आर्थिक क्षेत्रमा चीनले छोटो समयमा अभूतपूर्व सफलता हासिल गरेपछि अमेरिका झस्किएको देखिन्छ ।

 


काठमाडौं, असार ८ गते ।

संयुक्त राज्य अमेरिका आर्थिक र सामरिक हिसाबले विश्वकै शक्तिशाली राष्ट्र हो । राजनीतिक पद्धतिका हिसाबले पनि आफूलाई महाशक्ति राष्ट्रको रुपमा देखाउन चाहन्छ । त्यसैकारण उसले विश्वमा भएका लोकतन्त्र विरोधी गतिविधिलाई आधार बनाएर सामरिक आक्रमण गर्छ । आर्थिक र राजनीतिक आक्रमण पनि गर्छ । आजको मितिमा संयुक्त राज्य अमेरिका महाशक्ति राष्ट्रको रुपमा नै छ भन्ने उसको आर्थिक परिसुचकाङ्कले देखाउँछन् । उसको राज्यको राजनीतिक संरचना पनि विश्वलाई सूक्ष्म ढङ्गले हेर्ने गरी विकास गरेको छ । विश्वका कुनै पनि घटनाको तत्कालै जानकारी अमेरिकाले पाइसकेको हुन्छ । यो भिमकाय शक्ति राष्ट्रलाई तत्कालै कुनै अन्य राष्ट्रले चुनौती दिन सक्ने अवस्था छैन । युरोपका शक्तिशाली राष्ट्रहरुले पनि त्यो ल्याकत राख्न सकेका छैनन् । पछिल्लो समयमा एसियाली राष्ट्र चीन अमेरिकाको लागि चुनौती बन्दै गएको छ । आर्थिक रुपमा छोटो कालखण्डमा अभूतपूर्व सफलता हासिल गरेपछि अमेरिका झस्किएको भने पक्कै छ ।

राजनीतिक पद्धति नमिल्ने चीन नियन्त्रित प्रकृतिको भएकाले अमेरिका उसको अन्तर्यमा सहजै पुग्न सकेको छैन । चीनले पनि आफ्नो आन्तरिक रणनीतिक योजनालाई खुलस्त रुपमा विश्वमाझ लगिहाल्दैन । यस हिसाबले चीन अमेरिकाको निम्ति हाउगुजी नै भएको छ । विश्वका अधिकांश मुलुकको अन्तर्यमा नै गएर नाडी छाम्न सफल अमेरिकाको लागि चीन त्यति सजिलो राष्ट्र भने पक्कै छैन । जापान आर्थिक हिसाबले दोस्रो महाशक्ति राष्ट्र हुँदासम्म अमेरिका त्यत्ति सशंकित थिएन । चीनले त्यो स्थान लिने बित्तिकै उसको निद हराम जस्तै भएको देखिन्छ । चीन भौगोलिक हिसाबले विशाल र जनशक्तिको हिसाबले बलियो छ । खाडी राष्ट्रहरुले जस्तो वैदेशिक कामदारको भर पर्नु पर्दैन । प्राकृतिक श्रोतसाधनले आत्मनिर्भर छ । राजनीतिक रुपमा द्वन्द उत्कर्षमा नपुगेको अवस्था छैन । आर्थिक विकासको एकसूत्रीय एजेण्डा बोकेको छ । अन्तर्राष्ट्रिय मामिलामा हस्तक्षेपकारी नभई सन्तुलनकारी छ । अनुत्पादक क्षेत्रमा खर्च नगर्ने प्रवत्ति छ । सोही कारण चीन अमेरिकाको निम्ति चुनौती बनेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *