जनताको सार्वभौमिकताको पूर्ण सम्मान र अभ्यास गर्न निर्माण गरिएको पार्टी हो ।

 

काठमाडौं, जेष्ठ ८ गते ।

जनता समाजवादी पार्टी, नेपाल वैकल्पिक राजनीतिका लागि निर्माण गरिएको राजनीतिक संगठन हो । जनताको सार्वभौमिकताको पूर्ण सम्मान र अभ्यास गर्न निर्माण गरिएको पार्टी हो । नेपालमा पुरातन दुई पार्टी नेपाली कांग्रेस र कम्युनिष्ट अभ्यासमा छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा उनीहरुको योगदान ७०–८० वर्षको छ । सांगठनिक हिसाबले उनीहरुकै बर्चस्व देशभर छ । पहिलो र दोस्रो शक्तिका रुपमा उनीहरु नै छन् । उनीहरुले लोकतन्त्रको मानक संसदीय व्यवस्थालाई बनाए । लोकतन्त्र भनेकै संसदीय व्यवस्था भन्ने ठाने र बुझे । संसदीय व्यवस्थामा चरम विकृति देखिए । सोही विकृतिको भद्दा रुप पुनः राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी ओली, जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पछिल्लो शंशकरणमा निरन्तरता दिए र दिइरहेका छन् । पुरातन राजनीतिमा जनताको सार्वभौमिकताको गलत अभ्यास गरियो । जनता भोटदातामा मात्रै सीमित भए ।

लोकतन्त्रको उन्नत अभ्यास हुन सकेन । जनतालाई राइट टु रिजेक्ट, राइट टु रिकल र जनतमत संग्रहको सहज अधिकार दिएर लोकतन्त्रलाई उन्नत बनाउन जनता समाजवादी पार्टीले चाहन्छ । जनताको सार्वभौमिकताको अभ्यास स्वयम्ले गर्न पाउनु पर्छ । संसदीय लोकतन्त्रमा प्रतिनिधिमा सार्वभौमिकता हस्तान्तरण गरेर जनता निरिह भए । जनताको सार्वभौमिकताको पूर्ण अभ्यास र सम्मान दुवै भएन । जनताको सार्वभौमिकताको पूर्ण अभ्यास र सम्मान गर्ने जनता समाजवादी पार्टीको नीति हो । त्यसैगरी नेपालको लोकतान्त्रिक अभ्यास केन्द्रिकृत प्रकृतिको छ । त्यसलाई संघात्मक बनाउने पार्टीको नीति हो । यो पनि लोकतान्त्रिक अभ्याससँग जोडिएको विषय हो । जसपाले अधिकार र पहिचानमा आधारित संघीय लोकतान्त्रिक अभ्यास गर्न चाहेको छ । पार्टीको यो एक प्रमुख एजेण्डा नै हो । नेपालमा वर्गीय समस्या छ । त्यसैगरी जातीय र क्षेत्रीय समस्या पनि छन् । उक्त समस्याहरुलाई एकीकृत रुपमा हल गर्ने पार्टीको अर्को महत्वपूर्ण एजेण्डा हो ।

परम्परागत राजनीतिक शक्तिहरुमा उक्त समस्याहरुको एकीकृत हल गर्ने चिन्तन र योजना छैन । नेपालमा विद्यमान बहुआयामिक विभेद र असमानताको अन्त्य गर्नको लागि जनता समाजवादी पार्टीको स्थापना भएको हो । त्यसका लागि वैकल्पिक राजनीतिको आवश्यकता भएको हो । त्यसको नेतृत्व परम्परागत राजनीतिक शक्तिबाट सम्भव छैन । नयाँ राजनीतिक शक्ति निर्माण जरुरी हुन्छ । त्यसका लागि वैकल्पिक चिन्तन र सोच भएका पार्टी, समूह र व्यक्तिहरु ध्रुवीकृत हुँदै आजको जनता समाजवादी पार्टीको रुप बनेको हो । तत्कालीन समाजवादी पार्टी र राजपाको एकीकरण भएपछि जसपाको निर्माण भयो । पार्टी के मानेमा वैकल्पिक हो भनेर पार्टीका कार्यकर्ता, समर्थक, शुभचिन्तक र जनताबीच लैजान खोज्दाखोज्दै पार्टीका एक अध्यक्ष महन्थ ठाकुर र एक वरिष्ठ नेता राजेन्द्र महतोमा अवसरवाद पैदा भयो ।

परिणामतः पार्टी भित्र र बाहिर वैकल्पिक राजनीतिको सान्दर्भिकता प्रसारण गर्न पार्टीले पाएन । उनीहरु ओलीको चंगुलमा फस्दै गए । अन्ततः पार्टीको डिफ्याक्टो दुई चिरामा परिणत भयो । ठाकुर र महतोहरु ओलीको समर्थक भए । सरकारमा जाने तयारी गर्दैछन् । सत्ता र शक्तिको पछि लागे । मधेश आन्दोलनका क्रममा जेलमा परेका र मुद्दा खेपिरहेकहरुलाई छुटाउने जस्तो झिनो विषय उठान गरेर वैकल्पिक राजनीतिको विशाल अभियानलाई लत्याए । त्यो उनीहरुको देखाउने दाँत हो भने चपाउने दाँत भनेको अवसरवाद नै हो । वैकल्पिक राजनीति निर्माणको अभियानमा ठाकुर–महतोले ठेस भने अवश्य लगाएका छन् । तर, सिध्याउने ल्याकत राख्दैनन् । पार्टीले आगामि दिनमा यस्तो तत्वबाट होसियार हुन सतर्कता अपनाउनु पर्ने देखिएको छ । ठाकुर-महतोको अवसरवाद वैकल्पिक राजनीति निर्माणको एक महत्वपूर्ण शिक्षा भएको छ । यसलाई शक्तिमा रुपान्तरणमा गरेर जानु पर्छ । यो महाअभियानलाई झनै सशक्त बनाउनु पर्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *