जसपा नेता लक्ष्मणलाल कर्णलाई परिवर्तन भट्टराईको सार्वजनिक पत्र ।

 

मा. श्री लक्ष्मणलाल कर्ण ज्यू
कार्यकारिणी समिति सदस्य
जनता समाजवादी पार्टी, नेपाल

विषय : अनुत्तरित प्रश्नहरुको जवाफ पाउँ भन्ने सम्बन्धमा ।

तपाईँ मा. श्री लक्ष्मणलाल कर्ण कोरोना संक्रमण भई होम आइसोलेसनमा रहनु भएको थाहा पाउँदा म अत्यन्तै दुःखी भएको छु । सर्वप्रथम तपाईँको स्वास्थ्य लाभको कामना गर्दछु । चाँडै नै सक्रिय भूमिका मार्फत् पार्टीमा पैदा भएका समस्या हल गर्न योगदान गर्नुहोस् भनी शुभेच्छा प्रकट गर्दछु । तपाईँलाई आज पार्टी अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोध्नु भएको जानकारी मिडिया मार्फत् थाहा पाएँ । उक्त स्पष्टीकरण सम्बन्धमा तपाईँको प्रतिक्रिया पनि मिडिया मार्फत् नै जानकारीमा आयो । तपाईँलाई पार्टीले स्पष्टीकरण सोध्नु पर्ने स्थिति पैदा भएकोमा म आफैँ मर्माहत भएको छु । पार्टीले सोधेको स्पष्टीकरण, तपाईँको प्रतिक्रिया र मैले विगत देखि जवाफ नपाएका प्रश्नहरु केन्द्रित गरेर यो सार्वजनिक पत्र मार्फत् ३ वटा जिज्ञासा राख्न चाहन्छु । त्यस निम्ति तपाईँको अनुमतिको लागि अनुरोध गर्दछु ।

प्रश्न नं. (१) : तपाईँ लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सम्मिलित दुई सदस्यीय वार्ता कमिटी कसले गठन गरेको हो ? पार्टीको निर्णयबिना एकलौटी ढंगले किन त्यो कमिटी गठन गर्नु भयो । पार्टीका एक अध्यक्ष महन्थ ठाकुर र एक वरिष्ठ नेता राजेन्द्र महतोले एकलौटी रुपमा त्यो वार्ता कमिटी गठन गर्न पाउँछन् ? पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्ष उपेन्द्र यादव र अर्का वरिष्ठ नेता अशोक राईसँग किन सल्लाह गर्नु भएन ? तपाईँहरुले त्यही बिन्दुमा पहिलो गम्भीर गल्ती गर्नु भयो ।

प्रश्न नं. (२) : मधेस विरोधी ओली नेतृत्वको सरकार ढालेर आफ्नै अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाऔँ भन्दा किन मान्नु भएन ? आफू प्रधानमन्त्री हुन नचाहने तर ओली नेतृत्वको सरकार टिकाउन पटक–पटक किन लाग्नु भयो ? संविधान संशोधन, मधेशका समस्या, रेशम चौधरीहरुलाई जेलमुक्त गर्ने जस्ता काम आफैँले गर्दा मधेश र पार्टीलाई फाइदा हुन्छ भन्ने कुरालाई किन नजरअन्दाज गर्नु भयो ? दोस्रो गम्भीर गल्ती त्यहाँ गर्नु भयो ।

प्रश्न नं. (३) : मधेशको समस्या तपार्इँहरुको मात्रै हो ? पूरै पार्टीले त्यसको जस लिन किन नमिल्ने ? मधेसका समस्या समाधान गर्न भन्दै बालुवाटर र सिंहदरबार धाउनु भएको पनि धेरै भएको रहेछ । पूर्वराजपाका तपाईँहरु सबैलाई त्यो कुरा थाहा रहेछ । पूर्वसमाजवादीकाहरुलाई किन थाहा दिनु भएन ? त्यो कुरा धेरैपछि मिडियामा आएपछि थाहा भयो । तपाईँहरुको त्यो हर्कतले डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईहरु मधेस विरोधी भएकाले थाहा नदिएको भन्ने देखिएन ? तेस्रो गम्भीर गल्ती त्यस बिन्दुमा गर्नु भयो ।

कर्ण ज्यू मैले तपार्इँलाई धेरै प्रश्न गर्नुछ । आगामी दिनमा थप प्रश्न गरौँला । माथिका तीन प्रश्नको जवाफ देशैभरका पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुले गरिरहेका प्रश्न हुन् । तपार्इँको स्वास्थ्यले साथ दिन्छ भने झर्को नमानी जवाफ दिनु हुनेछ भन्ने अपेक्षा गरेको छु । धन्यवाद !

प्रश्नकर्ताः
परिवर्तन भट्टराई (कृति)
केन्द्रीय सदस्य
जनता समाजवादी पार्टी, नेपाल
काठमाडौं, जेष्ठ ९ गते ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *