छ । प्रकृति र पदार्थलाई चेतनाको आधारतत्व मान्छ । सृष्टिका हरेक वस्तुमा द्वन्द्वात्मक चरित्र हुनेमा विश्वास गर्छ । उपरोक्त दुवै दृष्टिकोण नितान्त पृथक धारका छन् । दुवै दृष्टिकोणमा टेक्नु वा मान्नु भनेको एक व्यक्ति दुई डुङ्गामा सवार गर्नु जस्तै हो ।

नेपालमा वैकल्पिक राजनीतिको कुरा गर्दा कुन दृष्टिकोणबाट यो दुनियाँलाई हेर्ने भन्ने पनि हो । परम्परागत राजनीतिमा विश्वदृष्टिकोणप्रतिको बुझाई र व्यवहार स्पष्ट छैन् । यसको प्रत्यक्ष प्रभाव देश र समाजको विकासमा परेको छ । वैकल्पिक राजनीतिको कुरा गर्ने दलले आम पार्टी पंक्तिमा दुनियाँलाई कुन आँखाले हेर्ने स्पष्ट गर्नु पर्छ । त्यसैका आधारमा जनताले महशुस गर्नेगरी व्यवहारबाट पुष्टि गर्नुपर्छ । चरम कर्मकाण्डी, रुढीवाद र अन्धविश्वासी हुने र सोही बमोजिमको व्यवहार गर्ने हो भने मुद्दाको भरमा वैकल्पिक राजनीतिको सान्दर्भिकता स्थापित गर्न सकिँदैन । त्यसैले दृष्टिकोण र व्यवहार निर्माण वैकल्पिक राजनीतिको जग अर्थात् सारतत्व हो । मुद्दा त्यसैको जगमा बनेको खम्बा जस्तै हो । समृद्ध नेपाल यसको लक्ष्य हो ।
काठमाडौं, साउन १९ गते ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *