जसपा, बहुराष्ट्रिय राज्य, जातीय अहंकार र संकिर्णता ।

 

परिवर्तन भट्टराई (कृति)
केन्द्रीय सदस्य
जनता समाजवादी पार्टी, नेपाल

पछिल्ला दिनमा बहुराष्ट्रिय राज्यका सम्बन्धमा विभिन्न कोणबाट छलफल भएका छन् । पहिलो संविधानसभामा यो विषयले धेरै चर्चा पाएको थियो । पहिलो संविधानसभा विघटन हुनुको प्रमुख कारणहरु मध्येको यो विषय पनि एउटा थियो । युद्धकालमा तत्कालिन माओवादीले यो विषयलाई उठायो । नेपाली राजनीतिक वृत्तमा सोही समयदेखि यो विषय प्रवेश गरेको हो । राष्ट्र राज्यको सम्बन्धमा विभिन्न छलफल र बहस भए । दोस्रो संविधानसभाले बहुराष्ट्रिय राज्यलाई स्वीकार गरेन । संविधानको धारा ३ मा सम्पूर्ण नेपालीहरु समग्रमा राष्ट्र हो भन्ने लेखियो । कतिपयको विरोधका बीच दोस्रो संविधानसभाबाट संविधान जारी भयो । संविधानतः नेपाल बहुराष्ट्रिय राज्य हुन सकेन । आदिवासी जनजाति र मधेसीहरुले त्यसको विरोध गरे । परिणमतः संविधान जलाउने काम पनि गरे । यो विषय संविधान जारी भएसँगै विस्तारै सुसप्त अवस्थामा थियो । जनता समाजवादी पार्टीले नेपाल बहुराष्ट्रिय राज्य नै भएको बताइरहेको छ । मधेस केन्द्रित दलहरुले पनि त्यही भनिरहेका छन् । नेपालले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी जस्ता उपलब्धी प्राप्त गरेकाले यो संविधानलाई हालसम्मकै उत्कृष्ट भनियो । बहुराष्ट्रिय राज्यको बहस विस्तारै निष्तेज हुने सोचिएको थियो । सरकारमा जाने बित्तिकै राजेन्द्र महतोले बहुराष्ट्रिय राज्यका लागि मुक्तियुक्त गर्ने उद्घोष गरे । त्यसले बहुराष्ट्रिय राज्यको बहसलाई फेरि उत्कर्षमा पु¥याएको छ । संविधानले सम्पूर्ण नेपालीहरु समग्रमा राष्ट्र भनेको अवस्थामा बहुराष्ट्रको कुरा गर्नु संविधान विपरीत भएको तर्क गरियो । अर्कोतर्फ नेपालको बहुराष्ट्रिय चरित्रलाई संविधानको प्रावधानले रोक्न नसक्ने तर्क गरियो ।

बहुराष्ट्रिय राज्यको विरोध गर्नेहरुले विभिन्न तर्क गर्दै विरोध गरे । नेपाल विभिन्न जाति, भाषा, धर्म र संस्कृतिको फूलबारी हो भनेर गर्व गरे । तर, राष्ट्रियताका आधारमा राज्यको निर्माण गर्न नसकिने तर्क गरे । त्यसले देशको अखण्डतालाई खण्डित गर्ने तर्क गरे । राष्ट्रियताका आधारमा राज्यको निर्माण पन्ध्रौँ र सोह्रौँ शताब्दीमा यूरोपमा प्रयोगमा आएको अवधारणा हो । यूरोपको विशिष्टतामा लगभग पाँच सय वर्ष पहिले गरिएको अभ्यास नेपालमा एक्काइसौँ शताब्दीमा प्रयोग हुँदैन भन्दै विरोध गरियो । सन् १५४८ मा यूरोपमा गरिएको फिलाडेल्फिया ट्रिटी नेपालमा एक्काइसौँ शताब्दीमा पुनरावृद्धि हुन नसक्ने तर्क गरिए । उपप्रधानमन्त्री राजेन्द्र महतोले बहुराष्ट्रिय राज्यको विषयमा आफू स्पष्ट भएका कारण आफ्नो भनाई फिर्ता लिन नसक्ने भन्ने ह्याउ देखाएनन् । उल्टै आफ्नो भनाईलाई मिडियाले बंग्याएको भन्ने लुरे तर्क गरे । उपप्रधानमन्त्रीको पद छोड्छु तर बहुराष्ट्रिय राज्यको विषयमा बेलेको भनाई फिर्ता नलिने भन्न सकेनन् । घुमाउरो पाराले मिडियालाई दोष दिँदै आफ्नो भनाईबाट पछि हटे । तर, त्यसको तरंग भने बौद्धिक वर्ग, मिडिया र नागरिक समाजबीच अझै कायम छ । बहुराष्ट्रिय राज्यले देशलाई टुक्राउने, रक्तपातपूर्ण आन्तरिक युद्ध हुने, देश द्वन्द्वको भूमरीमा फस्ने, अत्यन्तै पिछडिएको मानसिकता जस्ता हाउगुजी मान्छेको मनमा पर्न गयो । राजेन्द्र महतोको भारत परस्त छबी र बहुराष्ट्रिय राज्यको भनाईलाई मान्छेले देश टुक्राउने कुरासँग जोडे, बुझे । महतोप्रतिको मान्छेको हेराईसँग उनकै भनाई जोडे । घर–घरमा त्यसको विरोध भएको सुनियो, देखियो ।

बहुराष्ट्रिय राज्यको पक्षमा बोल्ने पक्ष पनि बहसमा आयो । बहुराष्ट्रिय राज्यको विरोध गर्नेहरुको प्रतिवाद ग¥यो । नेपालको बहुराष्ट्रिय चरित्र भएको र त्यसलाई संघीय संरचनामा सम्बोधन गर्नुपर्ने तर्क ग¥यो । बहुराष्ट्रिय चरित्रलाई पहिचानको विषयसँग जोड्यो । त्यसैले राजेन्द्र महतोले भनेको कुरा ठिक हो भन्यो । राष्ट्र भनेको के हो ? नेपाल बहुराष्ट्रिय राज्य हुन सक्छ वा सक्दैन भनेर छलफल र बहस भए । एकल राष्ट्रिय बर्चश्व भएकाहरुलाई बहुराष्ट्रिय राज्य नपचेको भन्ने आरोप लगाए । राष्ट्रका आधारमा राज्यको संघीय पुनर्संरचना गर्नुपर्छ । त्यसले देशलाई खण्डित गर्ने नभई झनै एकतबद्ध बनाउने तर्क गरे । उनीहरुको तर्कले राजेन्द्र महतोलाई राहत पुगेको हुनुपर्छ । नेपालको बहुराष्ट्रिय चरित्रलाई राज्यले सम्बोधन गर्नेपर्ने तर्क गरे । यूरोपमा राष्ट्रको आधारमा राज्य अर्थात् देश भएका थिए । नेपालमा त्यसो गर्न खोजिएको होइन भन्ने तर्क राखे । संयुक्त राष्ट्रसंघले एक देश एक राष्ट्र स्वीकार गरेतापनि नेपालमा त्यसो हुन नसक्ने तर्क समेत गरे । नेपालको संविधानले पनि एक देश एक राष्ट्रलाई स्वीकार गरेकोमा आपत्ति प्रकट गरे । नेपाल एक देश हो । राष्ट्र अनेक छन् । राष्ट्रको आधारमा राज्यको संघीय संरचना निर्माणमा जोड दिए । भारत लगायतका देशहरुमा एक देशभित्र अनेक राष्ट्र आधारित राज्यहरु हुन सक्ने तर नेपालमा किन नहुने भन्ने तर्क गरे । बहुराष्ट्रिय राज्यको बहसलाई आन्तरिक राष्ट्रियता मझबुत बनाउने विषयसँग जोडे । आन्तरिक राष्ट्रयता बलियो बनाउन बहुराष्ट्रिय राज्य संरचना हुनै पर्नेमा जोड दिए । आन्तरिक राष्ट्रियता बलियो नभए बाह्य राष्ट्रियता कमजोर हुने तर्क गरे ।

बहुराष्ट्रको विषय नेपालको राजनीतिमा एकदमै पेचिलो विषय बन्ने गरेको छ । यो विषय सतहमा आउने बित्तिकै नेपाली राजनीति र समाज दुई भागमा बाँडिन्छ । राजेन्द्र महतोको बहुराष्ट्रिय राज्य र मुक्ति युद्धको भनाईसँगै फेरि यो विषय नेपाली राजनीति र समाजमा पेचिलो बन्यो । जनता समाजवादी पार्टीको एक प्रमुख मुद्दा नै बहुराष्ट्रियता हो । यसलाई पहिचान आधारित राजनीतिको रुपमा लिएको छ । आफ्नो पार्टीको एक प्रमुख मुद्दाको विषयमा देश तरंगित हुन्छ । राजनीति र समाज दुई भागमा बाँडिन्छ । यो विषय अत्यन्तै संवेदनशील छ । एउटा पक्षले बहुराष्ट्रियताका सम्बन्धमा सुन्नै चाहँदैन । अर्को पक्ष छोड्नै मान्दैन् । यो विषय उत्कर्षतर्फ पुग्यो भने त्यसले द्वन्द्व पैदा गर्ने खतरा देखिन्छ । जनता समाजवादी पार्टीको समृद्धिको मुद्दा पनि छ । उक्त विषय भने सर्वस्वीकार्य छ । बहुराष्ट्रियताको मुद्दा भने विवादित भइरहेको छ । पार्टीले आफ्नो एक प्रमुख मुद्दाको विषयमा पक्ष विपक्षमा तिक्ततापूर्ण विभाजन हुनुलाई गम्भीर रुपमा लिनुपर्छ । शिल्पी, खसान, लिम्बूवान किरात, तामसालिङ, नेवाः, शेर्पालुङ, तमुवान, मगरात, थारुवान र मधेश पहिचान आधारित राज्य संरचनाको परिकल्पना गरेको छ । आर्यव्रत पहिचान आधारित राज्य संरचनाको विषयमा पनि छलफल बहस भइरहेका छन् । नेपालको संविधान अनुसार पहिचान (बहुराष्ट्रिय) आधारित राज्यको पुनर्संरचनाको कुरा गर्नु गैरसंवैधानिक हुन्छ । छलफल र बहसमा ल्याउँदा विवादित हुन्छ । त्यसो भए यो विषयलाई जनताबीच कसरी लैजाने ? गम्भीर भएर सोच्नु र व्यवहार गर्नुपर्छ ।

बहुराष्ट्रिय अर्थात् पहिचान आधारित राज्यको संघीय संरचना निर्माण त्यत्ति सजिलो र सहज विषय होइन् । जनता समाजवादी पार्टीले यस्तो अवस्थामा के गर्ने भन्ने बारे गहिरो चिन्तन गर्न जरुरी हुन्छ । राजनीति आम जनतालाई साथ लिएर गर्ने विषय हो । उठायो कि विवाद भईहाल्ने यो विषयलाई सन्तुलित ढंगले उठान गर्न सक्नुपर्छ । सो विषयमा जातीय अहंकार र जातीय संकिर्णताले घर गरेको देखिन्छ । एउटा पक्षमा अत्याधिक जातीय अहंकार र घमण्ड देखिन्छ । अर्को पक्षमा अत्याधिक जातीय संकिर्णता र हीनताभाव देखिन्छ । जातीय अंहकारको अतिवाद र जातीय संकिर्णताको अतिवादको कारण यो विषय अत्यन्तै पेचिलो र विवादित भएको भन्ने मेरो बुझाई छ । यी दुवै पक्षको अतिवादलाई सन्तुलनमा ल्याउन जनता समाजवादी पार्टीले भूमिका निर्वाह गर्न सक्नुपर्छ । होइन भने आत्मरतिका भरमा राजनीतिले उचाई लिन सक्दैन् । सो विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सकारात्मक अर्थात् अनुकुलन वातावरण निर्माण गर्न सक्नुपर्छ । केही अतिवादीहरुले खुबै थर्काउने गरेको देखिन्छ । तिनीहरुले पहिचानको राजनीतिलाई चाँडै सिध्याउने छन् । कतिपयलाई पहिचानको कुरा गर्ने बित्तिकै नौ रेक्टर स्केलको भूकम्प जान्छ । तिनीहरुले पनि पहिचानको राजनीति सिध्याउनेछन् । दुई अतिवादी धाराको अन्त्य गर्नु जसपाको एक प्रमुख कार्यभार हो । आजको राजनीति हिजोको जस्तो सजिलो छैन् । झनै जटिल बन्दै गएको छ । आफ्नो विचार, मुद्दा, नीति र योजनालाई सफल पार्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलन आफू अनुकल बनाउन सक्नुपर्छ । विभाजित मानसिकतामा बहस गर्दा परिणाम आफू अनुकूल आउँदैन् । धेरै नै सतर्क र होसियार हुन जरुरी छ ।

काठमाडौं, जेष्ठ २७ गते ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *