ठाकुर-महतो फसे, प्रधानमन्त्री हुन मानेन्, ओलीले मधेशको माग पूरा गर्दैनन् ।

 

काठमाडौं, जेष्ठ १ गते ।

जनता समाजवादी पार्टीको एक अध्यक्ष महन्थ ठाकुर र एक वरिष्ठ नेता राजेन्द्र महतो ओली बहकाउमा परेका छन् । मधेसीलाई बिहारी भन्ने ओली मधेसीका प्रिय कसरी हुन सक्छन् । मधेश आन्दोलनमा मधेसी आन्दोलनकारीहरुलाई प्रहरीले गोली ठोक्दा एकदुई आँप झरेर के हुन्छ भन्ने ओली एकाएक मधेसीको हितकारी कसरी भए । जीवनभर मधेसका लागि राजनीति गरेको भन्ने ठाकुर र महतो एकाएक ओलीको वरिपरि घुमेको देख्दा दुनियाँ छक्क परेको छ । नेकपा फुटेपछि संसदीय अंक गणितमा जसपा निर्णायक बनेको छ । यस्तो बेलामा ठाकुर जीलाई तपाईँ नै प्रधानमन्त्री बन्नुहोस् पनि भनिएको थियो । तर, प्रधानमन्त्री हुन मानेनन् । एकोहोरो ओलीलाई प्रधानमन्त्री बनाउनमै मरिहत्ते गरे । ओलीको पक्षमा तटस्थ बसे । ओली इतर सरकारको गठबन्धन निर्माण गर्न मानेनन् । अन्ततः संविधानको धारा ७६(३) बमोजिम ओली पुनः प्रधानमन्त्री बने । जसपाका ठाकुर–महतोले ओली इतर गठबन्धनलाई सरकार निर्माणमा सहयोग गरेको भए स्वयम् ठाकुर नै प्रधानमन्त्री भइसकेका हुने थिए । मधेसी व्यक्ति देशले प्रधानमन्त्री पाइसकेको हुने थियो । मधेसी जनताले मधेशमा जयजयकार गरिरहेका हुने थिए । त्यस्तो महत्वपूर्ण अवसरलाई लत्याए । अन्ततः ओलीको पाउमा शरण परे ।

इतिहास बन्ने अवसर त्यागेर मधेसको एक कटु विरोधी ओली बचाउ अभियानमा लागे । जनता समाजवादी पार्टीका आम नेता तथा कार्यकर्ताहरु हर्षले विभोर हुने थिए । पार्टीमा सल्लाह नै नगरी लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लको कार्यदल बनाएर ओलीसँग साँठगाँठ गरिरहेका रहेछन् । पार्टीले त्यो कुरा पछि मात्रै थाहा पायो । गम्भीर गडबडीको संकेत त त्यही बेला नै देखिएको थियो । त्यही पनि त्यो संकेत झुठो सावित होस् भनेर पार्टीका आम नेता, कार्यकर्ता र शुभचिन्तकले कामना गरिरहेका थिए । अन्ततः उनीहरुको त्यो हर्कतले सार्थकता पायो । आम पार्टी पंक्ति मर्माहत भयो । ठाकुर–महतोप्रति पार्टीका अधिकांश नेता, कार्यकर्ता र शुभचिन्तक आक्रोशित भएका छन् । सबैभन्दा खुसी ओली र उनको वरिपरिका मान्छे भएका छन् । आम उत्पीडित जाति, वर्ग, क्षेत्र र समुदायको विरोधीको मानक बनेका ओलीलाई गजुर बनाएर र त्यसैको छत्रछायाँमा रमाए । उनीहरुले दुनियाँका अगाडी ख्याल ठट्टा गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रको गोटी बनेको गम्भीर आरोप खेप्दैछन् । उनीहरुले भोलीका दिनमा गर्ने राष्ट्रिय राजनीतिको आधार यहि बिन्दूबाट गुमाएका छन् । विभिन्न क्षेत्र र कोणबाट विभिन्न मान्छेहरुले उनीहरु प्रति आशंका त गरेकै थिए ।

हामीले त्यस्ताहरुलाई मधेशप्रति हेर्ने तिमीहरुको नजरीया ठीक नभएको भन्ने जवाफ दिइरह्यौँ । तर, ठाकुर–महतो स्वयम्ले त्यस आशंकाको पुस्ट्याईँ गरे । हामी जस्तालाई फाल्तु जोकर बनाए । उनीहरुले रेशम चौधरी लगायतकाहरुको खुबै कुरा गरिरहेका छन् । त्यसैलाई ढाल बनाएर ओलीको पक्षमा लागेका छन् । आफैं प्रधानमन्त्री भएर रेशम चौधरी लगायतकालाई छुटाउँदा चाहिँ के हुन्थ्यो ? त्यसो गर्न उनलाई के कुराले छेक्थ्यो । त्यसैले रेशम चौधरी लगायतका कुरा देखाउने दाँत हो भन्ने बुझिन्छ । त्यसको बलियो प्रमाण भनेको प्रधानमन्त्रीको दाबी पेश गर्ने दिनै भारतीय दूतावास ठाकुर जानु हो । समस्या देशमा छ । दूतावास धाउँदै हिँड्नेलाई जनताले कसरी बुझ्छन् । (१) पार्टीको एक प्रमुख एजेण्डा पहिचान र अधिकार सहितको स्वायत्त मधेस प्रदेश छ । के ओलीले त्यो दिने भए त ? ओली जस्तो स्वेच्छारी, एकात्मक र निरंकुश मान्छेबाट ठाकुर–महतोले यो एजेण्डा पूरा हुने अपेक्षा गर्नु मुर्खता बाहेक अन्य केही होइन । (२) पार्टीको अर्को एजेण्डा समानुपातिक समावेशी निर्वाचन प्रणाली हो । ओलीले के पार्टीको यो माग र मुद्दालाई पूरा गर्ने भए त ? ठाकुर–महतोले यसको जवाफ दिन सक्दैनन् । (३) कर्मचारीतन्त्र, सेना, प्रहरी, न्यायपालिकामा सामुदायिक समावेशी पार्टीको अर्को माग र मुद्दा हो । के ओलीले यसलाई पूरा गर्ने भए त ? ठाकुर–महतोले यसको जवाफ दिन सक्नुपर्छ ।

(४) पार्टीको अर्को माग र एजेण्डा सरकारी कामकाजको भाषामा समान बहुभाषिक नीति हो । ठाकुर–महतोले ओली समक्ष यो विषय उठाए त ? ओलीले यो विषयलाई सुन्नै चाहँदैनन् । तर, उनीहरु भने ओलीले हाम्रा माग पुरा गर्छन् भन्दै हिँडेका छन् । (५) मधेशी समुदायको राष्ट्रिय पहिचानको मुद्दा पार्टीले उठाएको अर्को महत्वपूर्ण मुद्दा हो । ओलीले यसलाई आवश्यकता र औचित्यका आधारमा पुरा गर्न सकिने भन्छन् । यो माग पुरा गर्ने कुनै संकेत छैन । (६) दलित, उत्पीडित, महिला र श्रमजीवीहरुका लागि आरक्षण र सामाजिक न्यायको मुद्दा पार्टीले उठाएको छ । के यो विषयमा ओलीसँग ठाकुर–महतोको कुरा भएको छ । पक्कै भएको छैन् । किनकि ओलीले यो कुरा सुन्न पनि चाँहदैनन् । (७) राज्यद्वारा प्रदान गरिने सेवा, सुविधा र अवसरमा उत्पीडित, समुदाय, वर्ग, लिंग र क्षेत्रलाई समान अवसर दिन ओली तयार भएका हुन् त ? ठाकुर–महतोले त्यसको जवाफ दिनुपर्छ । (८) वर्ग, वर्ण, लिंग र जातीय आधारमा भएका शोषण, उत्पीडन र विभेदको अन्त्य गर्न ओली तयार भए त ? ठाकुर–महतोले यसको जवाफ दिएका छैनन् । (९) ओलीले नागरिकताको समस्याको समाधान गर्ने भए त ? त्यसको पनि जवाफ ठाकुर–महतोले दिएका छैनन् र दिन सक्दैनन् ।

(१०) जल, जमीन र जङ्गलमाथिको अधिकारको सम्बन्धमा ओली सकारात्मक भए त ? त्यसको जवाफ उनीहरुले दिन सकेका छैनन् । (११) जनता समाजावादी पार्टीको एक प्रमुख माग भनेको संविधानको संशोधन गर्नुपर्छ भन्ने हो । ओली तयार भए ? ठाकुर–महतोले यो कुरा ओलीसँग गरे कि गरेनन् । त्यसको जवाफ दिएका छैनन् । (१२) मेधश र थरुहट आन्दोलनको क्रममा राज्यद्वारा गरिएका ज्यादतीको जिम्मा लिन ओली तयार भए त ? यसको जवाफ ठाकुर–महतोले सार्वजनिक गरेका छैनन् । उनीहरुले रेशम चौधरी लगायतकालाई छुटाउन ओलीभन्दा क्षमतावान अरु कोही छैन मात्रै भनिरहेका छन् । समुद्रलाई छोडेर उनीहरुले लोटाको गीत गाइरहेका छन् । पार्टीलाई धराशायी बनाउन खोज्दैछन् । उनीहरुले पूर्ण रुपमा गलत गरिरहेका छन् । अन्ततः राजेन्द्र महतोले संसदीय दलको नेताको स्वघोषणा गरे भन्ने समाचार बाहिर आएको छ । यो पनि यदि सत्य नै हो भने उनीहरुको यस्ता हर्कतका विरुद्ध पार्टी कठोर हुन जरुरी छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *